१.कास्कीमा नागरिकता लिनेभन्दा राहदानी लिने धेरै
पोखरा कास्कीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जाने अनुमति पत्र अर्थात राहदानी बनाउने सेवाग्राहीहरु धेरै भएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
उक्त आर्थिक वर्षमा १७ हजार ६६३ जनाले कास्कीबाट राहदानी लिएका छन् । ८ हजार ६५ राहदानी तयार भएर आएका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार ३२५ जनाको राहदानी सिफारिस भएर पनि आउन बाँकी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा २५ हजार ७२८ राहदानी इन्रोल गरिएको उनले बताए ।
उक्त आर्थिक वर्षमा ११ हजार २ सय जनाले बंशजका आधारमा नयाँ नागरिकता लिएका छन् । ८ हजार ९१३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । बैबाहिक अंगिकृत नागरिकता लिने ११ जना छन् । उक्त आर्थिक वर्षमा २० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने ३५ जनाको नागरिकता रद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले राहदानी दस्तुर शिर्षकमा मात्र १० करोड ७२ लाख ७५ हजार दुई रुपैयाँ राजश्व संकलन भएको छ ।
२.संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
सुवास नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।
उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम- २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भए उनी । २०७४ को संसदीय निर्वाचनमा एमाले- माओवादी गठबन्धनबाट उनी विजयी भए ।
गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका उनलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।
कानूनमा स्नातक गरेका नेम्वाङ केही समय कानून व्यवसायमा पनि भए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बने । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भए ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । २०५८ सालमा केन्द्रीय सदस्यमा मनोनीत भएका उनी सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।
२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए ।
२०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष थिए ।
३.उपाध्यक्ष नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेका एमाले नेताहरू आजै स्वदेश फर्कँदै
उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि चीन भ्रमणमा रहेको एमाले नेताहरूको टोली आजै स्वदेश फर्किने भएको छ ।
चीनमा भ्रमणमा रहेका एमाले महासचिव शङ्कर पोखरेललगायत सबै नेताहरू आफ्नो सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम रद्द गरेर आज नै नेपाल फर्किने तयारीमा रहेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो ।
४.मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन
मधेश प्रदेश सभा सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। ४४ वर्षको उमेरमा उनको निधन भएको हो।
आज बिहान करिब ८ बजे उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको हो।
जनता समाजवादी पार्टी, नेपालको तर्फबाट सांसद बनेकी यादवको आजै अन्त्येष्ठि गरिने तयारी रहेको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।
उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ।
जसपाकी केन्द्रीय सदस्य समेत रहेकी यादव लामो समयदेखि पाठेघरको मुखको क्यान्सर रोगबाट ग्रसित थिइन्।
दुई वर्ष अघि मात्रै उनमा पाठेघरको मुखको क्यान्सर पत्ता लागेको थियो। प्रादेशिक अस्पताल जनकपुरधामको सघन उपचार कक्षमा उपचाररत यादवलाई १० दिन अघि मात्रै अस्पताल भर्ना गरिएको थियो।
अस्पतालका प्रवक्ता एवं छाला रोग विशेषज्ञ डाक्टर रामज्ञान यादवका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि यादवलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।
सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी सांसद यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन्।
५.नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिकहरूको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन।
श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन ।
सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।
प्रधानमन्त्री प्रचण्डले अन्तरक्रियामा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै निर्देशित गरेका छन । सम्बोधनमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिए।
६.एकिकृत समाजवादीका सल्लाहकार विश्वकर्माको हृदयघातबाट निधन
नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो ।
उनको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ । विश्वकर्माको जावलखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।
७.फोहोरलाई मोहरमा बनाउन इनोफेस्ट कार्यक्रम हुँदै, पोखराको सौन्दर्यतालाई अझै बढाउने अपेक्षा
पोखरामा इनोफेस्ट कार्यक्रम हुँदैछ । पोखरा सभागृह हलमा भोलि बुधबार बिहान ११ बजेबाट हुने कार्यक्रमलाई पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग (कोइका) र युएनडीपीले आयोजना गरेका हुन् ।
पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडीपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदिप अर्यालले जानकारी गराए ।
उनका अनुसार साँझ ५ बजेसम्म हुने कार्यक्रममा २० वटा स्टल रहनेछन् । पोखराको सौन्दर्यतालाई प्रभावकारी बनाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘फोहोरलाई मोहरमा कसरी परिणत गर्ने ? कुहिने फोहोरको कम्पोष्ट मल कसरी बनाउने ? लगायत स्थानीय उत्पादनको प्रर्वद्धन गरी पोखराको उद्यमशिलताको विकासमा टेवा पुग्ने गरी इनोफेस्ट कार्यक्रमको आयोजना गरिएको हो’ उनले भने ।
प्लास्टिकलाई प्रशोधन गरी सडक पीच कसरी गर्न सकिन्छ ? मोटर ट्वाइलेटको अवधारणा लगायतका विषयमा इनोफेस्ट कार्यक्रम मार्फत जानकारी मिल्ने उनले उल्लेख गरेका छन् । पोखराका नागरिकले नविनतालाई अंगाल्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
व्यवसायिक क्षेत्र,पोखरेली नागरिक,सरकारी कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता रहने जानकारी गराइएको छ । कोइकाका उपाध्यक्षको समेत उपस्थिति रहनेछ । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कोइका र युनिडीपीसँग जोडिएका महानगरपालिकाको उपस्थितिमा उक्त कार्यक्रम हुँदैछ ।इनोफेस्ट जस्ता कार्यक्रमबाट तुरुन्तै रिजल्ट नआए पनि कालान्तरमा यसले पार्ने प्रभाव सकारात्मक हुने उनले बताए ।
८.पूर्वी लिबियामा बाढीका कारण २ हजार बढीको मृत्यु
पूर्वी लिबियामा आईतवार आएको बाढीका कारण २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजाराँै मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताएका हुन । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीम हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको बताए ।
उनले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन । त्यस्तै उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरे । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ ।
९.प्रधानमन्त्रीसहितका शिर्ष नेताद्वारा स्व.नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन ।
मंगलवार दिउँसो एमाले केन्द्रिय कार्यालयको प्राङ्गणमा राखिएको उनको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरुले पनि स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसअघि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए । संविधान सभा अध्यक्षको रुपमा उनले नेपालको संविधान निर्माणमा पुराएको योगदानको उच्च प्रशंशा हुने गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवाषचन्द्र नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन ।
उनले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भुमिका निर्वाह गरेको समेत बताए । एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका उनले सञ्चारकर्मीमाझ उनलाई नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको बताए ।
कुनैपनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङले सधैंभरी लागि रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले उनको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताए । उनले नेम्वाङलाई सबैलाई मिलाएर लैजान सक्ने क्षमताको धनी नेताको रुपमा पनि स्मरण गरे ।
अध्यक्ष नेपालले संविधान निर्माणमा मात्रै नभई त्यसको कार्यान्वयनमा पनि नेम्वाङको सधैभरी जोड दिएको भन्दै उनले सो कार्यलाई पूर्णता दिने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology