पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले विरुद्ध बनेको समाजवादी मोर्चालाई पराजित गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको समापन समारोहमा शुक्रबार बोल्दै उनले समाजवादी मोर्चा औचित्यहिन भएको दावी गरें ।
‘वामपन्थी नामको समाजवादी मोर्चा एमाले विरोधी मोर्चा हो, त्यो मोर्चालाई पराजित गर्नुपर्छ, मोर्चा औचित्यहिन छ, यसको कुनै अर्थ छैन भन्ने कुरा देखाउनु पर्नेछ’ उनले भने ।
एमाले कमजोर भयो भने स्वाधिनताको आन्दोलन अधुरो हुने भएकोले त्यसलाई पुरा गर्न बलियो हुनुपर्ने बताएका उनले पार्टी भित्रको आन्तरिक प्रतिष्पर्धाले पार्टीलाई थप सुदृढ बनाउने तर्क गरें ।
‘हाम्रो पार्टीपंक्ति भित्र दुईवटा गलत कुराहरु छ, एउटा चुनाव भएपछि पार्टी फुटिहाल्छ भन्ने धारणा, अर्को मनोनित गरेपछि पार्टी निरकुंश हुन्छ भन्ने धारणा, यो दूईवटै कुरा गलत हो, समय सापेक्ष परिस्थिति अनुसार चुनावी विधि प्रक्रियालाई सिर्जनात्मक ढंगले प्रयोग गर्दा पार्टी बलियो हुन्छ’ उनले भने । प्रदेश अधिवेशनमा भएको निर्वाचनले अन्य पार्टीबाट प्रवेश गरेका सबैलाई सम्मान गरेको दावी समेत उपमहासचिव गुरुङले गरें । ‘निर्वाचनले एमाले सम्पूर्ण देशभक्त बामपन्थी प्रगतिशिल शक्तिहरुको साझा संगठन हो भन्ने स्थापित गरेको छ, हामीले आफ्नो सिद्धान्त छोड्नुहुँदैन, पार्टी लोकप्रियताको शिखरमा पूग्ने एउटा मूख्य कारण प्रतिष्पर्धामा विश्वास गर्ने भएकोले हो’ गुरुङको दावी थियो ।
हरेक चुनौती भित्र अवसर छ भन्ने बुझ्ने भएकै कारण एमालेले सारेको मिसन ८४ को लक्ष्य पुरा हुने विश्वास उनले गरें । ‘हाम्रो सामु चुनौती छ, मिसन ८४ को लागि सक्षम पार्टी बन्नुपर्ने, व्यापक जनताको सर्मथन प्राप्त पार्टी बन्नुपर्ने, त्यसैले पार्टीको सबै आन्तरिक जीवनलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्नेछ’ उनले थपे ।
सबै कमिटीलाई व्यवस्थित गरेर मिसन ग्रासरुटबाट देखिएका कमजोरी सुधार गर्दै जानको लागि वार्षिक योजना बनाएर अगाडि बढेको उनले खुलाए
एमाले सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले गण्डकी प्रदेशमा शिर्ष नेताको बिचमा अन्तरविरोध छ भनेर प्रचार गर्ने प्रवृत्तिलाई हतोत्साहित गर्नुपर्ने बताए ।
‘अलिकति अन्तर विरोध छ, मनमुटाव छ भनेर प्रचार गर्न चाहने अभिरुचि राख्ने विभिन्न फ्याक्टरहरु होलान् तर हामीले अन्तरविरोध छ भनेर गर्ने प्रवृत्तिलाई हतोत्साहित गर्नुपर्नेछ, केही ग्याप भए त्यसलाई सेतुको रुपमा जोड्नुपर्नेछ’ उनले भने । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा व्यवस्थित ढंगले अधिवेशन सम्पन्न भएको उनले दावी गरें ।
एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमालेमा जस्तो उन्नत लोकतन्त्र अन्य पार्टीमा नभएको बताए । पार्टी भित्रका कमजोर पक्षलाई हटाउदै सबैलाई समेटेर अगाडि बढ्दा आइपरेका चुनौती सामना गर्न सहज हुने उनले बताए ।
‘हामी विशाल क्षमताका साथ सम्पूर्ण चुनौतीको सामना गर्दै अगाडि बढ्ने सार्मथ्य राख्दछौं, त्यसका लागि हामी सक्षम र सबल हुनुपर्नेछ, हामीले केही कमजोरी गरेका छौं भने त्यसलाई हटाउदै फराकिलो चिन्तनका साथ सबैलाई समेटेर सक्षम पार्टी बनाउनुपर्छ ।’ उनले भने ।
नवनिर्वाचित अध्यक्ष नवराज शर्माले आफ्नो ४ वर्षे कार्यकालमा गण्डकी प्रदेशमा पार्टीको सान थप माथि उठाउने प्रतिवद्धता जनाए । गण्डकी प्रदेशमा एकल बहुमतको सरकार बन्ने अवस्था निर्माण गर्ने सपना देखेको भन्दै सबैको साथमा त्यो पुरा हुने विश्वास गरें । कार्यकालको समिक्षा ४ वर्ष पछि गर्न उनको आग्रह थियो ।
नेताको व्यवहारका कारण जनताले श्रद्धा कम गर्न थालेका हुन् की भन्ने मनमा प्रश्न जाग्ने गरेको भन्दै नेताहरुपनि सुध्रिनपर्ने बताए । शर्माले गण्डकीको सबै चौरमा एमालेरुपी दुवो लहराउने वातावरण बनाउने बताए ।
‘स्थानीय निर्वाचनको साख जोगाउन नसकेपनि आगामी दिनमा हिजो हामीले रोपेको त्यो दुवो आगामी निर्वाचनमा पुग्दा गण्डकीको सबै चौरमा लहराउने बनाउनुपर्छ’ उनले भने ।
अध्यक्षका प्रत्यासी मायानाथ अधिकारीले नवनिर्वाचित अध्यक्ष नवराज शर्माको टीमलाई सफल बनाउन आफ्नोतर्फबाट सदैव साथ रहने बताए । मिसन २०८४ लाई पुरा गर्न सबै लाग्नुपर्नेमा समेत उनको जोड थियो । ‘मिसन २०८४ लाई सफल बनाउनुपर्छ, एमालेको एकल बहुमत कायम हुनेगरी अगाडि बढ्नुपर्छ’ उनले भने ।
मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले निर्वाचन सम्पन्न गर्न सघाउने सबैप्रति आभार प्रकट गरें । उनले नव निर्वाचित अध्यक्ष नवराज शर्मालाई सपथ समेत खुवाए । बाँकी निर्वाचित पदाधिकारी र सदस्यको सपथ कार्यक्रम एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमको आयोजना गरेर गर्ने एमाले गण्डकीले जनाएको छ ।
पोखरामा आयोजित नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बिहीबार भएको निर्वाचन मार्फत नवराज शर्माको अध्यक्षतामा १ सय ६२ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology