४ बैशाख बुटवल- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको त्रिदेशीय टि–२० अन्तर्राष्टिय सिरिजको उद्घाटन खेलमा नेपालले सानदार जित निकालेको छ । नेदरल्याण्ड लाई नेपालले ९ विकेटले हराएको हो । डेब्यू खेलाडीद्वय कुशल भुर्तेल र आसिफ सेखले उत्कृष्ट इनिङ खेलेपछि त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले नेदरल्याण्डले ब्याटिङ गरेको थियो । नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । १३७ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दा ४६ बलको सामना गरेका कुशलले ५ चौका ५ छक्काको मद्दतमा ६२ रन जोडेका थिए । कुशल क्याच आउट भएका थिए । यस्तै आसिफले ३६ बलमा समान चौका र छक्का प्रहार गर्दै अर्धशतक बनाए । उनी ५४ बलमा नटआउट रहे। कप्तान ज्ञानेन्द्र मल्लले १५औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई ९ विकेटको जित दिलाए। उनले ७ बलमा १३ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चिएर १ विकेट तथा स्पीनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चिएर १ विकेट हात पारे । करण केसीले ४ ओभरमा २२ र अविनाश बोहराले ४ ओभरमा २५ रन दिए ।
यो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले टि२० आई क्रिकेटमा कीर्तिमान बनाएका छन् ।
त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्न कुशल र आसिफले १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । ओपनर तथा डेब्यूद्धय आसिफ र कुशलले उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । कुशल र आसिफ डेब्यू खेलमा सर्वाधिक टि२० आईमा साझेदारी गर्ने खेलाडी बनेका छन् ।
यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध १०८ रनको साझेदारी गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रनको साझेदारी भने पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर विरुद्ध गरेका थिए ।
यसअघि डेब्यू खेलमा टि२० आईमा दुई खेलाडीले बनाएको उच्च रन ९० रन थियो । मोजाम्बिकबाट छैटौं विकेटका मलावीविरुद्ध सन् २०१९ मा डामिसो कुवानो र फिलिप कोसाले ९० रनको साझेदारी गरेका थिए । जुन साझेदारी कुशल र आसिफले तोडेका हुन् । तेस्रो स्थानमा दक्षिण अफ्रिका ग्रिम स्मिथ र ज्याक्स कालिसले न्युजिल्यान्डविरुद्ध सन् २००५ मा ८४ रनको साझेदारी गरेका थिए ।
अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology