देवदह । देवदह माध्यमिक विद्यालयले ४१ औं वार्षिकोत्सव मनाएको छ । सोमबार विद्यालय प्रांगणमा एक समारोहबीच विद्यालयले ४१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
वार्षिकोत्सवको मूल समारोहमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिको लागि सबैले पहल गर्नुपर्ने बताए । 'देशका सबैभन्दा योग्य शिक्षकले अध्यापन गराउने सामुदायिक विद्यालयहरु नमूना विद्यालय बन्नुपर्छ ।' नगरप्रमुख खरेलले भने, 'त्यसको लागि शिक्षक, अभिभावक र राज्यका निकायहरु बढी जिम्मेवार बन्नुपर्छ ।'
देवदह नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक दरबन्दी मिलान र नगर शिक्षकको व्यवस्था गरेको उनको भनाइ छ ।
त्यसैगरी कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले शिक्षाको विकासमा सामुदायिक विद्यालयका शिक्षकको योगदानको चर्चा गरे ।
'नगरपालिका र अन्य प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारी र कतिपय अवस्थामा जनप्रतिनिधि नै पनि एउटा कार्यालय सहयोगी नभएको बाहानामा कार्यालय बन्द गरेर हिड्ने दु:खद अवस्था हामी कहाँ छ । तर शिक्षकहरुले विद्यालयको अध्यापन, सरसफाईसंगै अतिथिलाई चियासमेत आफै वितरण गर्नुभएको छ ।' प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, 'अफ्ठेरो अवस्थामा पनि आफ्नो दायित्व पुरा गर्ने र आफ्नो काम आफै गर्ने शिक्षकहरुबाट सबैले सिक्न जरुरी छ ।'
कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण प्रसाद अधिकारी, वडा नं ९ का वडाध्यक्ष मोहन जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानाध्यापक हरि पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षता, सहायक प्रधानाध्यापक मेघराज घिमिरेको स्वागत तथा शिक्षकहरु इन्दिरा अर्याल र रिता पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थापक प्रधानाध्यापक, उत्कृष्ट शिक्षक-कर्मचारी र विद्यार्थीलाई सम्मान एवं पुरस्कार
वार्षिकोत्सवको मूल समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक टेक बहादुर बुढाथोकीलाई सम्मान गरिएको छ । हाल १०१ वर्षीय पुर्व शिक्षक बुढाथोकीलाई विद्यालयको विकासमा उल्लेख्य योगदान पुर्याएको तथा शैक्षिक उन्नयनको लागि निरन्तर क्रियाशील रहेकोले विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ ।
त्यसैगरी विद्यालयका पुर्व प्रधानाध्यापक केशव घिमिरे, पुर्व शिक्षकहरु दुर्गा पन्थी, विना चौधरी, रूपा ज्ञवाली, सविता रामधाम र केशव न्यौपानेलाई पनि विद्यालयले सम्मान गरेको छ ।
यसैगरी उत्कृष्ट शिक्षक तथा कर्मचारी समेत सम्मानित तथा पुरस्कृत भएका छन् । यसरी सम्मानित हुनेमा नियमित हाजिरी तर्फ शिक्षक नारायणी शर्मा
र विद्यालयका सवारी चालक किशन विक, उत्कृष्ट सरसफाई कर्मचारी कल्पना भुवाई पाण्डे, स्काउट शिक्षक सुदिप भुसाल, बाल विकास शिक्षक अप्रिता कुमारी शर्मा पौडेल रहेका छन् ।
उत्कृष्ट नतिजा दिने शिक्षकहरुमा प्रावितर्फ लक्ष्मी पौडेल, निमावितर्फ बाबुराम पन्थी र मावितर्फ अंग्रेजी शिक्षक सावित्री खनाल र रिता पाण्डे तथा कक्षा ११ र १२ तर्फ लेखा शिक्षक सुरज भुर्तेल रहेका छन् ।
साथै विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक हरि पाण्डेले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology