बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाल रुपन्देही क्षेत्र नंं ३ मा उम्मेदवार सिफारिस भएका छन् । ३ सँगै क्षेत्र नम्बर १ को कमिटीले पनि उनको नाम सिफारिस गरेको थियो । तर जिल्ला र प्रदेश कमिटीले क्षेत्र नम्बर १ बाट उनको नाम हटाएको छ ।
२०७४ को चुनावमा भूसाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यद्यपि उनको घर भने क्षेत्र नम्बर १ मा पर्छ ।
यो पटक क्षेत्र नम्बर १ को कमिटीले भूसालको नाम पनि सिफारिस गरेको थियो । उनीसँगै पार्टीका सचिव छविलाल विश्वकर्मा, टीकाराम चापागाई लगायतको नाम सिफारिस भएको थियो ।
क्षेत्र नम्बर ३ बाट भूसालसंगै तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, पूर्वसांसद यज्ञजित शाह र दुर्गाप्रसाद भूसाल सिफारिस भएका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राखेकै कारण भूसाललाई सर्वसम्मत उम्मेदवार हुन नदिइएको उनी निकट नेताहरु बताउँछन् ।
३० वैशाखको स्थानीय चुनावमा पाएको मतका आधारमा पनि एमालेका लागि ३ भन्दा १ सहज देखिन्छ । भूसालले पनि ३ भन्दा आफ्नो घर भएको १ नम्बर क्षेत्रबाट लड्ने रुची देखाएका थिए ।
तर जिल्ला कमिटीले भूसाललाई रुपन्देही ३ मा मात्र उम्मेदवार बनाउन उपयुक्त हुने रायसहित प्रदेश कमिटीमा सिफारिस गरेको जनाईएको छ ।
‘क्षेत्र नंं १ बाट पनि उहाँको नाम आएको सत्य हो,’ पार्टी स्रोतले भन्यो, ‘एउटै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार नहुने भएकाले उहाँलाई यसअघि जितेको क्षेत्र नै उपयुक्त हुन्छ भन्न रायसहित नाम पठाएका हौं ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology