देवदह । मगर समुदायको पहिचान, भाषा, संस्कृति र अधिकारका सवाल उठाउँदै देवदहमा ४४ औं मगर स्थापना दिवस मनाइने भएको छ । नेपाल मगर संघ देवदह नगर समितिले बुधवार पत्रकार भेटघाट गर्दै फागुन १५ गते विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको जनाएको हो ।
मगर दिवसको मूल समारोह देवदह-५ पानवारीमा हुने मगर संघले जनाएको छ । कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने तथा लोकसेवा आयोगमा नाम निकाल्न सफल मगर समुदायका व्यक्तित्वलाई सम्मान, गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण गर्ने अध्यक्ष किसन बहादुर थापाले जानकारी दिए ।
सो अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति र मगर संस्कृतिमा आधारित कौडा, घाटु, सोरठी, सालैजो र झ्याउरे नृत्य प्रस्तुत गरिने कार्यक्रम रहेको जनाइएको छ ।
वि.सं. २०३९ फागुन १५ गते तनहुँको दमौलीमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको स्मरणमा हरेक वर्ष मगर दिवस मनाउँदै आइएको संघले जनाएको छ । यस वर्षको दिवसलाई समुदायको मौलिक पर्वका रूपमा मनाउनुका साथै पहिचान र समावेशीताका विषयमा बहस गर्ने वैचारिक थलोका रूपमा विकास गरिएको उल्लेख गरिएको छ ।
संघले मगर समुदायको पहिचान संरक्षण, लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउन, विद्यालय तहमा मगर भाषामा शिक्षाको व्यवस्था गर्न, राज्यका सबै संरचनामा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागू गर्न, लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा फागुन १५ गते राष्ट्रिय सार्वजनिक बिदा दिन माग गरेको छ ।
साथै आसन्न निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूले पहिचान र समावेशीताका मुद्दालाई प्राथमिकतामा नराखेको भन्दै ध्यानाकर्षणसमेत गराइएको छ ।
२०७८ को जनगणना अनुसार देवदह नगरमा करिब २४.१ प्रतिशत मगर समुदायको बसोबास रहेको जनाउँदै दिवसका अवसरमा स्थानीय रूपमा सार्वजनिक बिदा दिन मगर संघले अनुरोध गरेको छ ।
सो अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति र मगर संस्कृतिमा आधारित कौडा, घाटु, सोरठी, सालैजो र झ्याउरे नृत्य प्रस्तुत गरिने कार्यक्रम रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology