काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ८८.६ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर धागो, पाम तेल, जिङ्क सिट र पार्टिकल बोर्डलगायत वस्तुको निर्यात बढेको छ । औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु र जडीबुटीलगायत वस्तुको निर्यात भने घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु आयात १६.२ प्रतिशतले बढेको थियो ।
आयातको स्रोतका आधारमा भारतबाट २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल, यातायातका उपकरण, सवारीसाधन तथा तिनका पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । सुन, धान तथा चामल, हवाईजहाजका पार्टपुर्जा, पोलिथिन ग्रान्युल्स र चिकित्सकीय सामग्री तथा पार्टपुर्जालगायत वस्तुको आयात घटेको छ ।
निर्यातभन्दा आयात धेरै हुँदा समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ८.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १९.१ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात १५.५ प्रतिशत थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ३७ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात २७ अर्ब ७५ करोड रुपैयाँ बराबरको थियो ।
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ७१.१ प्रतिशत, मध्यवर्ती वस्तुको २८.८ प्रतिशत र पुँजीगत वस्तुको ०.१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ६९.३ प्रतिशत, २९.९ प्रतिशत र ०.८ प्रतिशत थियो ।
कुल आयातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ३९.४ प्रतिशत, मध्यवर्ती वस्तुको ५१.९ प्रतिशत र पुँजीगत वस्तुको ८.७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ३६.८ प्रतिशत, ५४.३ प्रतिशत र ८.९ प्रतिशत थियो ।
२०८३ भदौमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ६.९ प्रतिशतले बढेको छ। त्यस्तै, आयातको मूल्य सूचकाङ्क १६.१ प्रतिशतले बढेको छ। यस अवधिमा व्यापारका सर्त ७.९ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा अवधिमा खुद सेवा आय २२ अर्ब ४ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ३० अर्ब ८८ करोड रुपैयाँले घाटामा थियो ।
सेवा खाताअन्तर्गत भ्रमण आय २८.६ प्रतिशतले बढेर १४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भ्रमण आय ११ अर्ब ६२ करोड रुपैयाँ थियो ।
यसैबीच, समीक्षा अवधिमा भ्रमण व्यय १३.१ प्रतिशतले घटेर ४१ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ । भ्रमण व्ययमध्ये शिक्षातर्फको खर्च २९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल भ्रमण व्यय ४७ अर्ब ३१ करोड रुपैयाँ र शिक्षातर्फको खर्च ३२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology