काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ यतिबेला सामाजिक कार्यमा पनि सक्रिय छन् । ‘द भ्वाइस अफ नेपाल’को चौथो श्रृंखलाको कोचबाट विश्राम लिएपछि उनी यतिबेला फुर्सदमा पनि छन् ।
श्रेष्ठ यतिबेला गृहनगर धरानमा छन् । निजी कामको सिलसिलामा धरान पुगेका उनी उपमहानगरका मेयर हर्क साम्पाङको निम्तोमा वृक्षरोपण अभियानमा पनि सहभागी भएका छन् ।
सिमसिमे पानीको पर्वाह नगरी छाता ओढेरै गायक श्रेष्ठले बीपी पार्क पुगेर वृक्षरोपण गरे । ‘फेसबुकबाट त पहिल्यैदेखि वृक्षरोपण गरेको देखेकै थिएँ, आउन पनि उत्सुक थिएँ,’ उनले भने, ‘आज आफ्नै हातमा वृक्षरोपण गर्न पाएँ, खुसी लाग्यो ।' घरमा बस्नुभन्दा गएर वृक्षरोपण गर्न पनि गायक श्रेष्ठले धरानवासीलाई आग्रह गरे । श्रेष्ठसँगै अन्य स्थानीयबासीले पनि पार्कमा वृक्षरोपण गरे । उनले यस्तो कार्यमा मेयरलाई सघाउन समेत आग्रह गरे । मेयर निर्वाचित भएपछि साम्पाङले प्रत्येक शनिबार वृक्षरोपण अभियान चलाइरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology