परिचय
स्थानीय पाठ्यक्रम शिक्षाको माध्यमबाट स्थानीय विशिष्ट पहिचान झल्काउने उद्देश्यले तयार गरिएको हुन्छ । यसले सामान्यतया स्थानीय धार्मिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक महत्त्वलाई समेट्छ । नेपालको सन्दर्भमा, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्थानीय पाठ्यक्रमको अवधारणा विकसित गरिएको हो । आफ्नै क्षेत्रका विशेषताहरूबारे अनभिज्ञ रहेका प्रत्येक विद्यार्थीका लागि यो अत्यन्त आवश्यक छ । यस्तो किसिमको पाठ्यक्रमले विद्यालयमा पठनपाठन गराइने विषयमार्फत स्थानीय तहको साँचो पहिचान दिन्छ । अधिकांश शिक्षाविद्हरूले स्थानीय तहको विशिष्ट महत्त्वको वास्तविक परिचय विद्यार्थीहरूले प्राप्त गर्न सकुन भन्ने हेतुले आधारभूत तहसम्म स्थानीय पाठ्यक्रम लागू गरिनुपर्नेमा जोड दिएको पाईन्छ । यसैगरी, यसले स्थानीय परम्परा, रीतिरिवाज र इतिहासलाई संरक्षण गरी आगामी पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्दछ। शिक्षाको क्षेत्रमा, स्थानीय पाठ्यक्रमले विद्यार्थीहरूलाई उनीहरूको दैनिक जीवन र भविष्यका सम्भावनाहरूसँग जोडिएका व्यावहारिक ज्ञान र सीपसँग जोड्छ। यसले विद्यार्थीहरूलाई स्थानीय समस्याहरूको समाधान गर्दै ज्ञान आर्जन गर्न उत्प्रेरित गर्छ र सामुदायिक विकास तथा दिगोपनमा जोड दिन्छ ।
यस अध्ययनले देवदह नगरपालिकाका विद्यालयहरूमा लागू गरिएको ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिताका बारेमा छलफल गरिएको छ। यहाँका सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थीहरूले यो विषय अध्ययन गरिरहेका छन्, जसले उनीहरूलाई भगवान गौतम बुद्धको मावली स्थानको रूपमा प्राचीन देवदहको विशेषता बुझ्न प्रोत्साहित गरेको छ। उनीहरूले देवदहको ऐतिहासिक र धार्मिक दुवै महत्त्व रहेको कुरा सिकेका छन्। यो सिकेपछि उनीहरू स्थानीय तहका सांस्कृतिक सम्पदाहरूसँग परिचित भएका छन् । यस पाठ्यक्रमको सहयोगमा देवदहको महत्त्वसम्बन्धी जानकारी आगामी पुस्तामा हस्तान्तरण भएको छ। कक्षा १ देखि ८ सम्मका प्रत्येक बालबालिकाले गौतम बुद्धका उपदेश र सिद्धान्तहरू सिकेका छन्, जसबाट बिद्यार्थीहरु एबम अभिभावकहरू समेत बौद्ध शिक्षा र दर्शनबारे परिचित भएका छन् ।
यस अध्ययनको मुख्य उदेश्य देवदह नगरपालिकामा रहेका सम्पुर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा बौद्ध शिक्षा फैलाउन ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिता पत्ता लगाउने प्रयास गरेको छ। यसले विद्यालयमा यो विषय अध्यापन गराउने शिक्षकहरू र आफ्ना बालबालिका विद्यालयमा यो पाठ्यक्रम अध्ययन गराइरहेका स्थानीय सरोकारवालाहरुको धारणा पत्ता लगाउने लक्ष्य राखेको छ । यो अध्ययन देवदह नगरपालिका र यसको ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रममा सीमित छ । अध्ययनका सहभागीहरू उदेश्यमुलक प्रक्रियाबाट छनोट गरिएको छ । यो अध्ययन सहभागीहरूबाट संकलन गरिएको जानकारीको विषयगत विश्लेषणमा आधारित छ । वास्तवमा, देवदह नगरपालिकाका विद्यार्थीहरूमा बौद्ध उपदेश, सिद्धान्त र दर्शनसम्बन्धी शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिताको अध्ययन गरिएको छ ।
देवदह नगरपालिकामा, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्थानीय पाठ्यक्रमको अवधारणा विकसित भए तापनि यहाँको स्थानीय पाठ्यक्रम २०७५ सालमै तयार पारिएको थियो। सुरुमा, २०७५ सालमा यस स्थानीय पाठ्यक्रमको नाम 'बुद्ध शिक्षा र देवदह परिचय' (Buddha Shikshya and Devdaha Parichaye) राखिएको थियो । यसको पाठ्यपुस्तक अंग्रेजी र नेपाली दुवै माध्यममा कक्षा ६ र कक्षा ७ का लागि मात्र तयार गरिएको थियो । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम, देवदह नगरपालिकाको स्थानीय पाठ्यक्रमको नाम २०७८ सालमा परिवर्तन गरी ‘हाम्रो देवदह (Our Devdaha)’ राखिएको थियों। त्यसबेलादेखि यसको पाठ्यपुस्तक कक्षा १ देखि कक्षा ८ सम्म केवल नेपाली माध्यममा मात्र तयार गरिएको छ । ‘हाम्रो देवदह’ को पाठ्यपुस्तकमा सातवटा इकाइहरू रहेका छन्। पहिलो एकाइ देवदहको परिचय र यसका प्राकृतिक सम्पदाहरूसँग सम्बन्धित छ । त्यसैगरी, दोस्रो एकाइ देवदह नगरपालिकाका सांस्कृतिक सम्पदाहरूसँग सम्बन्धित छ । तेस्रो एकाइले कृषि प्रविधिका बारेमा चर्चा गर्छ । चौथो एकाइमा व्यावसायिक प्रविधि र जीवनोपयोगी सीपहरू समेटिएका छन् । पुस्तकको पाँचौं एकाइले देवदहको ऐतिहासिक महत्त्व र पर्यटकीय क्षेत्रहरूबारे छलफल गर्छ । छैटौं एकाइमा बौद्ध शिक्षालाई उच्च प्राथमिकता दिइएको छ भने अन्तिम एकाइ योग र आयुर्वेदसँग सम्बन्धित छ । समग्रमा, यो पाठ्यक्रम पूर्ण रूपमा बौद्ध शिक्षा, बौद्ध दर्शनका उपदेश र सिद्धान्तहरूमा आधारित छ ।
स्थानीय पाठ्यक्रम एउटा महत्त्वपूर्ण विषय हो जसले सधैं स्थानीय क्षेत्रहरूको आवश्यक पहिचान र महत्त्वलाई स्पष्ट पार्छ । जब शिक्षाले आफ्नै संस्कृति, परिवेश र धार्मिक महत्त्वलाई झल्काउँछ, तब विद्यार्थीहरू यसमा अझ गहिरो रूपमा संलग्न हुन्छन्। यसैगरी, यस प्रकारको पाठ्यक्रमले स्थानीय समुदायका प्रत्यक्ष अनुभव र ज्ञानलाई समेट्छ । यस सन्दर्भमा, देवदह नगरपालिकाले स्थानीय सांस्कृतिक सन्दर्भ र सम्भावित बौद्ध तत्त्वहरूलाई प्रारम्भिक शिक्षामा मिसाउने स्थानीय पाठ्यक्रम ल्याएर आधारभूत तहको शिक्षालाई रूपान्तरण गर्न एक महत्तोपुर्ण कदम चालेको छ । प्रस्तुत अध्ययनले शिक्षक, विद्यार्थी र स्थानीय जनताको धारणाको माध्यमबाट नगरपालिका क्षेत्रमा बौद्ध शिक्षा फैलाउन ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिता पत्ता लगाउने प्रयास गरेको छ। देवदह नगरपालिकाको स्थानीय पाठ्यक्रम र यो स्थानीय पाठ्यक्रम अध्ययन गरिरहेका प्रत्येक विद्यार्थीसम्म बुद्धका उपदेश र सिद्धान्तहरू फैलाउन ठूलो प्रभाव पार्न सफल भएको अनुमान गरिएको छ ।
देवदह नगरपालिकाले राष्ट्रिय पाठ्यक्रम प्रारूप (NCF) २०७६ अनुसार ‘हाम्रो देवदह’ नामक एक प्रभावकारी स्थानीय पाठ्यक्रम तयार गरि देवदहका सामुदायिक र संस्थागत दुवै विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म यो पाठ्यक्रम लागू गरिसकेपछि, स्थानीय स्तरमा यसको प्रभावकारिता कस्तो छ भन्ने कुरा चिन्ता र चासोको विषय बनेको छ। यस पाठ्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई भगवान गौतम बुद्धको जीवनी, उपदेश र सिद्धान्तहरू तथा बौद्ध शिक्षा र दर्शनबारे परिचित गराउनु हो । यस सन्दर्भमा, यस स्थानीय पाठ्यक्रमले बौद्ध सिद्धान्त र उपदेशहरूको समायोजन विकास गर्न कसरी प्रयास गर्छ? बुद्धको जीवनी, बौद्ध शिक्षा र दर्शनसम्बन्धी ज्ञान अभिवृद्धि गर्न यो पाठ्यक्रमले कुन-कुन तरिकाले सहयोग गर्छ? यो पाठ्यक्रम नगरपालिकाका विद्यार्थीहरूका साथै स्थानीय जनतामाझ कतिको प्रभावकारी छ वा छैन? प्रस्तुत अध्ययनले शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरूको धारणाको माध्यमबाट नगरपालिका क्षेत्रमा बौद्ध शिक्षा फैलाउन ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिता पत्ता लगाउने प्रयास गरेको छ।अध्ययनको लक्ष्य प्राप्त गर्नका लागि निम्नलिखित अनुसन्धान प्रश्नहरूले आधार तयार गरेका छन्: यस स्थानीय पाठ्यक्रमले बौद्ध सिद्धान्त र उपदेशहरूको समायोजन विकास गर्न कसरी प्रयास गर्छ?, बुद्धको जीवनी, बौद्ध शिक्षा र दर्शनसम्बन्धी ज्ञान अभिवृद्धि गर्न यो पाठ्यक्रमले कुन-कुन तरिकाले सहयोग गर्छ? र प्राचीन कोलिय राज्य को रूपमा रहेको देवदहको ऐतिहासिक र धार्मिक महत्त्वबारे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई जानकारी गराउँछ कि गराउँदैन?
यो साहित्य समीक्षा खण्डमा स्थानीय पाठ्यक्रमसम्बन्धी पूर्वप्रकाशित अनुसन्धान अध्ययनहरू, लेखहरू र जर्नलहरूको विश्लेषण गरिएको छ। प्रस्तुत अध्ययनले यी अध्ययनहरूको विषयगत समीक्षा गर्ने प्रयास गरेको छ ।
शिक्षामा बौद्ध धर्मका उपदेश, सिद्धान्त र दर्शन
‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले गौतम बुद्धका उपदेश र सिद्धान्तहरूसम्बन्धी विषयवस्तु समेटेको छ । यसले बौद्ध शिक्षारेखाको बारेमा पनि स्पष्ट रूपमा छलफल गर्छ। स्थानीय पाठ्यक्रममा बौद्ध धर्मका शिक्षण सिद्धान्तहरू समेट्नु देवदह नगरपालिकाको एक मौलिक पक्ष हो । यससम्बन्धी विषयमा, Bhattarai (2023) ले औपचारिक शिक्षामा बौद्ध दर्शनको समायोजनसम्बन्धी अध्ययन गर्दै व्यावहारिक ज्ञान र वैज्ञानिक विवेकशीलतामार्फत समाजलाई समृद्धि, शान्ति र दीर्घायु विकासतर्फ अग्रसर गराउन सन्दर्भ अनुकूलित बौद्ध शिक्षाको सम्भाव्यता सान्दर्भिक रहेको निष्कर्ष निकालेका छन् । त्यसैगरी, Sharma (2022) ले नेपाली शिक्षामा बौद्ध दर्शनको प्रयोगबारे छलफल गर्दै बौद्ध धर्मले वास्तविकता, प्रेम र करुणालाई विशेष प्राथमिकता दिने कुरामा जोड दिएका छन्, जुन मानवता र शैक्षिक विकासका विभिन्न क्षेत्रमा कार्यान्वयन योग्य छ । Squire et al. (2003) ले उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूमा बौद्ध उपदेश र सिद्धान्तहरूको ज्ञान र अभ्यासको अध्ययन गरे। उक्त अध्ययनले बौद्ध सिद्धान्तहरूले विद्यार्थीहरूलाई उनीहरूको आचरणसम्बन्धी क्रियाकलापहरूमा सहयोग गर्ने कुरा औंल्याएको छ । बहुसांस्कृतिक शैक्षिक परिदृश्यमा बौद्ध नैतिकतालाई समाहित गर्दा यसले चिन्तनशील सिकाइ दृष्टिकोण विकास गर्न सहयोग पुर्याउँछ । त्यस्तैगरी, Siderits (2022) को पुस्तकले दर्शनशास्त्रका रूपमा बुद्धका उपदेशहरूबारे छलफल गर्दै बौद्ध शैक्षिक उपदेशहरूले मन र आत्मालाई कसरी शान्त पार्छ र हरेक मानिसलाई आचरणमा शिष्ट तथा नम्र बन्न मद्दत गर्छ भन्ने कुरा गरेको छ ।
यसका अतिरिक्त, Warner (2023) ले आधुनिक शिक्षासँग बौद्ध शिक्षाको समायोजनसम्बन्धी अध्ययन गरेका थिए, जसमा बौद्ध शिक्षाले आफ्ना शैक्षिक विषयवस्तुमार्फत आचरणमा सरलता विकास गर्न मद्दत गर्ने र नकारात्मक पक्षहरूमाथि सकारात्मक प्रभाव पार्ने कुरा औंल्याइएको छ । यसबाहेक, Dhakal (2021) द्वारा गरिएको ‘फाउन्डेसन्स अफ बुद्धिजम’ शीर्षकको अध्ययनले आठवटा मार्ग को विश्लेषणमार्फत नैतिकता भनेको राम्रो आचरण मात्र हो भन्ने निष्कर्ष निकालेको छ, जसले ध्यान, मानसिक विकास र अन्तरदृष्टि बढाउन सहयोग गर्छ । त्यसैगरी, Pokhrel et al. (2023) ले उत्तर-आधुनिक सिकारूहरूका लागि मूल्यमा आधारित पाठ्यक्रम र शिक्षाशास्त्रबारे छलफल गरेका छन् । यसले संस्कृतिमा आधारित पाठ्यक्रम जस्ता विभिन्न पाठ्य संरचनाहरू मार्फत मूल्य मान्यताहरूको समायोजन गर्ने प्रयास गरेको छ, जसले स्थानीय पाठ्यक्रम बौद्ध शिक्षामा महत्त्वपूर्ण रूपमा निर्भर रहेको जनाउँछ । Changkakoti & Broyon (2008) ले आफ्नो पुस्तकमा वर्तमान समयको विद्यालय शिक्षाका लागि बौद्ध शिक्षालाई एक चुनौतीको रूपमा चर्चा गरेका छन् । यसमा सिकारूको नैतिक आचरण र बौद्धिक चेतनालाई केन्द्रित गर्छ, तर आधुनिक समयका विद्यार्थीहरूको विशेषताहरू नितान्त भिन्न हुने भएकाले उनीहरूका दैनिक जीवनमा संस्कृतिमा आधारित पाठ्यक्रम लागू गर्न कठिन हुन्छ भन्ने अध्ययन को निस्कर्ष रहेको छ।
यी अध्ययनहरूको अध्ययन गर्दै जादा, शिक्षाको क्षेत्रमा बौद्ध शिक्षाले नैतिक अनुशासनका साथै शान्तिपूर्ण सजगता (mindfulness) पक्ष प्रदान गर्ने कुरा खुल्न आएको छ। प्रस्तुत अध्ययनले देवदह नगरपालिकाको स्थानीय पाठ्यक्रमको प्रभावकारितासम्बन्धी अवधारणालाई अगाडि ल्याउने प्रयास गरेको छ, जसले विद्यालयको पाठ्यक्रममा बौद्ध उपदेश, सिद्धान्त, दर्शन र बौद्ध शिक्षालाई भित्र्याउन मद्दत गर्दछ ।
सामुदायिक सम्पत्तिको रूपमा स्थानीय पाठ्यक्रम
सामान्यतया, स्थानीय पाठ्यक्रम स्थानीय वातावरण, सम्पदा, धार्मिक र ऐतिहासिक महत्त्वको परिधिभित्र रही तयार पारिन्छ भन्ने बुझिन्छ। देवदह नगरपालिकाको सन्दर्भमा, ‘हाम्रो देवदह’ शीर्षकको स्थानीय पाठ्यक्रम विशेष गरी बौद्ध शिक्षा, उपदेश र सिद्धान्तहरूमा केन्द्रित छ। यसले विद्यार्थीहरूलाई गौतम बुद्धको बाल्यकालका कथाहरू र उनी कसरी सिद्धार्थ गौतमबाट ‘बुद्ध’ बने भन्ने प्राचीन ऐतिहासिक घटनाहरूसँग परिचित गराउँछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा स्थानीय पाठ्यक्रमसम्बन्धी विभिन्न अध्ययनहरू भएका छन् । इन्डोनेसियाको सन्दर्भमा, Andrian & Hadi (2018) ले स्थानीय पाठ्यक्रमको मूल्याङ्कन गर्न इन्स्ट्रुमेन्ट विकासबारे छलफल गरेका छन्। उनीहरूले स्थानीय पाठ्यक्रमले स्थानीय क्षेत्रको विशेषता वा सांस्कृतिक महत्त्वलाई संरक्षण गर्ने काम गर्ने पत्ता लगाएका छन् । स्थानीय पाठ्यक्रमले क्षेत्रको विशिष्टतालाई जोडका साथ प्राथमिकता दिन्छ । त्यसैगरी, न्युजिल्यान्डको सन्दर्भमा, Lockely (2018) ले न्युजिल्यान्डका माध्यमिक विद्यालयहरूमा दिगोपन शिक्षामा स्थानीय पाठ्यक्रम विकासबारे कुरा गरेका छन् । अध्ययनले स्थानीय पाठ्यक्रमको विकासमा शिक्षकहरू दिगोपनको समग्र प्रकृतिका कारण चुनौतीमा पर्ने गरेको देखाएको छ । यसको अर्थ, सामाजिक-सांस्कृतिक पृष्ठभूमिले स्थानीय स्तरमा दिगोपनको धारणालाई प्रभावित गर्छ । Mishra (2023) ले नेपालको विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रमको महत्त्वलाई उजागर गरेका छन् । उक्त अध्ययनले शिक्षकहरूले स्थानीय संस्कृति र ज्ञानको संरक्षणका लागि स्थानीय पाठ्यक्रमलाई सकारात्मक रूपमा स्वीकार गरेको देखाएको छ ।
त्यसैगरी, नेपाली सन्दर्भमा, Gyawali (2023) ले शिक्षकहरूको धारणाका आधारमा आधारभूत तहमा स्थानीय पाठ्यक्रमको अभ्याससम्बन्धी अध्ययन गरे। अध्ययनले शिक्षा र सामुदायिक विकासमा स्थानीय पाठ्यक्रमले आफ्नै सिकाइ अनुभवहरूको आकार विकास गर्न मद्दत गर्न सक्ने कुरा प्रदर्शन गर्यो । यसका अतिरिक्त, Kandel (2025) ले संघीय नेपालमा तल्लो तहदेखि pedagogical पक्षसम्मको पाठ्यक्रम सुधारलाई बाहिर ल्याए । यसले स्थानीय पाठ्यक्रमले क्षेत्रको शैक्षिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक घटनाहरूको वास्तविक परिदृश्यलाई पहिचान गर्ने कुरा देखाउँछ। यसैगरी, Gurung & Parajuli (2021) ले पाल्पा जिल्लामा स्थानीय पाठ्यक्रम विकासको अवस्था र वैज्ञानिक ज्ञानको प्रयोगमा जोड दिएका छन् । अध्ययनको निष्कर्षले स्थानीय पाठ्यक्रमको प्रगतिको विकेन्द्रीकरणमार्फत स्थानीय सम्पदाहरूमा आधारित भई पाठ्यक्रम तयार गर्नुपर्ने र यसले स्थानीय क्षेत्रको पहिचानलाई माथि उठाउन निश्चित रूपमा मद्दत गर्ने कुरा देखाएको छ ।
यी अध्ययनहरूको विश्लेषण पछि, स्थानीय पाठ्यक्रम स्थानीय क्षेत्रको एक सम्पत्ति हो किनभने यसले स्थानीय क्षेत्रको साँचो पहिचान परिचित गराउँछ भन्ने निष्कर्ष निकालिएको छ । यसले सांस्कृतिक, ऐतिहासिक र सामाजिक रूपमा महत्त्वपूर्ण हुन सक्ने स्थानीय सम्पदा र विशेषताहरूको फराकिलो दायरा समेट्छ । प्रस्तुत अध्ययनले देवदह नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘हाम्रो देवदह’ को प्रभावकारिता बुझ्न खोज्ने प्रयास गरिएको छ, जसले स्थानीय बासिन्दाहरू एबम सरोकारवालाहरु माझ बौद्ध शिक्षा फैलाउन सहयोग पुर्याउँछ ।
धार्मिक, ऐतिहासिक, सांस्कृतिक र राजनीतिक परिचय बोकेको स्थानीय क्षेत्रको साँचो पहिचान प्रदान गर्नका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको हुन्छ । विश्वव्यापी परिदृश्यमा स्थानीय पाठ्यक्रमसम्बन्धी विभिन्न अनुसन्धान अध्ययनहरू भएका छन् । नेपालको सन्दर्भमा, Subedi (2018) ले नेपालका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम: नीति र अभ्यासबीचको अन्तराल (gap) मा केन्द्रित रहेर अध्ययन गरेका छन् । त्यसैगरी, Adhikari (2024) ले नेपालमा स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयनमा देखिएका समस्या र चुनौतीहरूका बारेमा छलफल गरेका छन्, जसले स्थानीय पाठ्यक्रम लागू गर्दा आउने अवरोध र कठिनाइहरूको अन्वेषण गर्दछ । त्यसैगरी, Mishra (2023) ले नेपालको विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रम विकास प्रक्रियामा शिक्षकहरूको धारणा र वैचारिक समझदारीको अन्वेषण गरे । अध्ययनले शिक्षकहरूले स्थानीय तहको स्थानीय ज्ञान, संस्कृति र पर्यटन क्षेत्रहरूको संरक्षणका लागि स्थानीय पाठ्यक्रमलाई सकारात्मक रूपमा बुझेको विश्लेषण गर्यो । Sunuwar (2023) ले झापा जिल्लाको कन्काई, बिर्तामोड र दमक गरी तीनवटा नगरपालिकाद्वारा तयार र कार्यान्वयन गरिएका स्थानीय पाठ्यक्रमहरूको विश्लेषण गर्न अध्ययन सञ्चालन गरे, जसमा स्थानीय वातावरणीय समस्याहरूको सामग्री विस्तारको निर्धारणसँगै स्थानीय आवश्यकताहरूमा आधारित तहगत दक्षता विकास गर्न स्थानीय पाठ्यक्रमले सहयोग गर्ने अध्ययनको निर्स्कर्षमा आयो । यसका अतिरिक्त, Bhetuwal (2022) ले संखुवासभा जिल्लाका प्राथमिक विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागू गर्नका लागि दक्षता र सरकारका नीतिहरूको मूल्याङ्कन गर्दै नेपालमा स्थानीय पाठ्यक्रम कार्यान्वयनको प्रभावकारितासम्बन्धी अध्ययन गरे ।
यस सन्दर्भमा, प्रस्तुत अध्ययन देवदह नगरपालिकाको स्थानीय पाठ्यक्रमको बारेमा चर्चा गरिएको छ । यस अध्ययनको उद्देश्य शिक्षक, विद्यार्थी र स्थानीय जनताको धारणाको माध्यमबाट नगरपालिका क्षेत्रमा बौद्ध शिक्षा फैलाउन ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिता पत्ता लगाउनु हो । यसले विद्यार्थीहरूलाई बुद्धको जीवनी, बौद्ध शिक्षा र दर्शनसम्बन्धी ज्ञान प्राप्त गराउन स्थानीय पाठ्यक्रमको महत्त्वलाई उजागर गर्ने उद्देश्य पनि राखेको छ । यो अध्ययन यसअघि प्रकाशित भइसकेका अध्ययनहरूभन्दा वास्तवमै फरक छ। यसले देवदह नगरपालिकाको स्थानीय पाठ्यक्रमको बारेमा जान्न चाहने र यसमा थप अध्ययन अगाडि बढाउन चाहनेहरूका लागि सहयोगी योगदान पुर्याउँछ।यस अध्ययनको मुख्य उद्देश्य शिक्षक, विद्यार्थी र स्थानीय जनताको धारणाको माध्यमबाट नगरपालिका क्षेत्रमा बौद्ध शिक्षा फैलाउन ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिता पत्ता लगाउनु हो । यस अध्ययनले विद्यार्थीहरूलाई बुद्धको जीवनी, बौद्ध शिक्षा र दर्शनसम्बन्धी ज्ञान प्राप्त गराउन स्थानीय पाठ्यक्रमको महत्त्वलाई उजागर गर्ने लक्ष्य पनि राखेको छ ।
प्रस्तुत अध्ययनले देवदह नगरपालिकाको क्षेत्रमा बौद्ध शिक्षा फैलाउन ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिता पत्ता लगाउने प्रयास गरेको छ । यो गुणात्मक प्रकृतिको अध्ययन हो जसमा सहभागीहरू तथा सूचनादाताहरूको प्रत्यक्ष अनुभवहरूमा केन्द्रित गरिएको छ । यस अध्ययनले कुल १५ जना सहभागीहरूलाई समेटेको छ, जसमध्ये ६ जना शिक्षक, ५ जना विद्यार्थी र ४ जना स्थानीय पाठ्यक्रम अध्ययन गरेका स्थानीय बासिन्दाहरू रहेका छन्। अनुसन्धानकर्ताले स्थानीय पाठ्यक्रमसम्बन्धी केही अनुसन्धान प्रश्नहरूका आधारमा अर्ध-संरचित अन्तर्वार्ता को प्रयोग गरेका छन्। अन्तर्वार्ता निर्देशिकाको पालना गर्दै सहभागीहरूसँग अन्तर्वार्ता लिइएको छ । सहभागीहरूबाट जानकारी सङ्कलन गर्ने क्रममा सुमधुर सम्बन्ध स्थापना, मञ्जुरी र नैतिक विषयहरूलाई गम्भीरतापूर्वक ध्यान दिइएको छ । जानकारी सङ्कलन गरेपश्चात्, यसलाई थप छलफलका लागि लिपिबद्ध गरिएको थियो ।
अध्ययनले सङ्कलित जानकारीलाई विभिन्न विषयवस्तुहरूमा व्यवस्थापन गर्न विषयगत विश्लेषण दृष्टिकोण अपनाएको थियो । सहभागीहरूबाट जानकारी प्राप्त गरेपछि, अनुसन्धानकर्ताले अडियो रेकर्डिङहरूलाई लिपिबद्ध गरे र सहभागीहरूका विशिष्ट सामग्रीहरूलाई टिपेर सङ्कलित गरिएको थियो ।
यो अध्ययन स्थानीय पाठ्यक्रमसँग सम्बन्धित छ। देवदह नगरपालिकाले ‘हाम्रो देवदह’ शीर्षकको स्थानीय पाठ्यक्रम तयार पारेको छ, जसभित्र गौतम बुद्धका उपदेश र सिद्धान्तहरू, जीवनी, बौद्ध शिक्षा तथा देवदहको धार्मिक र ऐतिहासिक महत्त्व समेटिएका छन् । यस अध्ययनले शिक्षक, विद्यार्थी र स्थानीय जनताको धारणाको माध्यमबाट नगरपालिका क्षेत्रमा बौद्ध शिक्षा फैलाउन ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको प्रभावकारिता पत्ता लगाउने प्रयास गरिएको छ । यसले विद्यार्थीहरूलाई बुद्धको जीवनी, बौद्ध शिक्षा र दर्शनसम्बन्धी ज्ञान प्राप्त गराउन स्थानीय पाठ्यक्रमको महत्त्वलाई उजागर गर्दछ । यो अध्ययन स्थानीय पाठ्यक्रम सिद्धान्त र सांस्कृतिक उत्तरदायित्व मा आधारित छ, जसले शैक्षिक विषयवस्तुलाई समुदायको विशिष्ट सांस्कृतिक, सामाजिक र धार्मिक सन्दर्भमा समाहित गरिनुपर्छ भन्ने कुरामा छलफल गर्दछ । यस सिद्धान्तले ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले बौद्ध शिक्षाको ज्ञान अभिवृद्धि गर्न कसरी सहयोग गर्छ भन्ने कुरामा पनि जोड दिन्छ। यो अध्ययन देवदह नगरपालिकाको परिधिभित्र सीमित छ। यसले स्थानीय पाठ्यक्रमले बौद्ध शिक्षालाई कसरी सहयोग गर्छ भन्ने विषयमा शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरूको धारणाको विश्लेषण गर्दछ ।
सहभागीहरूबाट सूचना एबम जानकारी प्राप्त गरे पश्चात्, यसलाई थप छलफलका लागि लिपिबद्ध गरिएको छ । यसको विश्लेषण गर्दा, जानकारीलाई विभिन्न पक्षहरूमा कोड गरिएको छ। अध्ययनले सङ्कलित जानकारीलाई विभिन्न विषयवस्तुहरूमा व्यवस्थापन गर्न विषयगत विश्लेषण दृष्टिकोण अनुसार गरिएको छ ।
हाम्रो देवदह पाठ्यक्रममा बौद्ध दर्शन र मूल्यमान्यताहरू समाहित
देवदह नगरपालिकाको ‘हाम्रो देवदह’ शीर्षकको स्थानीय पाठ्यक्रममा बौद्ध दर्शन, नैतिक तथा चारित्रिक मूल्यमान्यताहरू समाहित गरिएका छन् । यस सम्बन्धमा, धेरै सहभागीहरूले बौद्ध उपदेश र मूल्यमान्यताहरू नैतिक चेतना निर्माण गर्न अत्यन्त महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन्। यसले विद्यार्थीहरूलाई ‘हाम्रो देवदह’ पुस्तकमार्फत नैतिक मूल्यहरूबारे सिकाउँछ, जसले शिक्षार्थीहरूलाई बौद्ध शिक्षाका धार्मिक उपदेश र सिद्धान्तहरूसँग परिचित गराउँछ। त्यसैगरी, शिक्षकहरू पनि यो स्थानीय पाठ्यक्रम पढाउँदा बौद्ध धर्मका दार्शनिक सिद्धान्तहरूसँग परिचित भएका छन् । उदाहरणका लागि, वडा नम्बर १ की शिक्षिकाको धारणाले ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले बौद्ध दर्शन, उपदेश र मूल्यमान्यताहरूको अवधारणासँग जोडिएका अनुशासनका क्षेत्रहरू समेटेको संकेत गर्छ । बौद्ध सिद्धान्तका यी पक्षहरू बारे विद्यार्थीहरूलाई पढाउँदा यसले दैनिक कक्षाकोठाको शिक्षण-सिकाइमा राम्रो सिकाइ वातावरण आकार दिन निश्चित रूपमा सहयोग गर्छ। यसका अतिरिक्त, वडा नम्बर ३ का एक सहभागीले स्थानीय पाठ्यक्रमले विद्यार्थीहरूलाई नैतिक चेतनाका गतिविधिहरू अभ्यास गर्न प्रदर्शन गर्न, प्रश्न गर्न र नैतिक शिक्षा दिन उत्प्रेरित गर्ने कुरा महसुस गरे । यस सम्बन्धमा, वडा नम्बर ५ बाट सहभागीको विचारले देवदह नगरपालिकाको ‘हाम्रो देवदह’ पाठ्यक्रमले सानै उमेरदेखि सहिष्णुता र उत्तरदायी नागरिकता विकास गर्न बौद्ध दर्शन र शिक्षण सिद्धान्तहरूको ज्ञानलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको अवधारणा तर्फ डोर्याउँछ ।
देवदहको ऐतिहासिक र धार्मिक महत्त्व सबैलाई जानकारी गराउने
नेपाली सन्दर्भ र बौद्ध परिदृश्यमा पनि धेरै मानिसहरू देवदहको उच्च महत्त्वबारे अझै अनभिज्ञ छन् । धेरैजसो सहभागीहरूले ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रम स्थानीय क्षेत्रको महत्त्वलाई समेटेर तयार पारिएको महसुस गरे । देवदह भगवान गौतम बुद्धको मावली स्थानको रूपमा प्रसिद्ध छ । यसबाहेक, ऐतिहासिक रूपमा यहाँ प्राचीन कोलिय राज्य (Koliya State) रहेको थियो । उदाहरणका लागि, एक स्थानीय बासिन्दा तथा पत्रकार, वडा नम्बर २ का बासिन्दाले स्थानीय पाठ्यक्रमले सबै मानिसहरूलाई देवदहको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे सचेत गराउने कुरा झल्काउँछ । त्यसैगरी, वडा नम्बर ६ का कक्षा ७ का विद्यार्थीले देवदह नगरपालिकाको ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले हरेक सिकारूलाई बुद्धका उपदेश र सिद्धान्तहरूबारे जानकारी गराउने तथा देवदह ऐतिहासिक र सांस्कृतिक रूपमा कसरी प्रसिद्ध छ भन्ने कुरामा सबैलाई सचेत गराउने कुरा प्रतिबिम्बित गर्दछ । यसका अतिरिक्त, वडा नम्बर ९ का शिक्षकले महसुस गरेको विचार हेर्दा यस धारणाबाट, देवदहको महत्त्वलाई फराकिलो संरक्षण, पहिचान र शिक्षाका लागि मानिसहरूलाई सचेत गराउन यो स्थानीय पाठ्यक्रमले प्रभावकारी योगदान पुर्याइरहेको निष्कर्ष निकाल्न सकिन्छ ।
बौद्ध शिक्षासँग सम्बन्धित विद्यार्थी सहभागिता र सिकाइ उपलब्धिहरू
आफ्नो बसोबास क्षेत्रमा आधारित विषय अध्ययन गर्दा सधैं सिकारूको व्यावहारिक सहभागितालाई सहयोग पुग्छ । कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूले देवदहको धार्मिक र ऐतिहासिक महत्त्वको आधारमा तयार पारिएको ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रम अध्ययन गरिरहेका छन् । यो पाठ अध्ययन गर्ने क्रममा, विद्यार्थीहरूले बौद्ध शिक्षासँग सम्बन्धित विद्यार्थी सहभागिता र सिकाइ उपलब्धिहरूका बारेमा स्पष्ट प्रतिक्रिया दिएका छन्। उनीहरूको धारणालाई यसरी औंल्याइएको छ:
जब हामी ध्यान (meditation) र योगाको पाठ पढिरहेका हुन्छौं, तब हाम्रा शिक्षकले हामीलाई तपस्याको मुद्रामा पढाउनुहुन्छ। यो हाम्रो मन र आत्मालाई परिष्कृत गर्न वास्तवमै उपयोगी छ । हामी सबै साथीहरू भगवान गौतम बुद्ध जस्तै बस्ने मुद्रामा बस्न सक्रिय रूपमा सहभागी हुन्छौं ( देवदह वडा नं. ६ को कक्षा ६ को विद्यार्थी) ।
‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रम एक रोचक विषय हो जसले हामीलाई बाल्यकालदेखिका गौतम बुद्धको जीवनीबारे शिक्षा दिन्छ। यसले सिकाइको प्रक्रियामा सकारात्मक ऊर्जा (positive vibes) लाई सहयोग गर्ने धार्मिक उपदेशहरू पनि प्रदान गर्दछ। यो स्थानीय पाठ्यक्रम अध्ययन गरेपछि मेरा सबै साथीहरू अध्ययनमा एकाग्रता दिन्छन् । (देवदह वडा नं. १० को कक्षा ४ की विद्यार्थी)।
‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले मलाई देवदहका स्थानीय सम्पदाहरूसँग परिचित गराउँछ । मेरा धेरै साथीहरू देवदहको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे अनभिज्ञ छन् । गत वर्ष, जब हाम्रा शिक्षकले देवदहका विभिन्न सांस्कृतिक स्थलहरूको भ्रमण गराउनुभयो, तब हामीले भ्रमण गरिएका स्थानहरूको प्रतिवेदन तयार गरेर देवदहबारे धेरै कुरा जान्यौं (देवदह वडा नं. ४ को कक्षा ८ को विद्यार्थी) ।
मैले ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले बौद्ध मूल्य वा दर्शनलाई अपनाएको पाएको छु जसले बौद्ध नैतिकता कक्षाहरू मार्फत विद्यालयहरूमा माइन्डफुलनेस विकास गर्न मद्दत गर्दछ। यसले मेरो सिकाइको प्रक्रियामा राम्रो प्रभाव पारेको छ । यस पाठ्यक्रमले करुणा र नैतिक संवेदनशीलता बढाउन पनि सहयोग गर्छ (देवदह,वडा नं. १२ को कक्षा ५ की विद्यार्थी) ।
यी अभिव्यक्तहरूबाट, ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले कक्षाकोठाको अनुशासन र विद्यार्थीहरूको आचरण सुधार्न सहयोग गर्छ भन्ने बुझ्न सकिन्छ । बौद्ध नैतिकता कक्षाहरू मार्फत नैतिकतामा भएको वृद्ध र आत्म-जागरूकतामा भएको वृद्धिका कारण विद्यार्थी सहभागिता र सिकाइ उपलब्धिमा सुधार आएको देखिन्छ ।
बौद्ध शिक्षा शिक्षणमा शिक्षकको तयारी र शिक्षण विधिहरू
विद्यार्थीहरूको सामु अपेक्षित रूपमा ज्ञान पुर्याउन शिक्षण विधिले महत्त्वपूर्ण भूमिका खेल्छ । यसको मतलब, ‘हाम्रो देवदह’ विषय पढाउँदा शिक्षकको तयारी एक अत्यावश्यक पक्ष हो । अधिकांश सहभागीहरूले स्थानीय पाठ्यक्रममा बौद्ध शिक्षा पढाउन शिक्षकहरूले विद्यार्थी-केन्द्रित गतिविधिहरू अपनाउनुपर्ने विचार व्यक्त गरे । उदाहरणका लागि, वडा नम्बर ७ की शिक्षिकाको विचारले बौद्ध शिक्षा पढाउने शिक्षण विधि कक्षाकोठामा विद्यार्थी-केन्द्रित गतिविधिमा अत्यधिक आधारित रहेको कुरा सूचित गर्दछ । शिक्षकले कथा वाचन र जीवनमा आधारित उदाहरणहरू प्रयोग गर्दा सिकाइ रोचक बन्छ। यसका अतिरिक्त, वडा नम्बर ११ का शिक्षकको भनाइले स्थानीय पाठ्यक्रम ‘हाम्रो देवदह’ पढाउँदा सिकारूहरूलाई बौद्ध उपदेश र सिद्धान्तहरूमाथि विचार गर्न प्रोत्साहित गर्ने कुरा प्रकट गर्दछ । विद्यार्थीहरूको राम्रो आचरण दिन, उनीहरूमा सहानुभूति र नैतिक सोच सीपहरू विकास गर्न बौद्ध शिक्षा महत्त्वपूर्ण रूपमा उपयोगी छ ।
निष्कर्ष
प्रस्तुत अध्ययनले शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाको धारणाको माध्यमबाट नगरपालिका क्षेत्रमा बौद्ध शिक्षा फैलाउन ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमको मुख्य भूमिका रहेको देखिन्छ । यसले विद्यार्थीहरूलाई बुद्धको जीवनी, बौद्ध शिक्षा र दर्शनसम्बन्धी ज्ञान प्राप्त गराउन स्थानीय पाठ्यक्रमको महत्त्वलाई उजागर गर्दछ । अध्ययनका निष्कर्षहरू हेर्दा, ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले बौद्ध शिक्षा फैलाउन सहयोग गर्छ भन्ने निष्कर्ष रहेको छ । यस पाठ्यक्रममा गौतम बुद्धका बाल्यकालका कथाहरू, बौद्ध धर्मका उपदेश र सिद्धान्तहरूसँग सम्बन्धित पाठ्यक्रम समावेश छन् । अधिकांश सहभागीहरूले यो पाठ्यक्रम पूर्ण रूपमा बौद्ध शिक्षा, बौद्ध दर्शनका उपदेश र सिद्धान्तहरूमा आधारित रहेको महसुस गरे। केही सूचनादाताहरूको विश्वास छ कि ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रम पढाउँदा विद्यार्थीहरू विषयवस्तुतर्फ आकर्षित भइरहेका छन् र यसले भगवान बुद्धका जीवन कथाहरू र जातक कथाहरूमा केन्द्रित गराउँछ जसले सिकाइमा विद्यार्थीको संलग्नतालाई बढाएर नैतिक सोच र ऐक्यबद्धतालाई बढावा गर्न सहयोग गर्छ ।
यसका अतिरिक्त, ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रममा बौद्ध दर्शन, नैतिक र चारित्रिक मूल्यमान्यताहरू समाहित गरिएका छन्। अधिकांश सहभागीहरूले बौद्ध उपदेश र मूल्यमान्यताहरू नैतिक चेतना निर्माण गर्न अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका छन् । यसले विद्यार्थीहरूलाई नैतिक मूल्यहरूबारे सिकਾउँछ जसले शिक्षार्थीहरूलाई बौद्ध शिक्षाका धार्मिक उपदेश र सिद्धान्तहरूबारे जानकारीगराएको देखिन्छ । पढाउने क्रममा शिक्षकहरू पनि यो स्थानीय पाठ्यक्रम पढाउँदा बौद्ध धर्मका दार्शनिक सिद्धान्तहरूसँग परिचित हुन्छन्। केही शिक्षार्थीहरूले ‘हाम्रो देवदह’ स्थानीय पाठ्यक्रमले उनीहरूलाई देवदहका स्थानीय सम्पदाहरूबारे सचेत गराउने प्रतिक्रिया दिए । उनीहरूमध्ये धेरैजसो देवदहको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे अनभिज्ञ थिए। समग्रमा, स्थानीय स्तरमा बौद्ध शिक्षा प्रदान गर्न ‘हाम्रो देवदह’ पाठ्यक्रम निकै प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।यद्यपि, यो पाठ्यक्रमले बौद्कालिन देवदह को शैक्षिक अवस्था र बौद्कालिन ईतिहासको बारेमा गहिरो चर्चा गरिएको देखिदैन ।यो अध्ययन देवदहमा यस क्षेत्रको ऐतिहासिक र धार्मिक महत्त्वलाई सम्बोधन गरेर स्थानीय पाठ्यक्रमको सफलताको बारेमा कार्यान्वयन गर्न सकिन्छ।देवदहमा बौद्ध शिक्षामा आधारित स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनको बारेमा सामुदायिक विद्यालयहरू र संस्थागत विद्यालयहरूको तुलनात्मक विश्लेषणमा थप अनुसन्धान गर्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology