कृष्ण अन्जान, गुल्मी । जग्गा त धेरै छैन तर काईदा जाने थाेरै जग्गामा पनि राम्रो फाईदा गर्न सकिन्छ भन्ने उदाहरण हुन रिडीबजारका फर्सु नेपाल ।
करिब छ दशक अगाडि भट्कुवा गाउँबाट उनका बा आमा रिडी झरेपछि रिडीबजारमै जन्मेका फर्सु नेपाल पनि ५३ वर्षको सेराेफेराेमा छन ।
रिडी बजारदेखि पश्चिमी मुस्किलले पाँचसय मिटरपर रिडी खर्ज्याँग माेटरबाटै मास्तिर बेलघारीमा रहेकाे जग्गामा उनकाे पौरख हेर्न सकिन्छ ।
"जग्गा त जम्मा पाँच राेपनि छ तर घरपरिवार पाल्न, पढाउन सबै यहि जग्गाले पुर्याएकाे छ" उनले भने ।
हुनपनि विचित्रै छ, वर्षैभरि उनकाे जग्गामा तरकारी फल्छन । मौसमी र बेमौसमी तरकारी खेती गर्न पल्केका उनलाई उब्जेकाे तरकारी कता बेचम भन्ने पिरलाे पनि छैन । "नजिकै बजार छ, बजारमा ल्याउनपनि पर्दैन । बारीमै हारालुछ हुन्छ । फेरि घर नजिकै पैँचाे पसल छ त्यहाँ पनि बिक्री हुन्छ।" उनले भने ।
दुईवटा टनेल समेत रहेकाे उनकाे जग्गामा बाेडि, काँक्रा, सिमी, करेला, घिरम्ला, लौका, फर्सी, काउली, बन्दा त उत्पादन हुन्छ नै तर टमाटर उत्पादनमा उनी याे क्षेत्रकै नाम चलेका किसान हुन ।
"वर्षको ५-६ लाखकाे तरकारी त मज्जाले बेचिन्छ अरु तरकारी भन्दा टमाटर धेरै बेच्छु" मुसुक्क मुस्कुराउँदै फर्सुराम भन्छन् ।
सरकारले पनि बेलाबेलामा सहयाेग गरेकाे छ तर सरकारकाे अनुदानकाे आश गर्दिन । आफै लगानी गर्छु र आफै पाखुरा बजार्छु उनले भने ।
तरकारीसँगै जग्गाका ढिक ढाकमा डमक्कै केरा र कागती पनि लगाएका छन उनले ।
दुहुना गाई भैँसी पालेर गाेरसकाे जाेहाे पनि गरेका जागरुक किसान गरे के हुँदैन भन्ने मान्यता राख्छन ।
रिडीबजारमा बसेर परिश्रमी पाखुरा बजार्दै समृद्धिकाे यात्रा तय गरिरहेका किसान फर्सु नेपाल बाट धेरै पाठ सिक्नु पर्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology