देवदह । शिक्षालाई सीप संग जोडेर लैजान आवश्यक रहेको देवदह नगरपालिका प्रमुख धुरवप्रसाद खरेलले बताएका छन । उनले शिक्षाको विकासले मात्र समाज परिवर्तन गर्न सकिने भएकोले नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताए । केरवानी माध्यमिक विद्यालय देवदह-५, को ७० औं बार्षिकोत्सव, अभिभावक दिवस तथा प्रगति केन्द्रमा निर्माण गरिएको मन्टेश्वरी भवन उद्घाटन गर्दै उनले उक्त कुरा बताए ।
नगर प्रमुख खरेलले देवदहलाई शैक्षिक हवको रुपमा विकास गर्ने गरी नगरपालिका लागि रहेको दावी गरे । उनले गुणस्तर र प्रविधिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन हुने बताउँदै त्यसको लागि सबै एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिए । उनले शैक्षिक क्षेत्रमा केरवानी माविको भूमिका महत्वपूर्ण रहेको बताउदै शिक्षाको नेतृत्व यसै विद्यालयले गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले अहिलेको शिक्षा प्राणालीमा केही सुधार गर्न आवश्यक रहेको बताए। उनले सामुदायिक शिक्षालाई बलियो बनाउने गरी विद्यालयहरु लाग्न आग्रह गरे। शिक्षाको विकासको लागि नगरपालिका लागिरहेको बताउँदै त्यसको लागि विद्यालय व्यवस्थापन समितिले चासो दिनु पर्नेमा जोड दिए ।
केरवानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष शुसिला भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर शिक्षा अधिकारी टिकाराम शर्मा, देवदह आदर्श बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, महामाया भवानी माध्यमिक विद्यालयका ऋषिश्वर अर्याल लगायतले आ-आफना भनाई राखेका थिए ।
कार्यक्रममा केरवानी माध्यमिक विद्यालयको बर्ष शिक्षकको रुपमा सञ्जयकुमार शुक्लालाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा अवकास प्राप्त पूर्व शिक्षकहरु, प्रथम राष्ट्रपति कप प्रतियोगितामा द्धितिय हुने खेलाडीलाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा कार्यक्रमका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले शैक्षिक प्रतिवेदन, अध्यक्ष भट्टराईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका सहायक प्रथानाध्यापक कमल ज्ञवालीको स्वागत र शिक्षक प्रतिनिधि यज्ञप्रसाद अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology