काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सुनको मूल्य आज एकैदिन करिब १६ हजारले घटेको हो।
आज सोमबार छापावाल सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेर १ लाख ५१ हजार रुपैयाँमा झरेको छ। यसअघि, आइतबार छापावाल सुन १ लाख ६७ हजार २०० रुपैयाँ कायम रहेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर १८ सय ४५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ तोलाको १९ सय ६० रुपैयाँ रहेको थियो।
के छ कारण?
सरकारले हालै सुन-चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ। महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि जसको प्रत्यक्ष प्रभाव सुनको मूल्यमा पनि पर्न गएको हो। यसैगरी, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत भएको छ।
यहीँ मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन भएसँगै सुनको मूल्यमा भारी गिरावट आएको हो।
यसअघि गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐन मार्फत सुनको भन्सारदर २० प्रतिशत पुर्याएका थिए। सो लगत्तै नेपाली बजारमा सुनको भाउ महँगो हुन पुगेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology