काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठनको लागि आज साँझ ५ बजेसम्मको समयसिमा दिएसंगै दलहरुको सक्रियता बढेको छ ।
आजै साँझ ५ बजेभित्र नयाँ सरकारको टुंगो लगाउनुपर्ने नत्र प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुसार देश संसद विघटनसंगै मध्यावधि निर्वाचनमा हाम फाल्ने आंकलन गरिसकेका विपक्षी नेताहरु महत्वपूर्ण भेटभाटमा जुटेका हुन् ।
यतिबेला नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको निवासमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादीका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव सहितका नेताहरू छलफलमा छन् ।
यद्यपि कांग्रेस, माओवादी केन्द्र र जसपाको यादव पक्षले राष्ट्रपतिले गैरसंवैधानिक रुपमा सरकार गठनको लागि आह्वान गरेको भन्दै भत्र्सना गरेका छन् ।
नयाँ सरकार गठनसंगै राष्ट्रपतिमाथि महाअभियोग लगाउनेबारे पनि विपक्षी गठबन्धनमा छलफल हुने बताईएको छ । यसको संकेत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology