काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जितलाई निरन्तर दिने क्रममा लुम्बिनी लायन्स विरुद्धको एकतर्फी खेलमा ४५ रनको जित हात पारेको छ । १ सय ८८ रनको लक्ष्य पाएको लुम्बिनीलाई सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ को स्कोरमा रोकेर ४५ रनको जित हात पार्यो ।
सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । लगातार तीन खेल जितेको जनकपुर बोल्ट्सलाई उछिन्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको हो । त्यसको विपरीत नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले लगातार तेस्रो खेलमा हार व्यहोरेको हो ।
स्कट कुग्लेनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा इनिङ्सको पहिलो बलमै अर्जुन साउदलाई एलबीडब्लु आउट गरेपछि लुम्बिनी सम्हालिन सकेन् । न्युजिल्यान्डका तीब्र बलर उनले अर्का ओनपर उनमुक्त चन्दलाई पनि ४ रनमा एलबीडब्लु आउट गरे ।
अर्का विदेशी बलर स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले कप्तान रोहित पौडेले (५), टम मुर्स (७) र साद बिन जाफर (०) लाई आउट गरेपछि लुम्बिनी ५ ओभर भित्र १९–५ को स्थितिमा पुगेको थियो । सन्दीप जोराले २६ बल खेली १ छक्कासहित २० रन बनाए । दीनेश अधिकारी १४, रामोन सिमान्ड्स शून्य र सूर्य तामाङ ७ रनमा आउट भए ।
विवेक यादव ७७ रन बनाई अविजित रहे । ५४ बल खेलेका उनले ३ चौका र ७ छक्का प्रहार गरे । लुम्बिनीबाट सैफ जैब र म्याकमुलेनले ३–३ विकेट लिए । जैबले ४ ओभरमा ३३ र म्याकमुलेनले ४ ओभरमा २१ रन खर्चेका थिए । कुग्लेनले ४ ओभरमा १९ रन खर्चेर २ र अविनाश बोहराले १ विकेट लिए ।
यसअघि ओपनर जैबले बिहानको कठिन कन्डिसनमा पनि सानदार ब्याटिङ गर्दै ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभर खेलि ४ विकेट गुमाई १ सय ८७ रन बनाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology