राजेश पराजुली, पोखरा । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा ३ दिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिम कार्यशाला पोखरामा शुरू भएको छ ।
उक्त तालिम कार्यशालाको उद्देश्य स्वास्थ्य प्रणाली अनुसन्धान प्रस्ताव विकासमा स्वास्थ्यकर्मीहरूको ज्ञान तथा सिप वृद्धि गरी उनीहरूलाई स्वास्थ्य अनुसन्धान प्रक्रियाहरूको बारेमा परिचित गराउनु रहेको छ ।
उक्त तालिम कार्यशालालाई प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पानसमा दियो बाली उद्घाटन गरेका थिए । तालिम कार्यशालालाई सम्बोधन गर्दै उपकुलपति अर्यालले अनुसन्धानमा आधारित शिक्षा नभएकै कारण शिक्षाको गुणस्तर खस्केको बताए । उनले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गर्दै लेखेर घोकेर, अनुकरण गरेर हासिल हुने शिक्षाले समाज परिवर्तन गर्न नसक्ने बताए ।
उपकुलपतिले प्राज्ञिक उन्नयन र व्यक्तित्व विकासका लागि विश्वविद्यालय शिक्षा रचनात्मक र अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले शिक्षक राष्ट्रको प्रबुद्ध वर्गमा पर्ने उल्लेख गर्दै पढने पढाउने मात्र होइन शिक्षकले सभ्य र अनुशासित जनशक्ति उत्पादनतर्फ समेत ध्यान दिनुपर्ने बताए । उहाँले अनुसन्धानमा विश्वसनीयता र नविनता हुनुपर्ने उल्लेख गर्दै अनुसन्धान प्रस्तावहरू डिग्री हासिल गर्नेतर्फमात्र केन्द्रीत नभई कोष निर्माण र जनस्वास्थ्य परियोजना भित्राउनेतर्फ पनि केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा. डा. अजय थापाले अनुसन्धान मानव शरीर र जीवित प्राणीसँग मात्र नभई सबै क्षेत्रमा नियमित हुनुपर्नेमा जोड दिए । तालिम कार्यशालाका सभापति एवम् पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले स्वास्थ्यमा गरिने अनुसन्धान समाजको लागि उच्च मूल्यको रहने बताउँदै यस्ता तालिमले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले अनुसन्धानबिना शैक्षिक गुणस्तर, गुणस्तरीय प्रकाशन, शोध प्रबन्ध, क्षमता अभिवृद्धि जस्ता शैक्षिक क्रियाकलाप अगाडि बढ्न नसक्ने उल्लेख गर्दै त्यसका लागि अनुसन्धानमा लाग्नेलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्यकर्मीको योग्यता र सेवालाई गुणस्तरीय र बैज्ञानिक बनाउन विभिन्न संघसंस्थास“ग समन्वय गरी अगाडि बढिरहेको उल्लेख गरे ।
पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका स्कूल निर्देशक उप–प्रा. बिमला भट्टलेस्वास्थ्य सेवा व्यवस्थापनमा अनुसन्धानको ठूलो महत्व रहेको उल्लेख गरे । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. नमराज धामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् राष्ट्रकै गौरव र जिम्मेवार निकाय रहेको उल्लेख गरे।
उनले लेख, शोध प्रबन्ध एवम् अनुसन्धानसम्बन्धी गतिविधिले शिक्षकको काम गर्ने शैली र ज्ञान आर्जनमा उल्लेख्य सुधार आउने बताए। कार्यक्रमको सञ्चालन स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका उप–प्राध्यापक पुजा भण्डारीले गरेका थिए । कार्यशाला भोलि अर्थात पौष २३ गतेसम्म सञ्चालन हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology