काठमाडौं– नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।
सोमबार दिउँसो पदभार ग्रहण गरेपछि उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् ।
‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरूको बीचमा छौँ । हाम्रा पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ,’ उनले भनिन्, ‘यो इतिहास हामीले अब आउने पिँढीका लागि कायम राख्नुपर्छ। यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो । ‘यो ठूलो सेना भएको देश पनि होइन, हामी पञ्चशीलमा विश्वास गर्ने देश हौं ।’
राणाले सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्ने बताइन् । ‘देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्न सक्छ। विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ। यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ,’ उनले भनिन् ।
यस्तै परराष्ट्रमन्त्री राणाले हमास आक्रमणमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology