काठमाडौं । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवयेर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवयेरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताए ।
सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिइ सामाजिक आर्थिक रुपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोवल सूचना प्रविधि हबको रुपमा विकास गरिने राष्ट्रपतिले बताए ।
उनले भने,‘सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रुपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रुपमा विकास गरिनेछ । काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरुमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने छ ।’
सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ । अर्बौँ ऋण लगानीमा ठूला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने घोषणा गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology