Logo

२०८३, श्रावण ३०गते


images
images

परिवेश

राजनीतिक किचलो र आर्थिक अनियमितताको भुमरीमा देवदहको खेलकुद

राजनीतिक किचलो र आर्थिक अनियमितताको भुमरीमा देवदहको खेलकुद

images
  • राजनीतिक किचलो र आर्थिक अनियमितताको भुमरीमा  देवदहको खेलकुद
    images
    images

    गत वर्षको कुरा हो । देवदहमा मेयर कप फुटबल चल्दै थियो । वडा न. ५ को पानबारी खेल मैदानमा म पनि दर्शकको रुपमा पुगेको थिएँ । दर्शकको राम्रै उपस्थिति थियो ।  नहोस् पनि किन, त्यहाँ विश्वकै लोकप्रिय खेल फुटबल हुँदै थियो । सबै वडा एक अर्कासङ्ग प्रतिस्पर्धा गर्न तम्तयार थिए, खेल कै क्रममा देखिएका एक दुई ओटा दृश्यले मलाइ खिन्न बनायो ।

    images
    images
    images

    यहाँनिर वडा नं. उल्लेख नगरी एउटा प्रसङ्ग कोट्याउन मन लाग्यो । खेल सुरु हुने बेलासम्म खेल खेल्ने खेलाडीको नामावली तयार थिएन । खेल हेर्न आएका दर्शकलाइ नै खेलाडी बनाएर मैदान पठाउन नाम टिपाइयो । खेलमा प्रयोग हुने जुत्ता सक्स लगायत सामग्रीको अत्तोपत्तो थिएन । छेउमा बसेको एउटा भाइले 'मेरो घरमा छ' भनेपछि हामी हतार हतार स्कुटी स्टार्ट गरेर उसको घरमा पुगेर जुत्ता ल्याएऔं । अनि उक्त खेलाडीलाई मैदान पठाएर खेल खेल्न लगायौँ ।

    images
    images
    images

    खेल्ने ११ जना बाहेक अतिरिक्त खेलाडी नै भएनन् । खेल औपचारिकताको लागि खेले जस्तो थियो । यस्तो मनस्थिति र परिस्थितिमा खेलेर कस्तो नजिता आउँथ्यो ! नतिजा तेस्तै आयो जस्तो परिस्थितिबाट त्यहाँ खेलाडीहरुले खेल खेलेका थिए । यो दृश्यले मेरो दिमागमा थुप्रै प्रश्नहरु आए तर कसलाइ प्रश्न गर्ने नगरपालिकालाई ? वडालाई ? वा नगरले स्थापना गरेको खेलकुद समितिलाई ?

    images
    images
    images

    प्रतियोगिता स्थलमा जनप्रतिनिधि बस्न मञ्च तयार गरिएको थियो । आसन ग्रहण गर्ने मन्तव्य दिने बाहेक मैदानभित्र खेलाडीको मनोबिज्ञान के चल्दैछ, कसैलाइ पत्तो थिएन । लाखौं खर्चेर आयोजना गरिएको खेलमा यस्तो लापरवाह किन गरियो ? बिना तयारी खेल खेल्न किन पठाइयो ? वडाका जनप्रतिनिधि र खेलकुद समितिलाई यो जानकारी थियो, थिएन ? खेल सकिएपछि यो बिषयमा समीक्षा भयो, भएन ? यि र यस्ता प्रश्न सबैको मन मष्तिष्कमा उठ्छन् या उठ्दैनन् ?

    आफ्नो वडा खेल खेल्न जादैंछ, खेल समग्री छ या छैन, खेलाडी छनोट कसरी गरियो भन्नेसम्म ख्याल नहुने जनप्रतिनिधि देख्दा म अचम्मित भए । कृषि, पर्यटन, धार्मिक आध्यात्मिक नगर भन्दै उपमा दिँदादिँदै अन्य बिषय छुट्न पुगेका पो हुन् कि ? भौतिक निर्माण बाहेक अरु देख्दै नदेखेका पो हुन् कि जस्तो मलाई लागेको थियो ।

    खेलकुद क्षेत्रलाई किन यसरी बेवास्ता गरिएको होला ? प्रतियोगिता आयोजना गरेपछी यति लापरबाही किन गरियो ? समग्र नगरको खेलकुद बजेट कति हो ? वडाको खेलकुदलाई बजेट कति छुट्याइन्छ ? यी र यस्ता यावत कुराहरु मेरो मनसपटलमा मडारिइरह्यो ।

    देवदहको खेलकुद क्षेत्रको बिषय र यसको विकासक्रम बारे अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरि यहाँ केही कुरा उठाउन खोजेको छु ।  फुटवल, भलिबल र क्रिकेट खेल हामीकहाँ अलि बढि खेलिने र हेरिने खेल हुन् । देवदह न.पा.बाट राष्ट्रियस्तरमा समेत यि खेलहरुमा खेलाडीहरुले प्रतिनिधित्व गरिसकेकाले पनि यसप्रति आम चासो बढि देखिन्छ । त्यसै कारण पनि पालिकाले अन्य खेलाडी उत्पादन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा देवदह नगरको प्रतिनिधित्व गराउन आवश्यक पहल गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । पालिकाले बर्षमा दुई/चार वटा खेल खेलाएपछि पुग्छ भन्ने हिसाबले काम गरिरहेको देखिन्छ ।

    कृषि, पर्यटन जस्तै खेलकुद पनि देवदहले बोकेको अर्को सम्भावना हो । खेलकुदलाई सूक्ष्म रुपमा अध्ययन गरेर खेल नीति, कार्यबिधी निर्माण गर्ने, बिद्यालय स्तरबाटै खेल प्रशिक्षणमा जोड दिने, प्रशस्त खेल सामग्रीको ब्यवस्था गर्ने, खेल मैदानहरुको निर्माण र संरक्षण गर्ने आदि कार्य गर्न जनप्रतिनिधि, कर्मचारी, खेलकुद समिती बिद्यालय ब्यवस्थापन समिती र अन्य सरोकारवाला सबै जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

    मानव जीवनको अभिन्न अङ्गको रुपमा खेलकुदलाई लिन सकिन्छ । शारीरिक, मानसिक एवम् सामाजिक विकासको लागि खेलकुद अपरिहार्य मानिन्छ । खेलकुदले स्वास्थ्य, सामाजिक सद्भाव, आर्थिक समृद्धि आदि जस्ता पक्षको विकासमा टेवा पु¥याउँदछ ।

    युवा विद्यार्थीमा देखिने मानसिक सङ्कट लागू पदार्थको लतबाट जोगाउन, सृजनशिल एवम् समाजमा सहज घुलमिल हुनसमेत खेल क्षेत्र महत्वपूर्ण मानिन्छ । जसका लागि उक्त क्षेत्र समाज वा राष्ट्रले खेलमा कति लगानी गरेका छन् वा खेल प्रति स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधि एवम् जनता कति सचेत छन् भन्ने कुराले तय गर्ने गर्दछ । तर हामीकहाँ यस्तो महत्वपूर्ण क्षेत्रलाई खासै चासो दिएको पाइदैन ।

    यस आलेखमा हामी देवदह नगरपालिकाको खेलकुद नीति तथा कार्यक्रम, पुर्वाधारको अवस्था, प्रशिक्षक नियुक्ति, तालिम तथा प्रशिक्षण, खेल सामग्री आदिमा गरिएको बजेटको बिषयमा चर्चा गर्नेछौ ।

    बुटवल उप महानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका, सुनवल नगरपालिका र माथागढी गाउँ पालिकाको बिचमा अवस्थित देवदह नगरपालिकामा प्रसस्त समथर भु–भाग रहेकोले खेल मैदानका लागि समस्या देखिदैन । विशेषगरि ६० को दशकमै यस क्षेत्रमा ठुला-ठुला फुटबल खेलहरु आयोजना हुने गर्दथे । देवदह–५ मा अवस्थित पानवारी खेल मैदान, देवदह ७ मा अवस्थित देवदह क्रिकेट युनिटको मैदान–७, देवदह ८, ९ वडा नं ३ लगायतका मैदानहरु यस पालिकाका पुराना र प्रसिद्ध मैदानहरु हुन् ।

    देवदहलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय रुपमा फुटबल, भलिबल, क्रिकेट खेलमा सहभागिता जनाइसकेका धेरै खेलाडीहरु अहिले पनि देवदहमै छन् । आफ्नै ल्याकत र बलबुताले फुटबल, भलिबल जस्ता खेलमा ति खेलाडीले राष्ट्रिय स्तरका खेलहरु खेलेका हुन् ।

    खेलकुदको सम्बन्धमा देवदह नगरपालिकाले आर्थिक बर्ष २०७६÷७७ देखि २०८१÷८२ सम्म तय गरेको नीति तथा कार्यक्रम तथा बजेटको अवस्था के छ त ?

    १. एक वडा एक खेल मैदान कार्यक्रम

    २. पानबारी खेल मैदान र शितलनगर क्रिकेट मैदानको पुर्वाधार विकास

    ३. विद्यालयमा खेल प्रशिक्षक नियुक्त एवम् प्रशिक्षण कार्यक्रम

    ४. सार्वजनिक स्थानमा खुल्ला व्यायाम केन्द्र निर्माण

    ५. राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, मेयर कप फुटबल, उप–मेयर कप छात्रा भलिबल तथा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन

    ६. नगर स्तरीय खेल टिम निर्माण गरि नगर बाहिर खेल प्रतियोगितामा सहभागी गराइने

    ७. खेलकुद समिति निर्माण गरि खेल जगतमा देवदहको पहिचान स्थापित गर्ने

    ८. खेलकुद पुर्वाधारको विकास गर्ने

    पछिल्लो ५÷६ बर्षदेखि निरन्तर रुपमा पालिकाले नीति तथा कार्यक्रममा राख्ने गरेका साझा बुँदा यिनै हुन । नीति तथा कार्यक्रममा लेख्ने तर उक्त कार्यक्रम पूरा भए नभएको मुल्याङ्कन एवं समिक्षा गर्ने कुनै मेकानिजम नगरसँग छ कि छैन ? जटिल प्रश्न यो हो ।

    एक वडा एक खेल मैदान कार्यक्रम नीति तथा कार्यक्रमको लागि आकर्षक र हरेक बर्ष समेटिने गरेको छ । तर न्युनतम आवश्यक खानेपानी, शौचालय चेन्जिङ्ग रुम जस्ता पुर्वाधार विकास गर्न सकिएको छैन । वडा भित्रको एउटा समथर चौरलाई मैदान घोषणा गर्ने अनि चरन क्षेत्र जस्तो बनाएर छोडेर यो नारा नारा मै सिमित हुनु हुँदैन ।

    डिपिआर नै तयार गरेको भनिएको पानबारी खेल मैदानको अवस्था उस्तै छ । पानबारी मैदानमा  केन्द्रबाट परेको बजेट सहि सदुपयोग नगरी रकम हिनामिना गरिएको र उक्त हिनामिनाको मुद्दा अख्तियारसम्मै पुगेको कुरा सबैलाइ जगजायरै छ । हालसालै एउटा निजि सिमेन्ट कम्पनीले पानबारी मैदानमा ट्रस्ट निर्माण गरिदिएको कुराले पनि पालिकाले खेलकुदमा लगानी नगरेको कुरा सजिलै बुझ्न सकिन्छ । देवदहको गौरब बन्न सक्ने मैदानलाई पालिकाले उपेक्षा गर्नु भनेको समग्र खेलकुदलाई उपेक्षा गरिरहेको बुझ्न सकिन्छ ।

    हरेक पटक प्रतियोगिता आयोजना गर्नु पुर्व अलिअली काम गरेजस्तो गर्ने र प्रतियोगिता सकिएपछी मैदान बस्तुभाउको चरन क्षेत्रमा परिणत हुने परिपाटी बन्द गर्न आवश्यक छ ।

    नीति तथा कार्यक्रममा कहिले नछुट्ने अर्को बुँदा विद्यालयस्तरमा खेल शिक्षकलाइ प्रशिक्षण गर्ने रहेको छ । विद्यालयमा अध्यापन गराउने खेलकुदको जिम्मेवारी दिइने शिक्षकलाई खेलकुदको बारेमा नै थाहा हुँदैन । यस्तो तरिकाले विद्यालय तहबाट खेलकुदको विकास कसरी हुन्छ ? पालिकाले नै खेलकुद सम्बन्धि विशेष ज्ञान भएको व्यक्तिलाई प्रशिक्षकको रुपमा नियुक्त गरेर नपठाउँदासम्म विद्यालय खेलकुदले प्रगति गर्न सक्ने देखिदैन । तर त्यसरी नियुक्ति गर्दासमेत राजनीतिक आस्थाभन्दा फरक नगरले सोँच्ला भन्ने लाग्दैन । यद्यपि, निजि स्तरबाट सञ्चालित कतिपय विद्यालयले भने खेल प्रशिक्षक नै नियुक्त गर्ने गरेको पाइन्छ ।

    खेल प्रशिक्षक नियुक्त गरेर प्रशिक्षित निजि विद्यालयका विद्यार्थीसङ्ग सामुदायिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्न निकै सकस छ । विद्यालय र विद्यार्थीले आफ्नो क्षमताले खेलकुदमा सहभागीता देखाइरहेका छन् । आफु मार्फत आयोजना हुने प्रतियोगितामा सबै विद्यालय सहभागी हुने गरेको कुरालाइ नै ठूलो उपलब्धि मानेर नगर दङ्ग परिरहेको छ । तल्लोस्तरबाट खेलकुदलाई कसरी माथि उकास्न सकिन्छ भन्ने कुराको कुनै योजना नै नगर खेलकुद विकास समितिसँग देखिदैन ।

    त्यसैगरी सार्वजनिक स्थानमा खुल्ला ब्यायाम केन्द्र निर्माण गर्ने कार्यक्रम पनि अलपत्र परेको छ । नगरको खेलकुद विकासलाई व्यवस्थित गरि युवा वर्गको सहभागिता वृद्धि गर्ने, खेलाडी उत्पादन गर्ने एवम् खेल जगतमा छुट्टै पहिचान निर्माण गर्ने उद्देश्यले गठन गरिएको खेलकुद विकास समिती राजनीतिक भर्तीकेन्द्र बनेको छ । खेलकुद कार्यक्रम, प्रतियोगिता पारदर्शी ढङ्गले हुन नसकेको कुरा सार्वजनिक स्तरमै उठ्न थालेको छ ।

    कुनै प्रतियोगिताको लागि पालिकाले निर्धारण गरेको बजेटभन्दा बढि खर्च गर्ने, स्थानीय होटलमा अनावश्यक खर्च गरेर रकम भुक्तान नगर्ने, स्थानीय मिडियालाइ प्रचार प्रसार गरे बापतको रकम भुक्तान नगर्ने आदि जस्ता आक्षेपहरु खेलकुद विकास समितिलाई लाग्दै आएका छन् । सङ्गै जिल्लाबाहिर खेल खेल्न जाँदा खेल समितिका नेतृत्व सहितको खेलाडी टोलिले अराजकता मच्याएर खेल नै नखेली फिर्ता आएको आरोपले समग्र पालिकालाइ नै बदनाम गराएका घटनाहरु देवदहका अधिकांश खेलप्रेमीहरुको मनस्पटलमा घुमिरहेकै होला ।

    राष्ट्रपति रङिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न विद्यालयलाई जिम्मा दिइनु र उप–मेयर कप छात्रा भलिबल प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी सदस्य सचिव (कर्मचारी) लाई दिइनुले नगर खेल समिति माथि लागेका आरोपहरु सत्य हुन भन्ने कुराले थप पुष्टि गरेको देखिन्छ । यसरी समग्र खेल क्षेत्र र पालिकालाई नै विवादमा पार्ने यस्तो समिति विघटन गरि तत्काल नयाँ समिति निर्माण गर्नुपर्ने देखिन्छ ।

    समग्रमा देवदह नगरपालिकाले खेलकुदको विकासका लागि निकै सुन्दर र आकर्षक कार्यक्रमहरु हरेक बर्ष निर्माण गर्ने गरेको छ तर ती सबै कार्यक्रमहरु कितावका पानामै सिमित हुँदै आएका छन् ।

    खेलकुदका लागि नगरले बार्षिक रुपमा कति बजेट छुट्याउँदै आएको छ त ?

    आर्थिक वर्ष  विनियोजित रकम 
    २०७६/७७ २९,००,०००
    २०७७/७८ ३०,००,०००
    २०७९/८० १०,००,०००
    २०८०/८१ २०,००,०००
    २०८१/८२ ५२,७०,०००

    देवदह नगरको बार्षिक बजेट अर्बभन्दा बढिको बन्ने गरेको छ । तर खेलकुद क्षेत्रमा छुट्याइएको बजेट अचम्म लाग्दो छ । यति कम लगानीले कसरी खेल क्षेत्रमा उपलब्धि हासिल हुन सक्छ ? हरेक बर्षको बजेटमा प्रतियोगिता आयोजनालाई मात्रै महत्व दिइएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड, मेयर कप फुटबल, उप–मेयर कप छात्रा भलिबल, वडा अध्यक्ष कप फुटबल आदि आयोजना त हुने गरेका छन् । तर खेल प्रशिक्षण, प्रशिक्षक, खेल सामग्री, मैदानको पुर्वाधार बिकास जस्ता बिषय उपेक्षामा परेका छन् । यस्तो अवस्थाले खेलकुद विकास गर्ने र यसको पहिचान स्थापित गर्ने कुरा गफ गर्नेलागि गर्विलो विषय बाहेक केही हुदैन ।

    अर्कोतर्फ पछिल्लो समय सर्वाधिक चर्चित बनेको खेल क्रिकेटलाई पालिकाले नजर अन्दाज गरेको छ । स्थानीयस्तरबाट सहयोग उठाएर केही युवाहरुले खेलहरु सञ्चालन गर्दै आएको देख्न सकिन्छ । क्रिकेट खेलमा देवदहबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका खेलहरु खेलिरहेका युवाहरुलाई प्रशिक्षणमा पालिकाले चासो मात्र देखाउन सके क्रिकेट खेलमा देवदहले राम्रै फड्को मार्न सक्ने देखिन्छ । क्षमता, प्रतिभा हुँदाहुँदै पनि खेलप्रति पालिकाले चासो नदिँदा देवदहका खेलाडीहरु अन्य जिल्लाबाट खेल्ने गरेको तितो सत्य हाम्रो सामु प्रस्ट छ ।

    खेलकुदप्रति सरोकारवाला सबैले चासो नदिएसम्म विकास हुँदैन । राष्ट्रियस्तरमा खेलिसकेका खेलाडीहरुलाइ समेटेर विज्ञ टोली निर्माण गरि योजना बनाएर सोही अनुरुप बजेट विनियोजन नगरी खेल विकास हुने कुराको किमार्थ कल्पना गर्न सकिँदैन ।

    खेलकुदको विकासको लागि के गर्ने ?

    १. विद्यालयस्तरमा खेल विशेषज्ञ, प्रशिक्षक, प्रशिक्षण एवम् खेल सामग्री आदिको व्यवस्था गर्ने ।
    २. एक वडा एक खेल मैदानको अवधारणालाई मुर्त रुप दिन कम्तिमा न्युनतम आवश्यक पुर्वाधारहरु जस्तै : मैदान तारवार गर्ने, खानेपानी, शौचालय, विद्युत चेन्जिङ्ग रुममा जस्ता कुराहरुलाइ बजेट विनियोजन गरौं ।
    ३. बजेट निर्माण गर्दा खेलकुद तर्फको बजेट वृद्धि गर्ने, बजेट कम्तिमा करोड माथि पु¥याउँ ।
    ४. पालिकाले आयोजना गरेका खेलमा उत्कृष्ट भएका खेलाडीलाई थप तालिम÷प्रशिक्षण दिने वातावरण तयार गरौं । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने आधार तयार गरौं ।
    ५. देवदह क्षेत्रबाट राष्ट्रियस्तरमा खेलिसकेका खेलाडीको पहिचान गरि उनीहरुको कला कौशल वृद्धि गर्नका लागि उनीहरुले सिक्ने सिकाउने परिस्थिति सृजना गरौ ।
    ६. खेल समितिलाई चुस्तदुरुस्त पारौं । आफै बार्षिक योजना बनाउन सक्ने, खेल सम्बन्धि तालिम अन्तक्रिया आदि गर्न सक्ने गैर राजनैतिक एवम् विज्ञसहितको पारदर्शी खेलकुद समिति निर्माण गर्ने ।
    ७. वडास्तरको टिम निर्माण गर्न वडाले खेलाडी पहिचान गर्ने र तालिम सामग्री व्यवस्थापन गर्ने ।
    ८. खेलकुद सम्बन्धि विस्तृत कार्ययोजना तयार गर्ने र  योजना मै खेलाडी छनोट, प्रशिक्षण र प्रतियोगिताको सबै विवरण राख्ने गरौ ।

    अन्त्यमा, देवदहको समग्र विकाससँगै यहाँको खेलकुदको विकास हुन जरुरी छ । विद्यालय तहबाटै खेलकुदको विकास गर्न सकियो भने आजको बालबालिका युवा अवस्थामा पुग्दासम्म यहाँको खेल जगतले छुट्टै फड्को मार्न सक्नेछ । खेलकुदकै माध्ययमबाट युवालाई व्यस्त र तन्दुरुस्त राख्न सकिन्छ । स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयलाई नजरअन्दाज गरिनु हुँदैन । गल्ती कमजोरीबाटै सिकेर अगाडी बढ्ने हो । विगतमा गरिएका गतिविधि र काम कारवाहीको गम्भीर समिक्षासहित नगर नेतृत्वले  नयाँ र फराकिलो ढंगले  सोच्न जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।