सुमन महतारा, गुल्मी । नागरिकतामा मुसी कुवँर नाम लेखिएकी (धनकला) उमेरले ७० वर्ष पुग्नै लागिन् । वि. सं. २०१० फागुन ५ गते जन्मिएकी यी सम्मानित जेष्ठ नागरिक निर्धक्क खुलेर आफ्नो नाम पनि भन्न सक्दिनन् । जसको कारण हो, उनको नागरिकतामा भएको 'गलत र अपमानजनक' नाम ।
शुक्रवार आफ्नो नागरिकतामा रहेको गलत नाम सच्याउन जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेकी उनले नागरिकताको नाम कै कारण सामाजिक कार्यमा सहभागी भएर पनि आफ्नो नाम भन्न लजानुपरेको भन्दै गहभरी आँशु बनाईन् ।
" नागरिकता पाएर खुसी हुनुपर्ने भएपनि मलाई यो नागरिकता कै नामले सताउनु सतायो ।" निन्याउरो अनुहार पार्दै उनले भनिन्- "उतिबेला नागरिकता बनाउँन त्रिलाेचन उप्रेतीको टाेली त्यो बेलाको अर्खले गाविस भुवनपानी गएको समयमा नागरिकतामा नाम मुसी राखिदिएछन, यसरी अर्काको नाम बिगार्दिन पाइन्छ र ?"
नागरिकता बनाउँने बेला आफू सुत्केरी भएर माईत गएको र ससुरा बुवाले नागरिकता बनाएर राखिदिएको उल्लेख गर्दै उनले माईतबाट घर आएर हेर्दा नागरिकतामा आफ्नो नाम मुसी देखेको बताईन् । किन मेरो नाम मुसी राख्देकाे भनेर ससुरालाई उतिबेलै प्रश्न गरेको स्मरण गर्दै उनले नागरिकता बनाउँने बेला नाम नसम्झेका कारण ससुराले नाम मुसी राखिदिएको बताईन् ।
आफु विद्यालय व्यावस्थापन समिति, खानेपानी समुह लगायत कार्यक्रममा हिडिराख्ने र त्यो अवस्थामा आफ्नो नाम मुसी भएकोमा अरुले हाँसोको पात्र बनाएको भन्दै उनले गुनासो गरिन् । त्यतिमात्र हैन छिमेकिले धान खाने मुसाे भनेर उपनाम नै राख्देकाे भन्दै उनी निकै भावुक बनिन् ।
उतिबेलाबाट नै नागरिकतामा नाम फेर्न गुहार मागिराखेकि धनकलाले आफ्नो नाम अहिलेसम्म फेर्न सकेकि छैनन् । पटक पटक नागरिकता सच्याउन माग राखे पनि आफ्नो गुनासो नसुनेकाेप्रती उनले दुख व्यक्त गरिन् ।
यता जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकतामा भएको सामान्य त्रुटि सच्याउन सकिने तर नाम नै फेर्न सकिने गरि कार्यविधि अझै नआइसकेको बताएको छ । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले आफूहरुले जिल्लामा यस्तो अभ्यास नगरेको बताए ।
यस अघि देशका विभिन्न स्थानमा त्यसप्रकारका 'अपमानजनक' नाम नागरिकतामा भएकै कारण समाजमा नागरिकहरू हासोपात्र बन्नुपरेको र प्रशासनको सानो कमजोरीले नागरिकहरूको सम्मानपुर्वक बाँच्न पाउँने हक नै गुम्न पुगेको विषय संचारमाध्यममा आएपछि गृहमन्त्रालयले नागरिकतामा रहेका अपमानजनक नामहरू सच्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध गरेको थियो । सोही अनुसार केही जिल्लाका नागरिकले नयाँ नाम सहितको नागरिकता पाएको भएपनि जिल्ला प्रशासन कार्यालय गुल्मीले नाम नै फेर्न मिल्ने कार्यविधी अझै आईनसकेको बताएपछि आफ्नो वास्तविक नाम सहितको नागरिकता बोकेर घर फर्किने आशा सहित जिल्ला प्रशासन कार्यालय पुगेकी धनकला अमिलो मन लिएर घर फर्केकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology