Logo

२०८३, आश्विन १७गते


images
images

२०२७ मा हुने एकदिवसीय विश्वकप नयाँ फर्म्याटमा, १४ देश सहभागी हुने

२०२७ मा हुने एकदिवसीय विश्वकप नयाँ फर्म्याटमा, १४ देश सहभागी हुने

images
  • २०२७ मा हुने एकदिवसीय विश्वकप नयाँ फर्म्याटमा, १४ देश सहभागी हुने
    images
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ । 

    images
    images
    images

    दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने विश्वकप २०२७ अक्टोबर २ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    विश्वकपको सुरुवात नामिबियाको राजधानी विन्डहोकमा हुने प्रारम्भिक चरणका खेलबाट हुनेछ भने फाइनल नोभेम्बर २१ मा खेलाइनेछ । प्रतियोगितामा १४ टोलीले १२ मैदानमा कुल ५७ खेल खेल्नेछन् ।

    images
    images
    images

    यसपटक विश्वकपको ढाँचामा ठूलो परिवर्तन गरिएको छ । सन् २०२३ को विश्वकपमा १० टोली सहभागी थिए भने २०२७ मा टोलीको संख्या बढाएर १४ पुर्‍याइएको छ । सेमिफाइनल र फाइनलअघि प्रतियोगितालाई प्रारम्भिक शृंखला, समूह चरण र सुपर–७ गरी तीन चरणमा विभाजन गरिएको छ ।

    विश्वकपको सुरुवात सबैभन्दा कम वरीयतामा रहेका तीन टोलीबीच हुने प्रारम्भिक शृंखलाबाट हुनेछ । तीन टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

    यस चरणको विजेता टोली मात्र मुख्य समूह चरणमा प्रवेश गर्नेछ । बाँकी दुई टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ । यसरी १४ टोली सहभागी हुने भए पनि मुख्य समूह चरणमा १२ टोली मात्र पुग्नेछन् । प्रारम्भिक चरणका खेल नामिबियाको राजधानी विन्डहोकमा हुनेछन् ।

    प्रारम्भिक चरणपछि १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा ६ टोली रहनेछन् । समूहका प्रत्येक टोलीले आफ्नै समूहका अन्य पाँच टोलीसँग एक–एक खेल खेल्नेछन् । यस चरणमा कुल ३० खेल हुनेछन् । दुवै समूहबाट शीर्ष तीन स्थानमा रहने तीन–तीन टोली सुपर–७ चरणमा पुग्नेछन् ।

    त्यसका अतिरिक्त दुवै समूहमा चौथो स्थानमा रहने टोलीमध्ये तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्ने एक टोलीले पनि सुपर–७ मा स्थान बनाउनेछ । यसरी सुपर–७ चरणमा कुल सात टोली पुग्नेछन् ।

    सन् २०२७ को विश्वकपको सबैभन्दा ठूलो परिवर्तन सुपर–७ चरण हो । यस चरणमा पुगेका सातै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । सुपर–७ मा कुल २१ खेल हुनेछन् । अंक तालिकाको शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा अंक तालिकाको पहिलो स्थानमा रहने टोलीले चौथो स्थानमा रहने टोलीसँग तथा दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । दुवै सेमिफाइनलका विजेताबीच फाइनल हुनेछ ।

    सन् २०२७ को विश्वकप २४ वर्षपछि अफ्रिकामा फर्किन लागिएको हो । दक्षिण अफ्रिका र जिम्बाब्वेले यसअघि सन् २००३ को विश्वकप संयुक्त रूपमा आयोजना गरेका थिए । नामिबियाले भने पहिलोपटक पुरुष वरिष्ठ विश्वकपको आयोजकको भूमिका पाउनेछ । तीनै देशमा गरी प्रतियोगिताका लागि १२ वटा मैदान तय गरिएको छ । ती मैदानमा कुल ५७ खेल सञ्चालन हुनेछन्।

    विश्वकपको खेलतालिका सार्वजनिक भएसँगै टिकट खरिदका लागि छनोट प्रक्रियाको दर्तासमेत सुरु भएको छ । प्रशंसकले अक्टोबर १ देखि टिकट छनोट प्रक्रियाका लागि दर्ता गर्न सक्नेछन् । यो प्रक्रिया पहिले आउनेले पहिले टिकट पाउने आधारमा हुने छैन । टिकटका लागि आवेदन दिँदैमा टिकट सुनिश्चित हुने छैन ।

    आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेले स्वतः विश्वकपमा स्थान बनाएका छन् । त्यसबाहेक भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले पनि मुख्य प्रतियोगिताका लागि स्थान पक्का गरिसकेका छन् । अब बाँकी चार स्थान अर्को वर्षको सुरुवातमा हुने विश्वकप क्वालिफायर प्रतियोगिताबाट तय हुनेछन् । दुईपटकको विश्व च्याम्पियन वेस्ट इन्डिजले पनि उक्त छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

    यसपटकको नयाँ ढाँचाले विश्वकपमा सहभागी टोलीको संख्या बढाउनुका साथै उपाधिको यात्रालाई थप चरणमा विभाजन गरेको छ । प्रारम्भिक शृंखलादेखि समूह चरण, सुपर–७ र त्यसपछि सेमिफाइनल हुँदै फाइनलसम्म पुग्न टोलीहरूले फरक–फरक चुनौती पार गर्नुपर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईसीसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।