काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई सरकारले दिएको विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ ।
मन्त्रालयले पुनलाई एक जानकारी पत्र पठाएर नेपाल सरकारले दिएको मानपदवी उज्जवल कीर्तियम राष्ट्रदीप द्वितीय श्रेणी न्यूनतम मूल्यसमेत उल्लेख गरेर बिक्रीका लागि लिलामीमा राखिएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएकोले त्यसो नगर्न आग्रह गरेको हो ।
कुनै नेपाली र विदेशीलाई दिएको मानपदवी र विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा वा मर्यादा विपरीत हुने गरी प्रयोग गरेमा सरकारले विभूषण रद्द गर्ने विषय पनि स्मरण गराएको छ । यसरी विभूषण नै रद्द भएपछि पाउने व्यक्तिको नामसमेत रद्द गरेर सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन हुने विषय पनि गृह मन्त्रालयले प्रष्ट पारेको छ ।
महावीर पुनजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त रहेको पनि पत्रमा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology