१. सर्टिफिकेटको नाममा विद्यालयले ५/५ हजार असुलेको भन्दै नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी
बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ ।
मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखाका प्रमुख उपसचिव लोकराज पन्थीलाई बाहिर निस्कन आग्रह गर्दै ढोकामा संगठनका माग र चेतावनी पत्र टास्दै तालाबन्दी गरेको हो ।
शैक्षिक सत्रको शुरुवातमा राखेको बिभिन्न जायज मागलाई बेवास्ता गर्दै आएकोले तालाबन्दीमा उत्रिनु परेको सापकोटाले जानकारी दिए। शुक्रवार हामीले ३ दिनको अल्टिमेटम दिएर ध्यानाकर्षण गराएर हाम्रा माग पुरा गर्न भनेका थियौं तर हाम्रा जायज माग पुरा गर्नतर्फ ध्यान दिएको पाएनौ । अनि तालाबन्दीमा उत्रन बाध्य भयौं ।
निजि विद्यालयहरूले मनमौजी रुपमा शुल्क बृद्धि गरेको र प्रमाणपत्रका नाममा जनही ५ हजार भन्दा माथि शुल्क लिने गर्दा समेत नगरको शिक्षा शाखा मुकदर्शक भएर बसेकोले तालाबन्दी गरिएको उनले बताए । महंगो अतिरिक्त शुल्क लिएको भन्दै अनुगमन गरेर ३ दिनभित्र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै संगठनले शुक्रवार ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।
नगरको शैक्षिक कार्यक्रमलाई एकरुपतामा ल्याउन शाखाले पहल नगरेको बताउदै सामुदायिक बिद्यालयहरुमा बिभिन्न नाममा शुल्क लिने गरिएको सापकोटाले बताए ।
संस्थागत विद्यालयले ट्रान्सक्रिप्ट र सर्टिफिकेटको नाममा प्रति बिद्यार्थी पाँच हजार रुपैया बढी असुलेको बताउदै त्यो कार्य नरोकिए थप संर्घषका कार्यक्रम समेत सार्वजनिक गर्ने सापकोटाले उद्घोष गरे ।
२. श्रीलङ्कालाई हराउँदै भारत एसिया कपको फाइनलमा
भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ‘सुपर फोर’ चरणको मंगलबार खेलिएको महत्त्वपूर्ण खेलमा सह—आयोजक श्रीलङ्कालाई उसैको घरेलु मैदानमा ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलङ्काले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन मात्र बनाउन सक्यो ।
३. वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव
पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ ।
गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
बाल सुधार गृहमा तनाव बढेको थाहा पाएपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।
‘उनीहरुबीच राति आपसमा विवाद भएको थाहा पाएपछि हामीले रोक्न खोज्यौं, त्यहीक्रममा प्रहरीमाथि ढुंगा–ईंटा प्रहार भएको थियो, अहिले भने अवस्था सामान्य छ,’ डीएसपी थापाले भने, ‘अहिले पनि प्रहरीहरु गेट बाहिर तैनाथ छन् ।’
बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ ।
यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।
त्यहाँ पहिल्यैदेखि रहेकाहरु र भक्तपुरबाट पठाइएकाहरुको समूहबीच विवाद हुँदा झडप भएको बताइएको छ ।
४.सार्वजनिक भयो आइफोन १५ सिरिज, कुन मोडलको मूल्य कति?
एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आइफोन १५ सिरिज सार्वजनिक गरेको हो।
एप्पलको आइफोन १५ विश्व बजारको निकै प्रतिक्षित सिरिज हो। क्यालिफोर्नियास्थित स्टिभ जब्स थियटरमा भएको एप्पल इभेन्टको यस वर्षको ट्यागलाइन 'वन्डरलस्ट' रहेको थियो।
कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ। कम्पनीले यही शुक्रबारदेखि प्रि-अर्डर समेत सुरू गर्ने बताएको छ।
आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ। एप्पलले आइफोन १५ सिरिज र एयरपड्स प्रो डिभाइसहरूमा युएसबी-सी चार्जिङ केबल प्रदान गर्ने बताएको छ।
सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिजअन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ। आइफोन १५ प्रो यीबाहेक १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ भने आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुनेछ।
कम्पनीले आइफोन १५ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर (भारु ७९,९००) तोकेको छ। आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९ अमेरिकी डलर (भारु ८९,९००), आइफोन १५ प्रोको ९९९ अमेरिकी डलर (भारु १,३४,९००) र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ अमेरिकी डलर (भारु १,५९,९००) तोकिएको छ।
आइफोन १५ र आइफोन १५ प्लस दुवैमा २००० निट्सको पिक ब्राइटनेससहित ओएलइडी सुपर रेटिना डिस्प्ले दिइएको छ।
आइफोन १५ मा ६.१ इन्च र आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले स्क्रिन दिइएको हो।
दुवै मोडल ए१६ बायोपिक प्रोसेसरद्वारा सञ्चालित छन्। यसभन्दा अघिको आइफोन १४ प्रो र प्रो म्याक्समा पनि यही प्रोसेसर दिइएको थियो। यी मोडलहरू गुलाबी, पहेंलो, हरियो, निलो र कालो गरी पाँच विभिन्न रंगमा सार्वजनिक गरिएको हो।
आइफोन १५ प्रो गेमिङ-केन्द्रित सफ्टवेयर सुविधाहरूसहित तयार पारिएको छ। यसमा ए १७ प्रो चिप र मल्टिपल लेन्ससहितको प्रो-लेभल क्यामेरा प्रणाली दिइएको छ। आइफोन १५ प्रो म्याक्स पनि ए१७ चिपमा आधारित छ।
आइफोन १५ प्लो म्याक्समा विशेष यसको क्यामेरा छ। यसमा १० एक्ससम्म जुम गर्न मिल्ने अप्टिकल जुम रेन्ज दिएको छ। आइफोन प्रोमा ६.१ इन्चको डिस्प्ले दिइएको छ भने आइफोन प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ।
आइफोन १५ प्रो र प्रो म्याक्स नेचुरल टाइटानियम (ग्रे), निलो, सेतो र कालो गरी चार रंगमा सार्वजनिक गरिएको छ।
एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ९ मा एस-९ चिप दिइएको छ, जुन तुलनात्मक रूपमा राम्रो मानिन्छ। एप्पलको अल्ट्रा २ को ब्याट्री क्षमतामा पनि विकास गरेको बुझिन्छ। यसलाई एक पटक पूरा चार्ज गरेपछि ३६ घण्टासम्म चलाउन सकिने दाबी गरिएको छ। यसमा नाइट मोड फिचर पनि समावेश गरिएको छ।
यसबाहेक एप्पल इभेन्टमा कम्पनीले नाइकी ब्रान्डसँग सहकहार्य गरिरहेको घोषणा गरेको छ। कम्पनीले भविष्यमा आफ्नो उत्पादनहरूमा कुनै पनि छालाजन्य पदार्थ प्रयोग नगर्ने बताएको हो।
यसबाहेक कम्पनीले सन् २०३० सम्ममा नेट शून्य कार्बन उत्पादन गर्ने योजना बनाएको छ। कम्पनीले वाच सिरिज ९ मा पनि रिसाइकल धातुहरू प्रयोग गरेको बताएको छ।
५. पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाउन शुरु
पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन ।
योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरुबाट पनि शुरु हुनेछ । मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै सो खोपको शुरुवात गर्ने निर्णय लिइएको बताए । उनले तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताए ।
६.६१ किलो सुन प्रकरणमा ५० जना प्रतिवादी, साढे ३ अर्ब बढि विगो माग दाबी
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने भएको छ ।
बुधवार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो प्रकरणमा अमला रोक्कासहित ५० जनालाई प्रतिवादी बनाएर ६१ किलो सुन प्रकरणको प्रतिवेदन वकिल कार्यालयमा बुझाउन लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीहरु मध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताए । उनले फरार मध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका उल्लेख गरे । उनले सबैजनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन लागेको बताए ।
उनले अनुसन्धानका क्रममा तस्करहरुले सिनामंगलबाट फेला परेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको बताए । उनले योजनावद्ध विदेशी संलग्न भएर तस्करी भएको देखिएको बताए । उनले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने बताए । उनले आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजान लागिएको बताए । उनले सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान नसकिएको बताए । प्रमुख बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको बताए । उनले पक्राउ परेकाबिरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरिएको बताए ।
सिआइबीले पक्राउ परेको चाइनीज समूहले पाँच वटा कम्पनीहरु खडा गरेर अन्य सुनहरु ल्याएको देखिएको जनाएको छ । नेपाली नागरिकता बनाउने विदेशी नागरिकहरुको विषयमा थप अनुसन्धान गरिने प्रमुख बजाचार्यले बताए । उनले सुनको रकम भुक्तानी डिजिटल रुपमा गरेको देखिएको पनि बताए । सिआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अवलम्वन भएको बताएको छ । फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको सिआइबीले बताएको हो । सुन तस्करीमा चिनियाँ नागरिकहरुको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ । चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सीआइबीले बताएको छ ।
अनुसन्धानका क्रममा ६ वटा कम्पनीमार्फत सुन ल्याएको देखिएको छ । हङकङबाट आएको सुन लाजिम्पाट र टोखामा गाल्ने गरेका पनि सिआइबीले जनाएको छ । सुन ल्याउनेदेखि व्यवस्थापन गर्नका लागि तस्करहरुले दुईवटा समूह बनाएको देखिएको छ । हर्कराज राईले भन्सारमा आएको सामान गोदाममा पुराउने गरेका अनुसन्धानका क्रममा खुलेको छ । युप्टिङ छिरिङले कम्पनी खोल्ने र हर्कराजले कम्पनी खोल्न गरिब नेपाली खोजेर दर्ता गर्ने गरेको देखिएको छ ।
७.संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्छः झलनाथ खनाल
नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताएका छन ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने आशंका व्यक्त गरेका हुन । उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताए । सरकारकै घटक दल नेपाली काँग्रेस समाजवादी मोर्चालाई लिएर सशंकित रहेको समयमा उनले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे । यसका साथै सम्पूर्ण वामपन्थी शक्तिहरु मोर्चामा आवद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चावद्ध हुन सम्भव नरहेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको बताउँदै सरकारले गर्ने राम्रो वा नराम्रो कामले सरकारको भविष्य निर्धारण गर्ने बताए ।
८.एसईई हट्यो, बोर्डको परीक्षा १२ कक्षामा मात्रै
सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो ।
सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ । प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ ।
आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र सम्बन्धित शिक्षा कार्यालयले र ऐच्छिक विषयको प्रश्नपत्र स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रहेर निर्माण गर्नु पर्ने प्रस्ताव गरेको छ ।
यसैगरी संसद्मा दर्ता गरिएको शिक्षा ऐन संशोधन विधेयक अनुसार अब माध्यामिक तहमा अध्यापन गराउने शिक्षकले अनिवार्य रुपमा स्नातकोत्तर गरेको हुनुपर्ने छ ।
यस्तै शिक्षकको सरुवा पनि स्थानीय तह अन्तर्गतका एउटा विद्यालयबाट अर्को विद्यालयमा गर्न सकिने दर्ता गरिएको शिक्षा ऐन संशोधन विधेयकमा छ ।
९. वडा अध्यक्षको तलब-भत्ताबाट विद्यार्थीलाई 'ड्रेस'
देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ११ ले स्थानीय सुकुन्धरादेवी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक (ड्रेस) वितरण गरेको छ । वडा अध्यक्ष दुधनाथ यादवले आफ्नो तलब भत्ताबाट प्राप्त रकमले ७१ जना विद्यार्थीहरुलाई ड्रेस वितरण गरेको बताए ।
बुधबार विद्यालयमै पुगेर पोशाक वितरण गरेका अध्यक्ष यादवले शिक्षा सामाजिक विकासको सबैभन्दा महत्वपुर्ण क्षेत्र रहेकोले पढाईमा विद्यार्थीलाई थप प्रोत्साहन मिलोस भनेर आअफ़ुले सक्ने सहयोग गरेको बताए । 'मेरो एक महिनाको मासिक तलब र भत्ताले किनेको कपडाबाट विद्यालयका विद्यार्थीलाई वर्षभरि लगाउन कपडा आउछ भने किन विद्यार्थीलाई सहयोग नगर्ने, आखिर मलाई भोट दिएर जिताउने यिनै विद्यार्थीका अभिभावक नै त हुन्' उनले भने, 'वडा कार्यालय पनि विद्यार्थीको अभिभावक हो र आवश्यक पर्दा सहयोग गर्छ भन्ने कुराको प्रत्याभूति गराउन पनि सहयोग गरेको हुँ।'
वडा अध्यक्ष यादवले विद्यार्थीलाई झोला पनि वितरण गर्ने जनाएका छन्। सेतोमसीसंग कुरा गर्दै उनले पोशाक जस्तै विद्यार्थीलाई झोला पनि आवश्यक पर्ने हुनाले आगामी तलब भत्ताबाट विद्यार्थीलाई झोला पनि उपलब्ध गराउने बताए ।
वडाभित्र तीन वटा आधारभुत विद्यालय रहेकोमा यस अघि नै उनले जनता आधारभूत विद्यालयमा अध्ययनरत दुई सय ९० जना विद्यार्थी र शंकर आधारभूत विद्यालयमा अध्ययनरत तीन सय सात जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसकेको बताएका छन्।
शिक्षा क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउने अध्यक्ष यादवले सुकुन्धरा देवी विद्यालयमा निजि श्रोतमा अध्ययापनरत शिक्षकको तलब समेत वृद्धि गराउन पहल गरिरहेको बताए ।
वडा अध्यक्षले पोशाक वितरण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गुप्ताले स्थानिय सरकारका यस्ता कार्यक्रमले विद्यार्थीलाई पढ्न र अभिभावकलाई पनि बच्चा पढाउन प्रोत्साहन गर्ने बताए । यस प्रकारका कार्यक्रमहरू नगरपालिकाले पनि ल्याउनुपर्ने उनको भनाई छ ।
१०.तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि
तनहुँमा ७ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका ७ सय ३२ मा डेंगु संक्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिकामा कार्यरत इञ्जिनियर कमलप्रसाद शर्माको डेंगुबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
उनले डेंगु परीक्षणका लागि दमौली अस्पतालमा किट पर्याप्त मात्रामा रहेको जानकारी दिँदै संकमणबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
प्रमुख अधिकारीका अनुसार गतवर्ष जिल्लामा डेंगु संक्रमित हुनेको संख्या एक सय भन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले यसबाट जोगिनु नै डेंगुबाट जोगिने उपयुक्त उपाय भएको उनको भनाइ थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology