काठमाडौं । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ।
अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।
नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुनेक्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले जनाएको छ ।
इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।
भिसा अस्वीकृत दर बढेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको छ ।
अस्ट्रेलियाले भित्र्याउने विदेशी विद्यार्थीमध्ये नेपालबाट ३० प्रतिशत आपूर्ति गर्दै आएको छ । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने वैदेशिक मुलुकमा नेपाल तेस्रो नम्बरमा पर्छ । पहिलो र दोस्रो नम्बरमा क्रमशः भारत र चीन पर्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत साउनदेखि यही असारको पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलिया जानका लागि नो अब्जेक्सन लेटर लिएका छन । मन्त्रालयको शैक्षिक परामर्श शाखाले यस अवधिमा एक लाख दुई हजार ८७३ जनाले यस्तो अनुमतिपत्र लिएको जानकारी दिएको छ ।
सोही अवधिमा १६ हजार ३२८ जनाले जापान, पाँच हजार २०१ जनाले क्यानडा, चार हजार ८५२ जनाले अमेरिका र एक हजार १९२ जनाले कोरियाका विश्वविद्यालयमा गएर पढ्न नो अब्जेक्सन लेटर लिएका छन् । पछिलो ११ महिनामा विद्यार्थीबाट नो अब्जेक्सन लेटरका लागि मात्र २० करोड ५७ लाख ४६ हजार रुपियाँ राजस्व
सङ्कलन भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology