बुटवल । उद्योग व्यापार संघ बुटवलले आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डमा सञ्चालन गर्ने पांचौं राष्ट्रिय औद्योगिक व्यापार मेला सफल बनाउन बुटवलका प्रमुख चार व्यापारिक संगठन छलफलमा जुटेका छन् ।
उद्योग ब्यापार संघ बुटवलले मेलाका विषयमा गरेको छलफलमा बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही ब्यापार संघ र रुपन्देही उद्योग संघका अध्यक्षहरुसंग छलफल गरेको हो ।
उद्योग ब्यापार संघले अन्य तीन संस्थालाई सह-आयोजकका रुपमा राखेको छ । सो अवसरमा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य हरि प्रसाद अर्यालले बुटवलमा पुसमा लाग्दै आएको मेलाले राष्ट्रियस्तरमै ठूलो र भव्य मेलाको ब्राण्ड बनाएको चर्चा गर्दै यसपटक यसको गरिमालाई थप उचो बनाउन आयोजक र सहआयोजक चार वटै संस्थाको उत्तिकै जिम्मेवारी र दायित्व रहेको बताए ।
यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष नरिश्वर पौडेल, रुपन्देही ब्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योग व्यापार संघ बुटवलले पहिलोपटक अन्य तीन संस्थालाई मेलाको सहआयोजक बनाएर उदारता र हार्दिकता व्यवहारमै पुष्टी गरेको भन्दै मेलालाई सफल बनाउन आफूहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।
आयोजक संघका अध्यक्ष लोकनाथ पन्थीले बुटवलमा पुषमा आयोजना हुंदै आएको मेला संघले पहिलोपटक आयोजना गर्न लागेकाले यसलाई विगतमा जस्तै सफल बनाउन सहआयोजक तीनवटै संस्थाहरुबाट रचनात्मक सल्लाह सुझाव र सहयोगको अपेक्षा गरेको बताए ।
संघका कोषाध्यक्ष दिलिप शर्माले मेलाको सफलताको एउटा आधार लक्ष्य अनुसार चार सय बढी स्टल, दश लाख दर्शक भित्राउने र ५० करोडको आर्थिक कारोबार गर्ने रहेकाले यस लक्ष्यलाई पूरा गर्न सहआयोजक तीन वटै संस्थाको सहयोग अपरिहार्य रहेको बताएका थिए । उनले विगतमा जस्तै मेलालाई व्यवस्थित र नयांपन दिने गरी काम भइरहेको जानकारी गराएका थिए ।
मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका र नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ रहेका छन् ।
आयोजकले मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलगायतका तयारीलाई अघि बढाउन मेला स्थलमै सचिवालय स्थापना गेर काम गरिरहेको छ ।
मेलालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न २९ वटा उपसमिति गठन गरी तयारीका काम तीब्ररुपमा अघि बढाइएको सचिव सौरभ भुसालले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology