बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । आइतबार बुटवलमा पत्रकार भेट्घाट गर्दै संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले भव्य रुपमा मगर दिवस मनाउने तयारी भएको बताए ।
मगर दिवसलाई यसपटक पनि जागरण र अधिकार प्राप्तिको लडाईकै रुपमा मनाउने भएपनि त्यसमा थप केहि रचनात्मक कार्यक्रमहरु समावेश गरिएको पत्रकारसंग अध्यक्ष साठिघरेले बताए । पाँच दिवसीय कार्यक्रम अनुसार पत्रकारहरु भेट्घाट, समसामयीक विषयमा अन्तरक्रिया, अस्पतालमा फलफूल वितरण, बाजेबजै थानमा सरसफाई र फागुन १५ गते बुटवलमा मूल समारोह गरिने कार्यक्रम तय भएको संघले जनाएको छ ।
पत्रकारसंग कुरा गर्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे मगरले मगर दिवसको अवसरमा रुपन्देहीका स्थानीय तहहरुसंग सार्वजनिक विदाको लागि माग गरे । रुपन्देहीमा करिब दुई लाख मगरहरुको बसोबास रहेको उल्लेख गर्दै उनले मगर दिवसमा सार्वजनिक बिदा दिनको लागि स्थानीय तहहरुले कन्जुस्याई गर्न नहुनेमा जोड दिए ।
स्थानीय तहहरुले मगर दिवसको दिन सार्वजनिक विदालाई आफ्नो क्यालेण्डरमा समावेश गर्नका लागि पनि अध्यक्ष बारघरेले आग्रह गरेका छन् । उनले संघको आग्रह अहिले शालीन ढङ्गमा गरिएको र यसलाई सुनुवाई नगरी अटेर गरेमा आगामी वर्ष ‘रुपन्देही बन्द’ सम्मको कार्यक्रम आयोजना गरिने चेतावनी दिए ।
यसबाहेक मगर समुदायको भाषालाई लुम्बिनी प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने, नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका मागहरु राज्यले तत्काल पुरा गर्नुपर्नेमा मगर अगुवाहरुले जोड दिएका छन् ।
सो अवसरमा नेपाल मगर संघ बुटवल उपमहानगर समिति उपाध्यक्ष लुम बहादुर सारुमगर, सचिव हेमन्त बुढाथोकीमगर लगायतले बोल्नुभएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology