काठमाडौँ —स्कट इडवार्डसको महत्त्वपूर्ण इनिङ्समा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनाएको हो ।
एनपीएलमा पहिलो खेल खेलिरहेका नेदरल्यान्ड्सका कप्तान इडवार्डसले ३५ बलमा ४५ रन बनाए । अकिब इल्यासको स्थानमा विराटनगरको प्लेयिङ ११ मा राखिएका उनले ५ चौका प्रहार गरे । विरानगरबाट ओपनिङ ब्याटर लोकेश बमले विकेटकिपिङको जिम्मेवारी पनि लिदैं आएका थिए । तर अतिरिक्त भूमिकामा बमले आफ्नो प्रदर्शनलाई न्याय गर्न सकेका थिएनन् । इडवार्डस एनपीएलका लागि दुई दिनअघि मात्र काठमाडौं आइपुगेका थिए ।
बिराटनगरले दिएको १४० रनको लक्ष्य पच्छ्याएको पोखराले ताजा अवस्थामा ११ औं ओभरको खेलमा २ विकेटको क्षतिमा ८३ रन बनाएर खेलिरहेको छ ।