Logo

२०८३, श्रावण ३०गते


images
images

मर्दी हिमाल पदयात्रामा जाने पर्यटकलाई फोहोर जथाभावी फ्याँक्न बन्देज

मर्दी हिमाल पदयात्रामा जाने पर्यटकलाई फोहोर जथाभावी फ्याँक्न बन्देज

images
  • मर्दी हिमाल पदयात्रामा जाने पर्यटकलाई फोहोर जथाभावी फ्याँक्न बन्देज
    images
    images

    राजेश पराजुली,  पोखरा । मर्दी हिमाल पदयात्रामा जाने पर्यटकलाई फोहोर जथाभावी फ्याँक्न बन्देज लगाइएको छ । पदयात्रामा पुगेका पदयात्रीले आफूले लगेको फोहोर आफैंले फिर्ता ल्याउने बाध्यकारी नियम लागू गर्न लागिएको हो ।

    images
    images
    images

    यो नियम असोज १ गतेदेखि लागू हुनेछ । पर्यटकले मात्रै नभएर त्यहाँका पर्यटन व्यवसायीले पनि जथभावी फोहोर गर्न पाउने छैनन् ।

    images
    images
    images

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मर्दी हिमाल पर्यटन व्यवस्थापन समिति लगायत सरोकारवाला निकाय मिलेर पदमार्ग क्षेत्रमा फोहोर कम गर्न आफूले गरेको फोहोर आफैंले व्यवस्थापन गर्ने नियम बनाइएको हो ।

    images
    images
    images

    पर्यटकले लैजाने जंक फुड, चक्लेटका खोल र पेय पदार्थका बोत्तल जथाभावी फालेर फोहोर भएपछि व्यवस्थित गर्नलाई नियम बनाएको मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले बताए । ‘कुहिने फोहोरलाई माथि नै व्यवस्थापन गर्ने नकुहिने फोहोर सिसा र प्लाष्टिकजन्य वस्तुहरु आफैैंले फिर्ता लैजाने निर्णय भएको छ’, उनले सुनाए ।

    पदमार्गका विभिन्न स्थानमा पर्यटक राख्न होटल सञ्चालन गरिरहेका व्यवासायीले पनि सिसा र प्लाष्टिकजन्य फोहोर मोटरबाटो (सिदिङ) सम्म झार्नुपर्ने उनको भनाइ छ । व्यवसायीले सिदिङ झारेको फोहोर एक्यापसँगको सहकार्यमा व्यवस्थापन हुनेछ । एक्यापले पोखराको ग्रिन भेन्चर संस्थासँग मर्दी हिमाल पदमार्गका व्यवसायीले संकलन गरेको फोहोर पुर्नप्रयोगका गर्ने सम्झौता गरिसकेको जनाइएको छ ।

    आफूले लगेको फोहोर फिर्ता ल्याउनलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को चेकपोस्टबाट सचेतनामूलक स्टिकर पर्यटकलाई वितरण गर्ने तामाङले जानकारी दिए ।

    अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतमले अत्याधिक फोहोर बढेकाले व्यवस्थापन गर्न लागेको उल्लेख गरे । उनका अनुसार नेपाली पदयात्रीको चाप बढेसँगै पदमार्ग वरपरका क्षेत्रमा फोहोरमैला बढिरहेको छ । विदेशीको तुलनामा नेपाली पर्यटकले आफूले गरेको फोहोर व्यवस्थापनमा ध्यानै नदिने उनको भनाइ छ ।

    सन् २००० ताका क्यापिङका लागि छिटफुट विदेशी मात्रै मर्दी पदयात्रामा उक्लन्थे । बर्खाको बेला सिदिङतिरबाट भैंसी र भेडा लिएर चरनका लागि उक्लिएकाहरु चिसो बढ्दा बेसी ओर्लन्थे ।

    सशस्त्र जनयुद्धको प्रभावले क्यापिङ गर्न विदेशी आउनै छाडे । विस्तृत शान्ति सम्झौतापछि थालिएको प्रबद्र्धनले विदेशी पर्यटकलाई तान्यो । कोरोना कहरपछि उकुसमुकुस नेपाली पनि पदयात्रामा उक्लने ट्रेन्ड बढ्यो । त्यसपछिका वर्ष मर्दी हिमालको आधार शिविरसम्म पुग्ने नेपाली पदयात्री विदेशीको तुलनामा निकै बढी छन् ।

    वार्षिक २० हजारसम्म नेपाली पर्यटक मर्दीको उकालो चढिरहेका छन् । तर, उनीहरुको संख्यासँगै फोहोरको मात्रासमेत बढिरहेको छ । हिमाली क्षेत्रलाई सफा राख्न नेपाली पर्यटकले आनीबानी परिवर्तन गर्नुपर्ने देखिन्छ ।

    वातावरणीय हिसाबले सफा राख्न आवश्यक भएकाले स्थानीय पर्यटन व्यवसायीसँग मिलेर फोहोर व्यवस्थापनको सुरुवात गरेको अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय ल्वाङका प्रमुख गौतम बताउँछन् । उनी भन्छन्, ‘पदायात्रीको संख्या राम्रो भएपनि फोहोर बढ्यो भनेर गुनासो हामीकहाँ आउने गरेको हो । त्यसैले संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउन लागेका छौं ।’ पदमार्ग सफा हुँदा पर्यटकको आकर्षण झनै बढ्ने उनको विश्वास छ ।

    हिमाल आसपासका क्षेत्रमा संकलन भएका फोहोर जलाउँदा जलवायु परिवर्तनको असर खेपिरहेका हिमाललाई झनै प्रभाव पारिरहेको उनले बताए । नियम नमान्नेलाई कारबाही गर्ने जिम्मा मर्दी हिमाल पर्यटन व्यवसायी समितिलाई नै दिएको प्रमुख गौतमले जानकारी दिए ।

    दशैं तिहारको बेलादेखि पर्यटक उक्लने मर्दी बर्खा नलागुन्जेल गुल्जार हुन्छ । पोखराबाट हिमाललाई स्पर्श गर्न आधार शिविरसम्म पुग्ने छोटो दुरीमा भएकै कारण मर्दी पदमार्ग पदयात्रीले निकै रुचाइरहेका छन् ।

    पोखराबाट हिँडेको तेस्रो दिनमै ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी हिमालको आधार शिविरमा पुगेर हिमालसँग सामिप्य गाँसेर फर्कन सकिन्छ ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ मा पर्ने मर्दी हिमाल पदयात्रामा ३ हजार ५५० मिटरको उचाइमा रहेको भ्यूपोइन्टबाट रोमाञ्चक दृश्यपान गर्न स्वदेशी र विदेशी पाहुनाको ताँती लाग्ने गर्छ । त्यहाँबाट माछापुच्छ्र्रे, मर्दी, गंगापूर्ण, गन्धर्वचूलीलगायत हिमालका लस्कर छ्यांगै खुलेर घामको किरणले स्पर्शको गरेको दृश्यले आकर्षित गर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।