काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताएका छन् ।
सोमबार प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । १४ वैशाखमा पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको उनले बताए ।
‘महावीर पुन माइतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा । राम्रो कुराकानी भयो । केही माग गर्नुभएको छ । जीडीपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यसको होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो,' प्रचण्डले भने, 'म त माइतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाईं बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो । म उहाँका माग सम्बोधन गर्छु ।’
महावीर पुनले आफूसँग केही मँग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको प्रचण्डको भनाइ छ । सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको उनले बताए ।
पूर्वलडाकुलाई रकम दिने विषय २०७१ को सरकारले गरेको निर्णय भएको प्रचण्डको भनाइ छ । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको उनले बताए ।
तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको प्रचण्डले बताए । आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको पनि उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology