काठमाडौं । भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीले स्वागत गर्ने एक्ला नेपाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बनेका छन् । सन् २००६ जुन ६ देखि ९ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।
त्यसयता कुनै पनि प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले स्वागत गरेका छैनन् । वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
त्यस्तै, सन् २००८ सेप्टेम्बर १४ देखि १८ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका गृह राज्यमन्त्री सकिल अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए । सन् २००९ अगस्ट १८ देखि २२ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश राज्यमन्त्री प्रनीत कौरले स्वागत गरेकी थिइन् ।
सन् २०११ अक्टोबर २० देखि २३ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको विदेश मन्त्रालयकी शिष्टाचार प्रमुख रुचिरा कम्बोज र नेपालका लागि तत्कालीन भारतीय राजदूत जयन्त प्रसादले स्वागत गरेका थिए ।
सन् २०१६ फेब्रुअरी १९ देखि २४ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी थिइन् । सोही वर्ष सेप्टेम्बर १५ देखि १८ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि स्वराजले नै स्वागत गरेकी थिइन् ।
सन् २०१७ अगस्ट २३ देखि २७ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी थिइन् । सन् २०१८ अप्रिल ६ देखि ८ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।
त्यसैगरी, सन् २०२२ अप्रिल १ देखि ३ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पर्यटन तथा रक्षाराज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।
त्यस्तै, सन् २०२३ मे ३१ देखि जुन ३ सम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।
विमानस्थलमा स्वागत गर्ने प्रतिनिधिको तहले कूटनीतिक शिष्टाचार र भ्रमणको औपचारिकताबारे संकेत गर्ने भए पनि त्यसैका आधारमा दुई देशबीचको सम्बन्धको सम्पूर्ण अवस्था मूल्याङ्कन गर्न भने मिल्दैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology