काठमाडौँ । युक्रेनले युद्धको इतिहासमा पहिलोपटक घाइते सैनिकलाई भारी ड्रोनको सहायताले उद्धार गरेको दाबी गरेको छ । कोस्त्यान्तिन भ्लासेन्को नामका सैनिक ४९१ दिनसम्म रुसी सेनाको खतराबीच सीमावर्ती क्षेत्रमा फसेका थिए ।
पूर्वी युक्रेनको कुपियान्स्क मोर्चामा खटिएका भ्लासेन्को १४ फेब्रुअरीमा रुसी ड्रोन आक्रमणमा घाइते भएका थिए । उक्त आक्रमणमा उनका साथीको मृत्यु भएको थियो भने विस्फोटका छर्राले उनका दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । उपचार नपाउँदा उनको दाहिने खुट्टामा सड्ने समस्या देखिएपछि उनले आफैँ खुट्टा काटेर अलग गरेको समाचारमा उल्लेख छ ।
घाइते अवस्थामा रहेका उनलाई युक्रेनी सेनाले ड्रोनमार्फत खाना, पानी र औषधि पुर्याउँदै आएको थियो । स्थलमार्गबाट उद्धार गर्ने प्रयास रुसी सेनाले रोबोट नष्ट गरेपछि असफल भएको थियो । त्यसपछि सैनिकलाई सुरक्षित निकाल्न विशेष योजना तयार पारिएको थियो ।
उद्धारका लागि करिब १३० किलोग्रामसम्म तौल बोक्न सक्ने ‘हेभी सट अयुदाग–६’ नामको भारी ड्रोन प्रयोग गरिएको थियो । ड्रोनमा विशेष उपकरण जडान गरी भ्लासेन्कोलाई सुरक्षित रूपमा बाँधेर खतरनाक क्षेत्रबाट बाहिर निकालिएको थियो । उडानका क्रममा ब्याट्री परिवर्तन गर्ने व्यवस्था पनि मिलाइएको थियो ।
ड्रोनबाट सुरक्षित स्थानमा पुर्याइएपछि भ्लासेन्कोलाई ‘मिरोतभोरेत्स’ नामक टाढैबाट सञ्चालन गर्न सकिने रोबोटिक सवारीमा राखियो । त्यसपछि उद्धार टोलीले उनलाई अस्पताल पुर्याएको थियो । अभियानमा युक्रेनका विभिन्न सैन्य एकाइ र ड्रोन सञ्चालक सहभागी भएका थिए ।
रुस–युक्रेन युद्धमा ड्रोनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । समाचारअनुसार युक्रेनले हरेक वर्ष करिब १० लाख सस्ता ड्रोन उत्पादन गर्न सक्ने क्षमता विकास गरेको दाबी गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology