लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) ले लुम्बिनीको विकाससंग नेपालको समृद्धि जोडिएको बताएका छन् । बिहिबार लुम्बिनीमा पत्रकारसंग कुरा गर्दै उपाध्यक्ष लामाले लुम्बिनीको व्यवस्थित विकास हुनसके यसले तीन करोड नेपालीलाई पाल्न सक्ने बताए ।
'ज्ञानभूमी र शान्तिभूमि भगवान गौतम बुद्धको जन्मस्थलको अथाह सम्भावना छ' उनले भने, 'लुम्बिनीलाई जति विकास गर्न सकिन्छ त्यति नै देशको आयस्रोत बढ्छ र मुलुक समृद्ध बन्छ।' हिमालमा विश्वको उच्च शिखर सगरमाथा, काठमाडौं अर्थात् पहाडमा हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ र तराईमा विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको पवित्रभूमी लुम्बिनी नेपाल र नेपालीका साझा सम्पत्ती भएको उल्लेख गर्दै उपाध्यक्ष लामाले विश्वलाई लुम्बिनीबाट शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनी विकास कोष स्थापना भएको बताए।
लुम्बिनी गुरुयोजना पुरा गर्ने र बृहत लुम्बिनी क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेर समग्र लुम्बिनीको विकास गर्ने आफ्नो योजना रहेको जिकिर गर्दै उनले लुम्बिनीको विकाससंग लुम्बिनीबासीलाई जोड्न र तिलौराकोट, देवदह र रामग्रामलाई लुम्बिनी संगसंगै विकासको बाटोमा डोर्याउन आफु प्रतिबद्ध रहेको बताए। लुम्बिनीमा आर्थिक पारदर्शिता नहुने र बेथिति ब्याप्त रहेको विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिंदै उपाध्यक्ष लामाले आफुले मायादेवी मन्दिरमा कसम खाएर लुम्बिनीको अपारदर्शिता र अनियमितता रोक्ने प्रण गरेकोले पारदर्शिता आफ्नो प्राथमिकतामा रहेको बताए। उनले भने, 'लुम्बिनी विकास कोषको आर्थिक पारदर्शिता मात्रै होइन, विकास कोषको सम्पत्ति कहाँकहाँ कति छ, यहाँ बहाल पदाधिकारी र कर्मचारीले लुम्बिनी विकास कोषलाई दिएको योगदान के कति छ ? पारदर्शिताका यस्ता धेरै विषयमा म गम्भिर छु।'
लुम्बिनीमा ३०० फिट अग्लो बुद्धको मुर्ति बनाउन र लुम्बिनीका विभिन्न साइटहरूको बारेमा यहाँ विशेष चिनारीहरू राख्न सकिए पर्यटक भित्र्याउन र पर्यटकलाई रोक्न सहज हुने बताउँदै उनले आफुले मायादेवी मन्दिरको स्वरूप समेत परिमार्जन गर्न चाहेको बताए।
मन्तव्यको अन्त्यमा अलि खुलेर बोलेका लामाले आफुलाई सधै विवादास्पद व्यक्ति भनेर पत्रकारले लेखिरहँदा दु:ख लागेको बताए । 'अख्तियार, सम्पत्ति शुद्धिकरण र अदालतले उठेका सबै विषयमा छानविन गरेर सफाई दिएको छ, तर पत्रकार साथीहरूले विवादास्पद छवि भनेर किन ठोकेको ठोकै गर्नुहुन्छ मलाई आश्चार्य लाग्छ' उनले भने, 'मेरो जतिकै अनुसन्धान गर्ने हो भने देशको आधा जनसंख्या जेलमा हुन्छ, कतिपय त पत्रकार नै पनि जेल पर्नुहोला।'
पशुपतिनाथको जलहरी काण्डमा मुछिएकाहरूलाई नदेख्ने, खालि खुट्टा काठमाडौं आएर अहिले महलमा बस्नेलाई नखोज्ने तर श्रीमती, बालबच्चा र जीवित बुवाआमा कोहि नभएको आफुलाई हुँदैनभएका घटनामा जोडेर खेदिरहने काम गरेपनि आफुले पत्रकारलाई माया गर्ने र नियमित पत्रकारसंग अन्तरक्रिया गरिरहने उनको भनाई छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology