काठमाडौं । जेठ महिनादेखि संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गरिने भएको छ ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति जुटेको हो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीमा संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमबारे गरिएका व्यवस्था जेठदेखि लागू हुने बताए ।
नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गर्ने व्यवस्था छ ।
प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम महिनामा दुई पटक गर्ने उल्लेख थियो । तर, पाँच वर्षको अवधिमा एकपटक मात्रै यो कार्यक्रम संचालन भएको थियो ।
यसपटक महिनामा एक पटक मात्रै गर्ने गरी नियमावली परिमार्जन गरिएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुन्छ ।’
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको दिन कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने पनि उनले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology