नेपालमा अहिले कोरोना माहामारीको दोस्रो लहर चलिरहेको छ । नयाँ बर्षको सुरुवातसंगै पश्चिम नेपालका तराईका जिल्लालाई आक्रान्त पारेको यस माहामारीले अहिले देशव्यापी रुपमा फैलिएर आम जनताको स्वास्थ्य अवस्थालाई नराम्रो गरि बिगारिरहेको छ ।
नेपालमा महामारी देखापर्नु अगावै नेपालसंग खुल्ला सिमाना जोडिएको भारतमा कोरोना माहामारीको रुपमा देखा परिसकेको थियोे । यसले नेपालमा पनि माहामारीकै रुप लिने भनी जनस्वास्थ्यका जानकारले केही महिना अगाडिनै चेतावनी दिदै आएका थिए ।
अहिलेको अवस्था जनस्वास्थ्यका बिज्ञले दिएको चेतावनीको वेवास्थाको परिणाम हो भनी अहिले सरुवा रोगमा जानकार बिशेषज्ञहरुले बताईरहेका छन् ।
अझै समय छ, यसलाई तदारुकताका साथ सरकारले गर्ने हो भने आगामी दिनको क्षतिलाई कम गर्न सकिन्छ । तर अफसोच माहामारीमा जुटने बेलामा जनतालाई भाडमा राखेर सत्ताको दाउपेचमा रमाउनु, केहिदिन अघिसम्म आफै भिड जम्मा गरेर संक्रमण फैलाउन मलजल गर्नु जस्ता काम जनताको बिरुद्धमा गरिएका अपराधहरु हुन ।
आजका दिनसम्म आउदा संक्रमितको संख्या दैनिक करिव करिव दशहजारको नजिक पुगेको छ भने आगामी दिनहरू सम्ममा नै यो दरमा गुणात्मक ढंगले बढोत्तरी हुने देखिन्छ । करिब २ हप्ता अगाडि नै सरकारले स्वास्थ्य मन्त्रालय मार्फत बिज्ञप्ती निकालेर अब संक्रमितको उपचार गर्न नसक्ने आशयको भनाइ सर्बजनिक गरेबाटै आम जनताको स्वास्थ्य अवस्था कति गंभिर अवस्थामा रहेको छ भन्ने स्पष्ट हुन्छ ।
हुनत यो समय यसैपनि तराईका जिल्लामा मौसमी फ्लु भाईरल ज्वरो रुघाखोकीका बिरामीको संख्या बढने समय हो । यसैमाथी कोरोना भईरसको माहामारी एकैपटक आउदा दैनिक सरकारी आँकडामा ५० जना र अस्पतालमा बेड नपाएर सरकारी आँकडाको हाराहारी भन्दा माथि संख्यामा घरमै र अन्य नियमित रोगको उपचार नपाएर कैयौं मानिसले ज्यान गुमाउन परिरहेको छ ।
अहिले एकातिर तराईका जिल्लाका अस्पतालहरुले धमाधम बिज्ञप्ती निकालेर आफ्ना अस्पतालमा अक्सिजन नभएकोले अक्सिजन चाहिने बिरामीलाई केही गर्न नसकिने भनिरहेको अवस्था छ । भने अर्कोतिर कोरोनाको संक्रमणबाट फोक्सोमा असर गर्ने र तुरुन्तै निमोनियाको शिकार संक्रमितहरु भएकाछन् । निमोनियाका बिरामीलाई प्रयोग गरिने रेडिसम्भिर भन्ने औषधीको बजारमा अभाव देखिएको छ । बिरामीका आफन्तहरु उक्त औषधीको खोजिमा भैतारिरहेको अवस्था छ ।
यी त अस्पतालसम्म जानेको अवस्था हो। अस्पतालमा उपचार नपाईने वेड नपाउने भयले कैयौं संक्रमित घरमै सामान्य उपचार गरिरहेको अवस्था छ । यो बेला आम जनता चीत्कार शैलीमा माहामारीबाट बाच्नकोलागी गुहार मागिरहेका छन् ।
अवस्था त कतिसम्म भयावह देखयो भने अस्पतालमा राख्ने ठाउँ नहुँदा बिरामीले एम्बुलेन्समै ज्यान गुमाउनुपरेको परेको छ भने बिरामी बोक्नको लागि एम्बुलेन्स समेत नपाउने अवस्था सृजना भएको छ । अस्पतालहरु यसरी भरिएका छन् की अस्पतालका सिढी र पेटी समेत संक्रमितले भरिएका छन् । संक्रमितको संख्यामा कमि आउने अवस्था देखिदैन। अस्पतालका सिडि पेटीमा समेत बिरामी खचाखच हुनु र संक्रमणको दरमा झनै वृद्धि हुदै जानुले आगामी दिन झनै पिडितको चीत्कार तथा तिनका परिवारका कारुणिक अवस्था डरलाग्दो हुने संकेत गरेको छ ।
कडा खालको संक्रमणको चपेटामा परेका बिरामी अस्पतालमा बेड नपाएको कारणले हुने मृत्युुदरमा झनै डरलाग्दो तवरले वृद्धि हुने देखिन्छ । यस्तो अवस्थामा अहिलेको मृत्युुदरमा उल्लेख वृद्धि हुदै जाने र ठुलो मात्रामा जनजिवनमा क्षतिपुग्ने निश्चित हुन्छ । अस्पतालमा संक्रमितलाई लैजान नसकी समुदाय स्तरमा यसको फैलावट बढदै जादा बिरामी व्यवस्थापन र मृतको लास व्यावस्थापनमा समेत कठिनाइ भोग्नुपर्ने अवस्था आउने हुन सक्छ ।
यसो त माहामारीमा सरकार अभिभावकिय दायित्व निर्वाह निभाउनु पर्ने र आफ्नो सम्पूर्ण तागत यो माहामारीको बिरुद्धमा लगाउनुपर्ने हो । राज्यको हरेक अंगको परिचालन गरेर यस माहामारीबाट आफ्ना नागरिकलाई सुरक्षित राख्ने उपाय खोज्नुपर्ने हो तर बिडम्वना यस महामारी सामुन्ने सरकारले या पुर्ण आत्मसमर्पण गरेको छ, या त नागरिकको जीवनप्रती सरकार पुरै उदासिन रहेको अवस्था छ पनि भन्न सकिन्छ ।
केही समय अगाडि उद्घाटन र धार्मिक महोत्सवमा मस्त सरकार अहिले आम जनतालाई भगवान पशुपतिनाथ र रामको शरणमा छाडेर आफ्नो सत्ता मोलमोलाइ मस्त रहेको छ । यो कुनै विवेकी शासकले यस्तो गर्ने बेला होइन अफसोंच उसले अहिले त्यहि गरिरहेको छ ।
केन्द्र सरकार प्रदेश सरकार स्थानीय सरकार तिनै तहका सरकारको समन्वय आम राष्ट्रिय सहमतिको माध्यमबाट भुकम्पको बेलामा जस्तै यो बेलामा सबै मिलि युद्धस्तरमा अस्पतालमा बेड थप्ने आसियुको संख्यामा उल्लेख वृद्धि गर्ने भेन्टिलेटरको संख्या बढाउने, हरेक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने हरेक पालिकाकामा सामान्य संक्रमितलाई उपचार गर्नसक्ने बनाउने, उल्लेख्य मात्रामा स्वास्थ्यकर्मीको दरबन्दी बढाउने र केही मेडिकल कलेजलाई कोरोना अस्पतालमा रुपान्तरण गरेर तत्काल उपचारको व्यवस्था मिलाउन सकिने अवस्था थियोे । त्यसलाई सरकारी उदासिनताका कारण आजसम्म नगरेर यो माहामारीमा जनता जोगाउने दायित्वबाट सरकार पुर्णरुपमा च्यूत भएको छ ।
अझै समय छ, यसलाई तदारुकताका साथ सरकारले गर्ने हो भने आगामी दिनको क्षतिलाई कम गर्न सकिन्छ । तर अफसोच माहामारीमा जुटने बेलामा जनतालाई भाडमा राखेर सत्ताको दाउपेचमा रमाउनु, केहिदिन अघिसम्म आफै भिड जम्मा गरेर संक्रमण फैलाउन मलजल गर्नु जस्ता काम जनताको बिरुद्धमा गरिएका अपराधहरु हुन । यी अपराधको जनताले राम्रै हिसाब लिने छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology