काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र भएको बताएका छन्। आइतबार आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाली मिडियाले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार कृष्ण सेन इच्छुक लगायतले गणतन्त्र प्राप्तिका लागि रगत बगाएको भन्दै सम्मान व्यक्त गरे
प्रधानमन्त्री प्रचण्डको भाषणको पूर्ण अंश:
आज आठौं राष्ट्रिय पत्रकारिता दिवस । विसं १९५८ वैशाख २४ गते नेपाली भाषाको पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिनको स्मरणमा गत आठ वर्षदेखि हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । राष्ट्रिय पत्रकारिता दिवसको यस अवसरमा म पत्रकारिता जगतलगायत सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांगलगायत यस क्षेत्रको विकासमा योगदान गर्नेहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । पत्रकारिता क्षेत्रमा रहेर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरी वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुहुने सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
नेपालबाटै नेपाली भाषामा समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन हुन थालेको १२२ वर्ष पूरा भई सकेको छ । नेपालबाट प्रकाशित हुने गोरखापत्र सरकारी स्वामित्वमा भएकाले यसका आफ्नै सीमा समस्या पनि थिए, सँगसँगै विसं १९७० को दशकदेखि प्रवासबाट प्रकाशित हुनथालेका पत्रत्रिकाले त्यतिबेलाको बौद्धिक तप्कालाई राजनीतिक आन्दोलनमा अघि बढ्न उत्प्रेरित गरेको एतिहासिक भूमिका पनि म आज सम्झन चाहन्छु । वि.सं. १९९१ को फागुनदेखि शारदा साहित्यिक मासिकको प्रकाशन हुँदै वि.सं. २००० सालसम्म प्रकाशित साहित्यिक पत्रिकाहरूले नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
त्यसपछि बनारसबाट प्रकाशित युगवाणी होस् वा कलकत्ताबाट प्रकाशित नेपाल पुकार होस्, सबै पत्रपत्रिकाले २००७ सालको आन्दोलनलाई सफल पार्न महत्वपूर्ण योगदान गरे भने २००७ कै संघर्षको बीचबाट रेडियो प्रसारणको नयाँ प्रयोग पनि सुरु भयो । राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलनहुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्यायो । आन्दोलनकै क्रममा कृष्ण सेन इच्छुकसहित कयौं पत्रकारले बलिदान गर्नुभएको छ भने केही बेपत्ता हुुुनुहुन्छ । कयौं घाइते अपांग हुनुहुन्छ भने कयौंले जेल, नेल र यातना भोग्नुभयो । त्यति मात्र होइन, कयौं राजनीतिक दलहरु अलमलमा रहेको बेलासमेत पत्रकारिता क्षेत्रबाट नै सुस्पष्टरुपमा नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर संस्थागतरुपमा नै जागरणमूलक अभियान सञ्चालन गरेको तथ्य स्पष्ट नै छ । त्यसैले आजको यो महत्वपूर्ण दिनमा म के भन्न चाहन्छु भने हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताविना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न संभव थिएन ।
पत्रकारिता क्षेत्रले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालको रुपमा लिने गरेको छ । आजको राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको छ । कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो । हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनु पर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा संचार साधन अवरुद्ध गरिने जस्ता अवस्था आम पत्रकारहरुले भोग्नु परेको थियो । आज त्यो अवस्था अन्त्य भएको छ । वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णतः प्रतिवद्ध छ । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता संघीय लोकतान्त्रिक गणन्त्रकै एउटा अंग हो भन्ने ठान्दछु र यो व्यवस्थामा कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट गर्न चाहन्छु ।
सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने नीति लिएको छ । पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित संचार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढंगले पहल भइरहेको छ । सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत् न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाइदैछ । जेष्ठ पत्रकार, अपाङ्ता भएका पत्रकारहरुका लागि जिवन निर्वाह भत्ताको व्यवस्था मिलाइदैछ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखेर एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल गरिँदै छ ।
संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय र सुशासनको लक्ष्यमा दृढतापूर्वक लागिरहेको वर्तमान सरकार विकास र समृद्धिको यात्रामा समेत द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा रहेको जानकारी गराउँदछु ।
अन्त्यमा, राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पुरस्कृत र सम्मानित सबैमा हार्दिक बधाइ ज्ञापन गर्दछु ।
धन्यवाद ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology