कृष्ण अन्जान, गुल्मी । नेकपा (एमाले) ले रेसुङ्गा क्याम्पसका सन्चालक समिति र प्रशासन प्रमुखले राजिनामा दिनुपर्ने माग गरेको छ । क्याम्पस प्रमुख लगायत संचालक समितीको असक्षमताको कारण क्याम्पस संकटमा पुगेको आरोप लगाउँदै एमाले रेसुङ्गा नगरकिमिटीले राजीनामा माग गरेको हो ।
बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले अप्रत्यासित रुपमा क्याम्पसमा संकटकाल घोषणा गरेको भन्दै त्यस्तो निर्णय गर्ने संचालक समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको हो ।
४० बर्षदेखि उच्च शिक्षा प्रवाह गरेको क्याम्पसमा संकटकालको घोषणाले जिल्लामै उच्च शिक्षाबाट विद्यार्थीहरु बञ्चित हुने एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरी प्रसाद पोखरेलले बताएका छन् । ‘संकटकाल घोषणा गर्नुपूर्व सबै सरोकारपक्षसँग छलफल गर्नुपर्ने थियो, त्यो पनि भएन’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले भने ‘आर्थिक संकटको नाममा विद्यार्थीको भविष्य अन्यौल बनाउने, प्रध्यापक एवम् कर्मचारीको पेशागत हकहित सुनिश्चित गराउन नसक्ने संचालक समिति र प्रशासन नेतृत्वले तत्काल राजिनामा दिनुपर्छ ।’
एक विज्ञप्ती समेत जारी गर्दै एमालेले सरोकारवालाहरुसँगको छलफलबिना र विद्यार्थी भर्नाको समयमा गरिएको घोषणाले सबैलाई निराश एंव दु:खी बनाएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ- "संघ, प्रदेश तथा स्थानीय सरकार गठबन्धनको नेतृत्वमा रहेका बेला क्याम्पसको यो दुरावस्था आउनु र प्रभावकारी पहल नहुनु अझ बढी दुखको विषय भएको छ ।
अविलम्ब यस क्याम्पसलाई आवश्यक सहयोग गरी सुचारु रुपले संचालन हुने व्यवस्था मिलाउन तीनै तहका सरकारलाई जोडदार माग समेत गर्दछौ ।"
यस्तो छ विज्ञप्ति:
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology