काठमाडौं । इजरायलको पछिल्लो निर्वाचनमा विदेशी हस्तक्षेप भएको आरोपबारे त्यहाँको गुप्तचर संस्था मोसादले अनुसन्धान गर्ने भएको छ। अनुसन्धानमा आन्तरिक सुरक्षा निकाय शिन बेट पनि सहभागी हुने जनाइएको छ ।
निर्वाचनमा कतारसहित केही विदेशी मुलुकले अरब मतदातालाई पैसा दिएर मतदान प्रभावित पार्न खोजेको आरोप लागेको छ । यस निर्वाचनमा अरब दलहरूले १९ सिट जितेका छन्, जुन उनीहरूको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । यद्यपि, केन्द्रीय निर्वाचन आयोगले कथित हस्तक्षेपले निर्वाचन परिणाममा कुनै असर नपारेको स्पष्ट पारेको छ ।
यसैबीच, इजरायलमा अरब र यहुदी दलहरू मिलेर सरकार गठन गर्नुपर्ने मागसहित विभिन्न सहरमा प्रदर्शनको तयारी गरिएको छ । तर इजरायल बेतेनु पार्टीका प्रमुख अविग्दोर लिबरम्यानले अरब दलहरूको समर्थन रहेको सरकारमा सहभागी नहुने बताएका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका छोरा यायर नेतान्याहूले पनि इजरायलका अरब नागरिकलाई देशको अस्तित्वका लागि ठूलो चुनौती भएको टिप्पणी गरेका छन् । उनको अभिव्यक्तिले इजरायलमा राजनीतिक तथा सामुदायिक विवाद थप चर्काएको छ ।
उता, नेतान्याहूको सहयोगी दल युनाइटेड टोरा जुदाइजमले विपक्षी नेता गादी आइजेनकोटलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने प्रस्ताव अघि सारेको छ । सात सिट जितेको उक्त दलले समर्थनका लागि धार्मिक समुदायका सदस्यलाई अनिवार्य सैनिक सेवाबाट छुट दिनुपर्ने माग गरेको छ । इजरायलमा सरकार गठनका लागि सामान्यतया संसद्का ६१ सदस्यको समर्थन आवश्यक पर्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology