बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित सरकारको १ वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् ।
केसी नेतृत्वको प्रदेश सरकारले १ वर्ष पुरा गरेको अवसरमा प्रदेश सरकारको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता शर्माले आर्थिक वर्ष २०७८।७९ मा आर्थिक बृद्धिदर ५.३६ प्रतिशत तथा प्रतिव्यक्ति आय ११०३ यूयस डलर र राष्ट्रिय कुल ग्राहस्थमा १४.१ प्रतिशत योगदान रहेको बताए । साथै उनले बजेट कार्यान्वयको सन्दर्भमा पुँजिगत ७७.४७ प्रतिशत र चालु खर्च ७०.२२ प्रतिशत कुल खर्च ७४.२० प्रतिशत रहेको जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारले गरेका कार्यको ५२ बुँदि कार्य प्रगति पत्रकार भेटघाटमा प्रस्तुत गर्दै प्रवक्ता शर्माले प्रदेश सरकारले प्रदेशबासीहरुको जीवनलाई समृद्ध बनाउने गरी कार्य थालनी गरेको बताए ।
मुख्यमन्त्री कुल प्रसाद केसीको नेतृत्वको प्रदेश सरकारको एक वर्षका उपलब्धिहरू यसप्रकार रहेका छन्:
१. मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा भई प्रदेशका १०९ वटै स्थानीय तहमा लागू भई कार्यान्वयनमा आएको ।
२. प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट मार्फत् ४ वटा प्रदेश गौरवका आयोजनाको रुपमा राप्ती उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर, पाल्पादेखि पातिहाल्ना, रोल्पा सडक आयोजना घोषणा गरिएको ।
३. प्रदेश राजधानी निर्माणका लागि गुरु योजना (Master Plan) तयार भई कार्यान्वयनमा आएको
४. राजधानी व्यवस्थापनका लागि ल्याण्ड पुलिङको कार्य अगाडि बढाइएको ।
५. राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गाभित्र ८ वटा प्रशासनिक भवन निर्माण कार्य अगाडि बढाइएको ।
६. लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापनाका लागि ऐन नियम कानुनको तर्जुमा गरी उपकुलपतिको नियुक्ति गरिएको ।
७. प्रदेशको राजधानी राप्ती उपत्यकाको लालमटियामा प्रदेश सभा भवन निर्माण भएको ।
८. राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य सुरु भइसकेको ।
९. मुटु, मृगौला र क्यान्सर रोगको उपचारार्थ विपन्न नागरिक उपचारमा थप सहयोग रु २ लाखसम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रम अन्तर्गत कार्यविधि तर्जुमा गरी २७६ जनाले सहायता प्राप्त गर्नु भएको ।
१०. पाँचौं प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न भई निर्णयहरूको कार्यान्वयन गरिएको ।
११. नवनिर्वाचित १०९ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षसँग प्रदेश सरकार र स्थानीय तह बीचको समन्वय र अन्तरसम्बन्धका सम्बन्धमा विज्ञहरु सहित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको ।
१२. संघीय शासन व्यवस्थाको सबलीकरणका लागि राष्ट्रिय सभाका सम्माननीय अध्यक्षसमेतको सहभागितामा राष्ट्रिय सभाका माननीय सदस्यहरु, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारीहरुबीच बृहत् बहुपक्षीय अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको ।
१३. १२ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको ।
१४. प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत ८ वटा स्थानीय तहमा स्थानीय तहको लागत सहभागितामा स्थानीय आर्थिक विकास, सूचना प्रविधि सञ्जाल विस्तार र लैङ्गिक समावेशीकरणको क्षेत्रमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम सञ्चालन गरिएको ।
१५. एकीकृत PLG Portal तयार भई सञ्चालनमा रहेको ।
१६. प्रदेशवासीका गुनासाहरुलाई समयमै सम्बोधन गरी शासकीय व्यवस्थामा सुधार ल्याउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा "हेलो मुख्यमन्त्री" कार्यक्रम (हटलाईन सेवा; टोल फ्री नम्बरः-१६६०७१५२००७) सञ्चालनमा ल्याइएको
१७. प्रदेश सरकारका मन्त्रालय वा अन्तर्गत निकायको कार्यमूलक संगठन संरचना र दरबन्दी विवरण तयार गरी प्रकाशन गरिएको ।
१८. प्रदेश सरकारको सहयोगमा २३ स्थानीय तहको आवधिक योजना, ४४ स्थानीय तहको क्षमता विकास योजना र ३९ स्थानीय तहको राजस्व सुधार कार्य योजना सम्बन्धित स्थानीय तहको सहभागितामा तयार गरिएको ।
१९. स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) आ.व. २०७७/७८ पाँचौ स्थानमा रहेको प्रदेश आ.व. २०७८/७९ मा दोस्रो स्थानमा स्तरोन्नति भएको ।
२०. स्थानीय तहका ७६० जना जनप्रतिनिधि र २३०४ जना कर्मचारीहरूलाई क्षमता विकास तालिम प्रदान गरिएको ।
२१. यस अवधिमा २२३ कि.मि. सडक कालोपत्रे, २६५ किमि ग्राभेल र १२१ कि.मी नयाँ ट्रयाक खोलिएको ।
२२. प्रदेश स्थापना पश्चात् हालसम्म ७२ ओटा सडक पुल निर्माण भएकोमा ४० ओटा यसै वर्ष सम्पन्न भएका छन् भने २३ ओटा झोलुङ्गे पुलमध्ये ११ ओटा यस वर्ष सम्पन्न भएको ।
२३. सिंचाईतर्फ थप २६५८ हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा विस्तार भएको ।
२४. ३७० हेक्टर जमिन तटबन्धमार्फत् जमिन उकास गरिएको ।
२५. विपद् व्यवस्थापन तर्फ ७५३ घरपरिवारलाई थप राहत प्रदान गरिएको ।
२६. १५३ क्षतिग्रस्त घरको पुनर्निर्माणमा सहायता उपलब्ध गराएको ।
२७. जनयुध्दका घाइते तथा अपाङ्गहरूको उपचारको व्यवस्था मिलाईएको ।
२८. पत्रकार दुर्घटना बिमा गरिएको ।
२९. प्रदेश राजधानी राप्ती उपत्यकाको भालुबाङदेखि लमही सम्मको पूर्व पश्चिम राजमार्ग खण्डमा सडक सुरक्षा तथा अपराध नियन्त्रणका लागि सिसिटिभि जडान गरी सञ्चालनमा ल्याइएको ।
३०. यस अवधिमा प्रदेश प्रहरी ऐन, प्रदेश वन ऐन, सञ्चार माध्यम ऐन जारी भई कार्यान्वयनमा लगिएको ।
३१. प्रदेश विद्युत विधेयक, लुम्बिनी प्रशिक्षण प्रतिष्ठान विधेयक, प्रदेश सिंचाइ विधेयक, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, औद्योगिक व्यवसाय सम्बन्धी विधेयक लगायत विधेयकहरू प्रदेश सभामा पेश भएका छन् भने प्रदेश निजामती सेवा विधेयक प्रदेश सभामा पेश हुने चरणमा रहेको ।
३२. स्थानीय मदिराजन्य पेय पदार्थको अध्ययन तथा परीक्षण उत्पादन सम्बन्धी कार्य सुरु गरिएको ।
३३. पर्यटन प्रवर्धनका लागि प्रदेश पर्यटन परिषद्को स्थापना गरिएको ।
३३. पर्यटकीय होटेल, ट्राभल एजेन्सीहरूको सूचीकरण, दर्ता, नवीकरण गर्ने कार्य थालनी गरिएको
३५. प्रत्येक जिल्लामा १/१ वटा साँस्कृतिक ग्राम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई यस वर्ष निर्माण थालनी गरिने ।
३६. १२ वटा जिल्लामा १/१ वटा नमुना शहरको निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको ।
३७. कानुनी प्रक्रिया पूरा गरी नेपालमा नै पहिलो पटक कपिलवस्तुको जगदीशपुर ताललाई चरा संरक्षित क्षेत्र (Bird Sanctuary ) घोषणा गरिएको ।
३७. पीडितसँग प्रदेश सरकार कार्यक्रम मार्फत् बर्दियामा ४९३ मिटरको हात्ती छेकबार आरसिसि पर्खाल निर्माण तथा रुपन्देही र बर्दियामा ११०० मिटर तारजाली व्यवस्थापन गरिएको र वन्यजन्तुको आक्रमणबाट पीडितलाई राहत प्रदान गरिएको ।
३९. प्रदेश भित्रको राष्ट्रिय वन तथा सामुदायिक वन व्यवस्थापन गर्न प्रदेश वन नियमावली जारी गरी राजस्व अभिवृध्दि कार्यलाई अगाडि बढाइएको ।
४०. सहकारी दर्ता अधिकारीको कार्यालयको स्थापना प्रदेश राजधानी भालुबाङमा स्थापना गरी कार्यालय सञ्चालनमा आएको ।
४१. प्रदेशस्तरका २३८ सहकारी संस्थालाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली ( COPOMIS) Password वितरण गरी 228 वटा संस्थालाई Log in गराइएको ।
४२. मध्यमकालीन खर्च संरचना प्रणाली (MTEF), समपूरक तथा विशेष अनुदान व्यवस्थापन सूचना प्रणाली (CS-grants) र प्रदेश परियोजना बैंक व्यवस्थापन सूचना प्रणाली (PPBMIS) संचालनको लागि स्वीकृत भै कार्यान्वयनको चरणमा रहेको ।
४३. लुम्बिनी प्रदेश बैंक स्थापना गर्न प्राविधिक कार्य पूरा गरिएको ।
४४. तन्तु प्रजनन प्रयोगशाला (Tissue Culture Laboratory) र प्राङ्गारिक मल कारखाना स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु गरिएको ।
४५. राप्ती र लुम्बिनी प्रादेशिक अस्पतालहरूमा बहिरङ्ग सेवा (OPD) र जनरल बेड सेवामा लाग्ने शुःल्क २०७९ श्रावण १ गतेदेखि पूर्ण रुपमा निःशुल्क गरिएको । लुम्बिनी प्रदेश सरकारबाट सञ्चालित अस्पतालहरूमा निःशुल्क रगत प्रदान गर्ने कार्य सुरु गरिएको ।
४६. प्रदेशका १०९ ओटै स्थानीय तहमा ४३६ जना कृषि प्राविधिक जनशक्ति करार सेवामा लिई परिचालन गरिएको ।
४७. सिकलसेलको निदान र उपचारको कार्यमा प्रदेश सरकारले तराईका ६ वटै जिल्लाका ८ ओटा अस्पतालमा सिकलसेल कर्नर स्थापना गरिएको ।
४८. विशेषज्ञ चिकित्सा सम्बन्धी सेवा दुर्गम जिल्लामा पुर्याउन विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७८ कार्यान्वयनमा ल्याइएको ।
४९. क्याथ ल्याब र एम आर आई मेसिन लुम्बिनी प्रादेशिक अस्पतालमा जडान भई सेवा सुचारु गरिएको ।
५०. नसर्ने रोगको रोकथाम तथा न्यूनीकरणका लागि २० वर्ष भन्दा माथिका ४० हजार जनतालाई मधुमेह र रक्तचापको स्क्रिन टेस्ट गरिएको ।
५१. नारायणी पारी सुस्ता क्षेत्रका नागरिकको सहज आवतजावतका लागि फेरी खरिद तथा सञ्चालन कार्यलाई अगाडि बढाइएको ।
५२. यातायात व्यवस्था सेवा कार्यालय थप दुई जिल्लामा विस्तार गरिएको
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology