एजेन्सी । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।
मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।
हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार रहेको बिबिसीले जनाएको छ।
उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उनका उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्।
युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।
एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्।
घाइतेहरूलाई अस्पताल लगिएको छ।
जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।
शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको थियो।
दुर्घटना हुँदा त्यहाँ निकै अँध्यारो थियो र हुस्सु लागेको थियो।
प्रारम्भिक विवरणहरूका अनुसार दुर्घटनाअघि हेलिकप्टर उक्त विद्यालयको भवनमा ठोक्किएको थियो।
पछि हेलिकप्टर एउटा आवासीय भवननजिकै पुगेर खसेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology