रेशम अधिकारी, काठमाडौं । मौसम विश्लेषणका आधारमा जल तथा मौसम विभागले आगामी ३ दिनसम्म वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकोले तुवाँलोको अवस्थामा तत्काल सुधार नहुने जनाएको छ ।
मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।

देशका अधिकांश जिल्लाका स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका काठमाडौँ लगायतका सहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ ।
तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन सबैमा अुनरोध गरेको छ।
विभागले मौसम सम्बन्धी सूचना दैनिक रुपमा आफ्नो वेबसाईटमा राख्ने गरको समेत बिज्ञप्तिमा जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology