Logo

२०८३, श्रावण ३०गते


images
images

परिवेश

दलको दास होइन, देशको आस बन युवा

दलको दास होइन, देशको आस बन युवा

images
  • दलको दास होइन, देशको आस बन युवा
    images
    images

    देशका हरेक राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलनमा युवा शक्तिको सहयोग र सक्रिय सहभागिताले सम्भव भएको हो । विशेष गरि १६ देखि ४० वर्ष उमेर समूहका युवाले गरेको योगदान र बलिदानलाई हाम्रो देशको सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा महत्वपूर्ण मानिन्छ । नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरु जस्तै बहुदलीय व्यवस्थाका निम्ति २०४६ सालको आन्दोलन, लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि २०६२÷०६३ सालमा गरिएको आन्दोलन लगाएत अन्य सामाजिक आन्दोलनहरुमा युवाको भुमिका  महत्वपूर्ण  रहँदै आएको छ । युवाहरु आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक  परिवर्तनका लागि अग्रगामी एवम् विशिष्ट शक्ति हुन् । अत्यन्त साहासिक, सृजनशिल र उच्च मनोबलका साथ हरेक क्षेत्रमा नेतृत्व गर्दै अगाडी देखापर्ने युवा शक्ति राष्ट्र निर्माणको प्रमुख आधार हुन् ।

    images
    images
    images

    युवाशक्तिलाई देशको पुर्वाधार विकास, कृषी, पर्यटन एवम् सूचना प्रविधिमा एकताबद्ध गर्दै उनीहरुसङ्ग भएको सीप तथा सृजनशिलतालाई उचित प्रयोग गर्नसके देशलाई समृद्ध एवम् विकसित बनाउन सकिन्छ । राज्यले विशेष किसिमका तालिम तथा कार्यक्रमहरु मार्फत युवा शक्तिलाई परिचालन गर्ने, शशक्त एवम् सक्रिय बनाउन सके देश परिवर्तन गर्न सकिने कुरामा कसैको दुइमत रहदैन । 

    images
    images
    images


    युवा शक्तिलाई राजनीतिक दलले विभिन्न नाम दिएर भातृ संघसंगठनको सदस्यको रुपमा प्रयोग गर्दै आइरहेका छन् । सरकारमा हुँदा होस वा विपक्षीमा रहँदा, दलहरुले यिनै युवालाइ प्रयोग गरेको देखिन्छ । समग्र देश विकासको मेरुदण्ड मानिने युवालाइ राजनीतिक दलले यसरी विभाजित गरेको छ कि विचार, सिद्धान्त अनि पद्धति भन्दा बाहिर गएर हदै सम्मको कार्य गर्न गराउन प्रेरित गरिएका थुप्रै उदाहरणहरु पाइन्छन् । श्रम र उत्पादनसङ्ग जोडिनुपर्ने युवा फगत हल्ला र उच्छृङ्खल गतिविधिमा जोडिन थालेको देखिन्छ । केही त्यस्ता अराजनीतिक युवाहरुको कारणले राजनीतिमा इमान्दारीताका साथ लागेका केही युवाहरुमा निराशा छाउन थालेको छ । 

    images
    images
    images

    यस्तो विशिस्ट युवा शक्तिलाई राजनीतिक दलले विभिन्न नाम दिएर भातृ संघसंगठनको सदस्यको रुपमा प्रयोग गर्दै आइरहेका छन् । सरकारमा हुँदा होस वा विपक्षीमा रहँदा, दलहरुले यिनै युवालाइ प्रयोग गरेको देखिन्छ । समग्र देश विकासको मेरुदण्ड मानिने युवालाइ राजनीतिक दलले यसरी विभाजित गरेको छ कि विचार, सिद्धान्त अनि पद्धति भन्दा बाहिर गएर हदै सम्मको कार्य गर्न गराउन प्रेरित गरिएका थुप्रै उदाहरणहरु पाइन्छन् । श्रम र उत्पादनसङ्ग जोडिनुपर्ने युवा फगत हल्ला र उच्छृङ्खल गतिविधिमा जोडिन थालेको देखिन्छ । केही त्यस्ता अराजनीतिक युवाहरुको कारणले राजनीतिमा इमान्दारीताका साथ लागेका केही युवाहरुमा निराशा छाउन थालेको छ ।

    देश विकासमा महत्वपूर्ण भुमिका खेल्न सक्ने अधिकांश युवाहरु पछिल्लो समय निराश हुँदै गएको देख्न सकिन्छ । देशमा बसेर अध्ययन अनुसन्धान गर्ने, पेशा व्यवसाय वा उद्यम गर्ने, राजनीतिक एवं सामाजिक रुपमा सहभागी हुने युवाहरुको संख्या कम हुँदै गएको छ । १२ कक्षा सकेपछी देशमा स्नातक अध्ययन गर्न खोज्ने युवा विद्यार्थीको संख्या घट्न थालेको छ । स्नातक तह अध्यापन गराउने क्याम्पसहरुमा आवश्यक विद्यार्थी संख्या अपुग हुने अवस्था  विद्यामान छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत एउटा सरकारी क्याम्पसमा एक सय ४४ विद्यार्थीको को सिट पूरा गर्न दशौं पटक सूचना जारी गर्नु परेको स्थिति छ । सिटिइभिटी अन्तर्गतका डिप्लोमा कक्षाहरु खाली भएर बन्द भएका थुप्रै उदाहरण छन् । सङ्गै शिक्षा, ब्यवस्थापन, मानविकी सङ्काय अध्यापन हुने कतिपय क्याम्पसहरु बन्द हुने वा मर्ज हुने अवस्था सृजना भएको छ । यस्तो अवस्था किन आयो होला ? यसबारे गम्भिर भएर सोँच्नुपर्ने बेला भएको छ ।

    हाम्रो वरिपरि रहेका प्रायः सरकारी वा निजी क्याम्पसमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संघ संगठनहरु छन् । उनीहरुले लाखौंको संख्यामा सदस्य भएका सम्बन्धित दलको बिचार अनुसारका गतिविधिहरु सञ्चालन गरिरहेका छन् । विभिन्न समयमा विद्यार्थी संगठनका निर्वाचन पनि हुन्छन्, सोही अनुरुप नेतृत्व पनि परिवर्तन हुन्छन् । सङ्गै हरेक पालिका तथा वडामा युवाको पनि त्यसै प्रकृतिका संघसंगठनहरु छन्, तिनीहरुले पनि आफ्ना गतिविधिहरु गरिरहेका छन् । राजनीतिक दलले आफू निकट युवा तथा विद्यार्थीका संघसंगठनलाई आफू अनुकुल प्रयोग गरिरहेका छन् ।

    आफुले गतिविधि गरिरहेको क्याम्पसमा वा टोल छिमेकमा यसरी युवा विद्यार्थीहरु घट्दै जानु, आफू सङ्गैका साथीहरु निरास भएर विदेश पलायन हुनुलाइ नेतृत्वमा पुगेका युवा तथा विद्यार्थी नेताहरुले स्वभाविक रुपमा लिएका छन् त ? विशेषगरी अहिले युवा तहमा नेतृत्व गरिरहेका पंक्तिले यस्तो किन भैरहेको छ ? यसबारे सोंच्न जरुरी छ । त्यसैले अव बौद्धिक जनशक्ति पलाएनको बिषयमा गम्भीर बहस चलाउन जरुरी देखिन्छ । गाउँ टोल क्षेत्र अनि समग्र देशभित्र हुने गतिविधिलाई हाम्रो राजनीतिले प्रभाव पारेको हुन्छ ।

    युवा विद्यार्थी कुनै न कुनै दलमा आस्था राख्ने सदस्यता लिने भएकाले युवा विद्यार्थीमा एकजुट भएर काम गर्नसक्ने अवस्था रहँदैन भने आफ्नो दलको कुनैपनि सहि वा गलत गतिविधिको विरोध गर्न नसक्ने हँुदा राजनीतिक दल तथा तिनका नेताको गलत चरित्र र प्रवृत्तिले पछिल्लो समय युवाहरुमा देश र देशको राजनीतिक आर्थिक अवस्थाप्रति वितृष्णा पैदा भएको बुझ्न सकिन्छ ।

    देशभित्र व्याप्त समस्याहरु जस्तै पुर्वाधार निर्माणमा चरम लापरबाही, ढिलासुस्ती, सरकारी कार्यलयमा कुनै काम समयमा सम्पादन हुन नसक्नु, झन्झटिलो पद्धति र प्रणाली, कमिसन र घुसखोरी, राजनैतिक आग्रह पुर्वाग्रह, निर्माण गरिएका संरचना अलपत्र पारिनु जस्ता यावत समस्याहरू सम्बोधन नहुनु जस्ता समस्याहरु छरप्रस्ट छन् । पुल पुलेसा बाटाघाटा नबन्दा उत्पादन भएका बस्तु बजार सम्म पुग्न नसकेर बिग्रीएर जानु, महङ्गो स्वास्थ्य शुल्क स्वास्थ्यमा ब्यापारीकरण भएर गरिब जनता उपचार नपाएर मर्नुपर्ने वाध्यता, निजी अस्पतालको उपचार रकम तिर्न नसकेर आत्महत्या गर्न बाध्य हुनु, सरकारी क्याम्पसको गुणस्तर नहुनु, राजनीति मात्रै हुनु, निजि क्याम्पस अत्यन्तै महङ्गो हुनु, बैंक बित्तिय सस्थाले मनपरि ब्याजदर वृद्धि गरेर ब्यवसायीहरुलाइ आतङ्कित पार्नु, वित्तीय ज्ञान नभएकालाई  ऋण दिएर शोषण गर्नु आदि जस्ता जीवन मरण सङ्ग जोडिएका समस्या विद्यमान छन् । तर हामी कहाँ अस्तित्वमा रहेका युवा संघ संगठन चुइक्क बोल्न नसक्नु र तैं चुप मैं चुप भएर बस्नुलाइ कसरी बुझ्न सकिन्छ ?

    केही बर्ष पहिले पेट्रोलियम पदार्थमा एकदुई रुपैया बढ्दा ठुला बिरोध र आन्दोलन हुने गर्थे । त्यस्ता आन्दोलनका क्रममा युवा विद्यार्थीहरुले ज्यान गुमाएका उदाहरणहरु पनि छन् । जस्तो कि २०५९ सालमा मुल्यबृद्धिको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर बुटवलमा देविप्रसाद पौडेलले ज्यान गुमाएका थिए । आज दैनिक उपभोग्य समानको मूल्य अस्वभाविक रुपमा वृद्धि हुँदा पनि कहिँ बिरोध हुँदैन । के युवा जोस सेलाएको हो ? वा हाम्रो मनोविज्ञान दासी हुन पुगेको हो ।

    हाम्रो पार्टी नेताभन्दा बाहेक हामीले अरु देख्न छोडेको हो त ? नेतालाई देवत्वकरण गरेर हाम्रा समस्या समाधान हुन्छन् त ? तमाम सामाजिक रुपमा युवा नेता भन्दै हिड्नेहरुलाई खुल्ला प्रश्न गर्नुपर्ने बेला आएको छ । पटक–पटक राजनीतिक बेइमानी गरिदा, भ्रष्टाचार कालोबजारी गरिदा लुट मच्याइँदा, बलात्कारका घटनाहरु बाहिर आउँदा पनि सहन गर्न सक्ने क्षमता भएकालाइ युवा शक्ति कसरी भन्ने ?

    विद्यार्थी संगठनको नाममा पढ्दै गरेका विद्यार्थीहरुलाई राजनीति अनि पार्टीमा भित्राएर सदस्य बनाउन कसरी हिम्मत आउँछ होला ? अब  उनीहरुलाई के भनेर आशा जगाउने हो, त्यसबारे कसैले सोँचेको छ ? हाम्रो परिवर्तनकारी युवा शक्ति कुन र कस्तो लोभमा फस्यो सम्पुर्ण युवा जगतले सोँच्न जरुरी छ ।

    अब पनि हामीले युवाहरुलाई देशमै बसेर केही गर्न प्रेरित गर्न सक्दैनौं भने हामिले गरेको राजनीति के का लागि र कस्का लागि हो ? यो किन भयो र यो किन भएन यति प्रश्न आफ्ना नेतालाइ गर्ने हिम्मत राख्न सक्दैनौ भने हामी कस्तो शक्ति ? कस्तो युवा नेता ?

    एउटा युवा संसद भवन अगाडि पेट्रोल छर्केर आत्मदाह गर्दा ( प्रेम प्रसाद आचार्य इलाम बर्ष ३६) सारा दुनिया तमासे बनेर हेरिरह्यो । केही मान्छे दुई दिन चिच्याए अनि बिर्सिए । यही हविगत भोलि तपाइ हाम्रो नहोला भन्न सकिदैन । हामीले आवाज उठाउने कि नेता एयरपोर्ट आउदा माला बोकेर दौडिने ? आज बोलिएन भने आगामी पुस्ताले हामिलाई यसरी नै गाली गर्नेछ । यही इतिहास सधैभरी दोहोरिने छ । पुस्तौपुस्ता यसरी नै धुलोधुवा, गरिबी, अभाव र महङ्गीको भारिले च्यापिनेछ । कहिले नउठ्ने गरी ।
     

    अर्कोतर्फ एउटा युवा आफू जान्ने बुझ्ने भएपछि बुबा हजुरबुबाले आस्था राखेको पार्टीको झन्डा बोक्छ तर किन र के का लागि भन्नेसम्म पनि थाहा हुँदैन ।  केही बर्ष उफ्रन्छ चुनाबमा दौडिन्छ गर्न हुने नहुने सबै गर्छ । छिमेकीसंग पानी बाराबर गर्छ साथीभाईसंग झगडा गर्छ । चुनाब जितेपछि नेताका सबै गतिविधि, उनीहरुको चरित्र राजनीतिक मोलमोलाइ भागबण्डा हेर्छ, देख्छ । विभिन्न पदमा आफ्नालाइ मात्र नियुक्ति दिएको देख्छ केही मेसो पाउदैन, बिस्तारै वाक्क पर्छ, आजित पर्छ ।  न देशमा उद्यम, ब्यवसाय गर्न सक्छ न जागिर नै ? अनि देशको राष्ट्रिय झण्डा काँधमा झुण्डाएर बिदेश लाग्छ ।

    विदेश पुगेर अलिअलि पैसा कमाउन लागेपछि फेरी तिनै नेता र पार्टीको जयजयकार गर्न थाल्छ । विदेशबाटै सामाजिक सञ्जालमा बहस गर्छ आदर्श र सिद्धान्तका कुरा गर्छ । उसले भुल्छ, के कस्तो कारणले उसले आफ्नो देश आफ्नो माटो आफ्नो परिवार त्यागेर पराई देश पुगेको छ देश बस्ने आत्मबिश्वास गुमाएको छ । 

    कुनै युवा विदेश गएपछि आफ्नो देशको राजनीतिक आर्थिक सामाजिक बिषयमा बोल्न चिन्तन गर्न वा धारणा राख्न नपाइने भन्ने हुँदै होइन । त्यो उसको स्वतन्त्रताको विषय हो तर आफू आफ्नो परिवार माथि आफ्ना भाइ बहिनी माथि पटक पटक धोका भएपछि कम्तिमा सही गलत के हो भन्नेसम्मको हेक्का राख्नुपर्छ । एउटा मान्छे कतिपटक प्रधानमन्त्री भएपछि वा कतिपटक मन्त्री सांसद भएपछी, जनताले बाँच्नका लागि आवश्यक न्युनतम सुबिधा पाउने हो ?कहिले सरकारी संस्थाको सेवा सुबिधा सहज ढङ्गले उपभोग गर्न सक्छन् ? स्वतन्त्रतापुर्वक सहज तवरले यात्रा गर्न पाउँछन्, त्यो बिषय बोल्न पर्ने कि नपर्ने ? आफुले आस्था राखेको दलको प्रतिनिधि सङ्ग प्रश्न गर्ने कि नगर्ने ? आफ्नो मतको हिसाब माग्ने कि नमाग्ने ? बर्षौदेखि गरेको विश्वासघातको जवाफ माग्ने कि नमाग्ने ?

    एउटा युवा संसद भवन अगाडि पेट्रोल छर्केर आत्मदाह गर्दा ( प्रेम प्रसाद आचार्य इलाम बर्ष ३६) सारा दुनिया तमासे बनेर हेरिरह्यो । केही मान्छे दुई दिन चिच्याए अनि बिर्सिए । यही हविगत भोलि तपाइ हाम्रो नहोला भन्न सकिदैन । हामीले आवाज उठाउने कि नेता एयरपोर्ट आउदा माला बोकेर दौडिने ? आज बोलिएन भने आगामी पुस्ताले हामिलाई यसरी नै गाली गर्नेछ । यही इतिहास सधैभरी दोहोरिने छ । पुस्तौपुस्ता यसरी नै धुलोधुवा, गरिबी, अभाव र महङ्गीको भारिले च्यापिनेछ । कहिले नउठ्ने गरी ।

    युवा बृहत शक्ति हो, महासागर हो, अटल हिमाल हो, तर हामी एक भोट मात्र बनिरहेका छौ । चुनाबलाई चाहिने भिडको एउटा हिस्सा मात्र बनिरहेका छौं । अब हामी सचेत नबन्ने ? अध्ययन गरौ, ऐन कानुन संविधान गलत सहि के हो बुझ्न सकौ नेताले जे भन्यो त्यही सहि हो भन्दै पछि नलागौ गल्ती गर्दा सच्चिन दबाब गरौ । राम्रो गर्दा ताली बजाउँ, नैतिकता प्रदर्शन गरौं, युवा साथी भाइबहिनीलाई देशमै पढ्न र काम गर्न प्रेरित गरौं । सामाजिक प्राणी बनौं न कि कुनै दलको कार्यकर्ता मात्र ।

    हामी जिउँदो लास भएका छौं, श्वास चलेको छ, तर आत्मा छैन । आत्मा बिनाको शरीर बोकेर हिडिरहेका छौं । हामी सबै घटनाक्रम देख्छौं, सुन्छौ,  तर चुइक्क बोल्न सक्दैनौ । सचेत बनौं । यही देशमै भबिष्य खोजौ । देशको माटो चिनौ  । देश बने हामि बन्छौ हाम्रा सन्तती बन्नेछन् । युवा सबैको आस बन्नु पर्छ न कि दास !

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परिवेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।