मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।
चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए यस वर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ।
हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१ पिसाङका किसान मुखिया गुरुङले सुनाए।
ढिला गरी हिउँ पर्दा खुसी लागेको गुरुङले बताए। उनले भने, ‘भारी हिमपात नभए पनि सुरुआत भएको छ, यसले केही आशा जगाएको छ ।’
आफूले गरेको उत्पादनले दुई महिना मात्रै खान पुग्ने उल्लेख गर्दै उनले हिउँ पर्दा खुसी लागेको बताउनुभयो । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने उनको भनाइ थियो ।
किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोलगायतका उत्पादन बढ्छ भने तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रूपमा काम गर्दछ । दुई हप्ताअघि मात्र सिँचाइ गरेका मनाङ चामेका किसान शेराप विष्टले हिमपातले खुसियाली ल्याएको बताए।
नासो गाउँपालिका–८ ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए।
उनले भने, ‘कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटक के हेर्ने आउने ? प्राकृतिक सुन्दरता नै गुम्न थालेको थियो ।’ उनका अनुसार हिउँ पर्दा पर्यटक बढ्छन् । हिमाली सौन्दर्य रहिरहन्छ ।
जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन् । अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायतका हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् ।
जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए तल्लो क्षेत्रमा अहिलेसम्म हिउँ पर्ने संकेत नदेखिएको नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताए। हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology