देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार देवदह आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाको अवसरमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले स्वच्छ र शुद्ध खानेपानीको लागि दीर्घकालिन योजना आवश्यक रहेको बताए । उनले खानेपानी व्यवस्थापनको लागि देवदह नगरपालिकाले खानेपानी ऐन निर्माण गरेर अगाडि बढेको बताउँदै प्रत्येक नागरिकको घरघरमा स्वच्छ, शुद्ध खानेपानीको धारा पुर्याउने सरकारको लक्ष्य अनुसार खानेपानी संस्थाहरु लाग्नु पर्नेमा जोड दिए ।

नगर प्रमुख खरेलले देवदह क्षेत्रका नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी व्यवस्थापनका लागि पाल्पाको सिस्नेखोलाबाट खानेपानी ल्याउने गरी सहलगानीमा योजना अगाडी सारेको बताए । "पाल्पाको सिस्नेखोलाबाट देवदहमा खानेपानी ल्याउन सके करिव ५० बर्षलाई ढुक्कसंग पुग्छ ।" उनले भने, "टुक्रे योजनाले खानेपानीको समस्या समाधान गर्न सक्दैन । ठूलो योजना आवश्यक छ । त्यसको लागि यस क्षेत्रमा रहेका खानेपानी संस्था एकिकरण गरेर जानु पर्छ ।"
शुद्ध र स्वच्छ खानेपानीको लागि देवदह नगरपालिकाले खानेपानी परीक्षण प्रयोगशालाको समेत व्यवस्था गरेको उनको भनाइ छ ।
सोही अवसरमा बोल्दै खानेपानी महासंगका केन्द्रिय सदस्य विश्व कार्कीले खानेपानी संस्थालाई राज्यले लगाउदै आएको २५ प्रतिशत कर खारेज गर्नुपर्ने बताए । उनले खानेपानीको महसुलमा एकरुपता ल्याउनपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र देवदहका अध्यक्ष दिपक न्यौपाने, मायादेवी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका चक्रपानी तिवारी, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल लगायतले बोलेका थिए ।
सो अवसरमा देवदह खानेपानी संस्थाको कार्यालयमा स्थापना गरिएको खानेपानी परीक्षण शाखा र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ देवदहको कार्यालय समेत उद्घाटन गरिएको छ ।
कार्यक्रममा धेरै पानी खपत गर्ने र समयमा भुक्तानी गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । साथै कार्यक्रम परिसरमा दन्त शिविरसङ्गै कलाकार शिरीष देवकोटाले साङ्गितिक प्रस्तुति दिएका थिए।
साधारण सभाले अध्यक्ष गुमान सिंह कुवरले वार्षिक प्रतिवेदन, सचिव हरिप्रसाद पाण्डेले सचिवको प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीले आर्थिक प्रतिवेदन पारित गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology