देवदह । रुपन्देहीको देवदहस्थित खयरडाडाँमा प्राचीन कौडा भेटिएका छन् । प्राचीन कोलिय गणराज्यको राजधानीको मुख्य दरबार रहेको क्षेत्र भनि दावी गरिएको सो स्थानमा उत्खननको क्रममा प्राचिन कौडा भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले सेतोमसीलाई बताए ।
प्राचीन इट्टा र केही दिन अघिमात्र ५ मिटर गहिरो इनार भेटिएको खयरडाडाँमा शनिबार इनारभित्र कौडा भेटिएको हो । भेटिएका कौडा कतिको संख्यामा छन् भनेर गन्ने काम बाँकी रहेपनि उल्लेख्य मात्रामा कौडा भेटिएको उत्खननको नेतृत्व गरिरहेका उप्रेतीले जानकारी दिए ।
गतवर्ष देखि उत्खनन कार्य सुरु भएको सो क्षेत्रमा यो बर्ष थप भग्नावषेशहरु भेटिएको र उत्खननको क्रममा ३३ सेमि लम्बाई, २० सेमि चौडाई र ४ सेमि मोटाई रहको प्राचिन सिंङ्गा ईट्टाहरु समेत फेला परेको उप्रेतीले बताए । ‘गत वर्ष इनारको २ मिटर चौडाईसहितको आकार मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस (तल्लो भाग) सम्म पुग्नेगरि उत्खनन कार्य गरिरहँदा इनारको पूर्ण आकार भेटिएको छ, र इनारभित्र प्राचीन कौडा भेटिएका छन् ’ उप्रेतीले भने ।
उत्खननमा प्राप्त कौडालाई कार्बन डेटिङको लागि पठाएपछि मात्र यो कतिबर्ष पुरानो हो भन्ने यकिन हुने पुरातत्वविदले जनाएका छन् ।

देवदहबासीहरुले बुद्धको मावली दरबार दाबी गर्दै आएको खयरडाँडा क्षेत्रलाई छिट्टै उत्खनन गरेर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्राचीन कोलिय राज्य अन्तर्गतका बिभिन्न क्षेत्रहरुमा जस्तै खायरडाँडामा पनि अझै ५ बर्ष उत्खननलाई निरन्तरता दिनुपर्ने पुरातत्व अधिकृत उप्रेतीले बताए । उनले खयरडाँडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई सङ्कलन गरि यसलाई पुरातात्विक गन्तब्यको रुपमा विकास गर्नुपर्ने औंल्याए ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष र पुरातत्व विभागले जेठ १२ गतेदेखि खयरडाडाँमा उत्खनन कार्य जारी छ ।
देवदह नगरपाकिकाको १० लाख रुपैंया बजेटबाट सुरु गरिएको उत्खनन कार्य अझै एक महिना जारी रहने खयरडाँडा संरक्षण समितिका अध्यक्ष जीवलाल रेग्मीले बताए । उत्खनन कार्यका लागि वरिष्ठ पुरातत्व अधिकृत प्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अख्तर हुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology