देवदह । रूपन्देहीको देवदहमा वृक्षरोपण गरिएको छ । बिहिबार 'वृक्षरोपण अभियान नेपाल'को संयोजनमा पालिकाको वडा नं ११ शान्तिटोलमा १०५ वटा कपुरका विरुवा रोपिएको हो ।
वृक्षरोपण कार्यक्रममा बोल्दै देवदह नगरपालिका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले गाउँसमाज हरियाली बनाउने कार्यलाई नगरपालिकाले सहयोग गर्ने बताइन् ।
विगत तीन वर्षदेखि चरणबद्ध रुपमा उजाडीदै गएको गाउँ, सहर, सडक किनारा, पाखा, पखेरा र सार्वजनिक स्थलहरूलाई हरिलो, भरिलो, शीतल र सुन्दरीकरण गर्न वृक्षरोपण गरिएको जनाईएको छ ।
कार्यक्रममा बोल्दै अभियानका सचिव असीम श्रेष्ठले बिरुवा लगाउनु, फोटो खिच्न मात्र नभएर बिरुवालाई मेहनत गरी मल-पानी र संरक्षण गरेर हुर्काउनु मुख्य कार्य भएको बताए । उनले धार्मिक स्थलहरुमा पूजा गर्नु भन्दा वृक्षरोपण गरी हुर्काउने काम गर्नु हजार गुणा पुण्यको काम भएको बताउँदै आधुनिकता नाममा भोज, भतेर, पार्टी मा अनावस्यक खर्च गर्नुभन्दा कुनै उत्सव अवसरहरुमा वृक्षरोपण गर्न चाहेमा यस अभियानले समन्वय गर्ने बताए ।
सडक किनारको लागि सौन्दर्यको लागि देवदह नगरपालिकाले विनियोजन गरेको दुई लाख बजेटबाट वृक्षरोपण गरिएको अभियानका संयोजक ज्ञानप्रसाद न्यौपानेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology