मित्र`उराठी´ गाैतम
विद्यालयकाे स्वर्ण महाेत्सव भव्य रुपमा चल्दै थियोे।
यसै विद्यालयका पूर्व विद्यार्थीहरु वर्तमान मन्त्री र सचिव कार्यक्रमका प्रमुख र विशिष्ट अतिथिकाे रुपमा आमन्त्रित थिए। यस्तै विभिन्न ओहदामा पुगेका पूर्व विद्यार्थीहरुकाे पनि व्यापक उपस्थिति थियोे। आमन्त्रित छिमेकी विद्यालयहरुका प्रधानाध्यापक र शिक्षकहरु एवम् अन्य उपस्थिति समेतले मैदान खचाखच थियोे। महाेत्सवकाे अवसरमा विद्यालय स्थापनामा याेगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरियो। त्यस्तै संस्थापक प्रधानाध्यापक द्रोण प्रसादलाई विशेष सम्मान गरियो।
`विद्यालयका संस्थापक गुरुकाे सम्मानमा विद्यालय प्राङ्गणमा गुरुकाे शालिक निर्माण गरि गुरुदक्षिणा अर्पण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।´मन्त्रीज्यूले मन्तव्यकाे क्रममा भने।
`गुरुकाे शैक्षिक याेगदानकाे कदर स्वरुप गुरुकाे नाममा अत्याधुनिक सभाहल निर्माणको व्यवस्था मिलाउने छु।´सचिवजीले पनि प्रतिवद्धता व्यक्त गरे।
सम्मानित गुरु द्राेणप्रसादलाई पनि मन्तव्यकाे लागि अनुरोध गरियो। लठ्ठी टेक्दै उठेर कम्पित स्वरमा भावुक हुँदै गुरुले भने `म प्रति सदाशयता देखाएकोमा मन्त्री बाबु, सचिव बाबुलाई हार्दिक धन्यवाद छ। तर मेराे शालिक बनाउने, मेराे नाममा हल बनाउने कुराले म खुसी छैन् ।´
गुरुकाे भनाइले एकाएक सन्नाटा छायाे।
गुरु बाेल्दै गए `तिमी मन्त्री, सचिव नीति निर्माण तहमा छाै। कम्तिमा याे बेला शिक्षकलाई मर्यादित जीवन जीउने व्यवस्था गर्याै भने मेराे मात्रै हैन समग्र शिक्षकको सच्चा सम्मान हुने छ। अन्य कर्मचारीकाे जस्तै ग्रेड सुविधा, विरामी विदा सुविधा लगायत अन्य सुविधामा विभेद निराकरण गरेमा यही मेरालागि गुरुदक्षिणा ठान्ने छु।´
मन्तव्यकै विचमा परर्रर्र....... तालिकाे गडगडाहट गुञ्जियाे।
`शिक्षण पेशा मर्यादित,सम्मानित बनाउन सकियो भने यस क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढ्ने छ। त्यसपछि शैक्षिक गुणस्तरकाे लागि एकले अर्कोलाई दाेषाराेपण गर्ने प्रचलनकाे पनि अन्त्य हुने छ ।´भन्दै गुरुले वाणी विराम गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology