Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रादेशिक अस्पताल : विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाईँ

लुम्बिनी प्रादेशिक अस्पताल : विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाईँ

images
  • लुम्बिनी प्रादेशिक अस्पताल : विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाईँ
    images
    images

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको आजदेखि ११५ औँ वर्षमा प्रवेश गरेको छ ।  बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो अस्पतालमध्येमा पर्छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा महेन्द्र र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित यो अस्पतालले लुम्बिनी प्रदेशका सबै जिल्ला, साथै गण्डकी प्रदेशको स्याङ्जा र पर्वत जिल्लाका केही भागका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । करिब ४० लाख जनसंख्यालाई अस्पतालबाट सेवा दिँदै आएको तथ्यांकमा उल्लेख छ । 

    images
    images
    images

    लुम्बिनी प्रादेशिक अस्पतालमा बि. सं.१९६७ सालमा दुई जना बंगाली चिकित्सकहरुबाट आधुनिक उपचार शुरु गरिएको मानिन्छ । बि. सं. २०११ सालमा इसाई मिसनरीको पहलमा पाल्पाको मिशन अस्पताल स्थापना भयो, जहाँ उपचार, शल्यक्रिया लगायत आधुनिक चिकित्साको विकास भएको थियो । तालिम प्राप्त अहेब, सिअहेब, हेअ र नर्सहरुले पनि लुम्बिनीका विभिन्न स्थानमा व्यवसाय बिस्तार गरेका थिए । बि. सं. २०११ आश्विन ११ गते बुटवलका उत्साही युवाहरुले परोपकार नामका संस्था स्थापना गरेका थिए । चन्द्रमान थैव, हरि बहादुर श्रेष्ठ, चन्द्रमान शाक्य, हेम नारायण श्रेष्ठ, महेश्वर गोपाल लाकौल, संघरत्न बज्राचार्य, चन्द्रध्वज श्रेष्ठले परोपकारमार्फत औषधी उपचार शुरु गरे । जहाँ कम्पाउण्डरका रुपमा विष्णु देव श्रेष्ठ र गणेश सुवालले सेवा गरे । यसैको सेरोफेरोमा पारी बुटवलको फुलबारीमा रहेको यो अस्पताल भिम सम्शेरले हालको स्थानमा स्तरवृद्धि गर्ने गरि सारेका ईतिहास छ । 

    images
    images
    images

    तत्कालिन प्रधानमन्त्री विपि कोईराला हुँदा राज परिषदको उपसभापति सुर्य बहादुर थापाले बि. सं. २०१५ सालमा फागुन १५ गते हालको अस्पताल शिलन्यास गरेको इतिहास छ । सोही मितिलाई आधार मानेर पछि बि. सं. २०६२ फागुन १५ बाट स्थापना दिवस मनाउन लागिएको हो । 

    images
    images
    images

    लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय स्वरुप फेरेको छ । अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार हुँदा सेवाप्रवाह प्रभावकारी बन्दै गएको अस्पतालका आकस्मिक विभाग प्रमुख रामप्रसाद अर्याल बताउँछन । अस्पतालको आकस्मिक कक्ष मात्रै होइन, बहिरंग, अप्रेशन कक्ष, ल्याव, प्रशासन लगायत सबै क्षेत्रको अहिले रुप फेरिंदै गएको छ ।

    यो सेकेण्डरी बी लेभलको सरकारी अस्पताल हो । हाल अस्पतालबाट क्याथल्याब सेवासहित मृगौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टिकृत सेवा संचालनमा छन् । अस्पतालमा १२७ जना चिकित्सक (विशेषज्ञ र मेडिकल अधिकृत), २९४ नर्सिङ कर्मचारी, १५७ पारामेडिक्स कर्मचारी, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगी र सरसफाइकर्मी, २६ जना सुरक्षागार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन् ।

    विपन्नदेखि सम्भ्रान्त वर्गको रोजाईं

    स्वास्थ्य सेवालाई विशिष्टिकृत गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पताल गरिव तथा विपन्न परिवारको सहारादेखि सम्भ्रान्त वर्गको रोजाइमा समेत पर्ने गरेको छ । पहिले ग्रामीण क्षेत्रबाट अत्यधिक चाप हुने गरेको यो अस्पतालमा बुटवल लगायत आसपासका सहरी क्षेत्रबाट समेत ठूलो संख्यामा मानिसहरु उपचारका लागि आउने गरेको पाइएको छ । सरकारी अस्पतालप्रति विश्वास बढ्दै गएको र यहाँको सेवामा पनि सुधार हुँदै गएकाले सम्भ्रान्त वर्गले समेत उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई रोज्ने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल बताउँछन् । “अब यो अस्पताल गरिबहरुको उपचार गर्ने अस्पताल मात्रै रहेन, सबै खाले मानिसको उपचार गर्ने अस्पतालको रुपमा परिचय बनाइसक्यो”–उनले भने ।

    अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ एउटै छानामुनि सबै सेवा पाउँदा सबैखाले सेवाग्राहीमा आकर्षण बढेको बताउँछन् । “निजी अस्पताल कुनै रोग विशेषलाई केन्द्रित गरेर खोलिएको हुन्छ, तर यहाँ सबै सेवा उपलव्ध हुँदा आम मान्छेको आकर्षण बढेको हो”–उनी भन्छन् ।

    ‘सामाजिक सेवा इकाई’ विपन्नको सहारा

    अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सेवा इकाई कार्यक्रमले सेवाग्राहीलाई ठूलो राहत दिएको छ । सिधा अर्थमा भन्दा ‘सामाजिक स्वास्थ्य इकाई’ गरिव तथा विपन्न परिवारको साथ र भरोसा बनेको छ भन्दा हुन्छ । आर्थिक रुपले विपन्न, वृद्ध–वृद्धा, सामाजिक रुपमा पिछडिएका तथा लक्षित वर्गले उपचार सेवामा सहुलियत प्राप्त गर्ने भएपछि सेवाग्राहीको चासो र चाप बढ्दै गएको छ । आंशिक तथा पूर्ण निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेभएपछि सेवाग्राहीको आकर्षण र विश्वास बढ्दै गएको हो । 

    सामाजिक इकाई मार्फत अस्पताल बिकास समितिले आफ्नो आन्तरिक श्रोतबाट पछिल्लो आर्थिक वर्ष २०८०÷८१ मा साढे २ करोड रकम बराबरको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराएको छ । यसैगरी चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा मात्रै ६१ लाख बढी रकमको सेवा उपलब्ध गराएको छ । 

    अस्पतालमा सामाजिक स्वास्थ्य इकाई मार्फत चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ हजार ४६ जनालाई सेवा उपलब्ध गराइएको इकाईका प्रमुख नेत्रप्रसाद आचार्यको भनाइ छ । जसमध्ये लक्षित समुह अन्तर्गत गरिव परिवारका ६५९ जना, जेष्ठ नागरिक १ हजार २७३ जना, असहाय २५ जना, अपाङ्गता भएका व्यक्ति ६२ जना, कुपोषित बालबालिका ७, महिला स्वास्थ्य स्वयंसेविका ३, थुनुवा १४ र प्राकृतिक प्रकोप प्रभावित २ जना रहेका छन् । अस्पतालमा जाँचपड्ताल तथा अप्रेशन, औषधी उपचार खर्च तथा आईसियु सेवाका लागि कुल ६१ लाख ७८ हजार ४९६ रुपैयाँ रकम बराबरको स्वास्थ्य सेवा पहिलो चौमासिकमा उपलब्ध गराइएको सामाजिक सेवा इकाईको तथ्याङ्कमा उल्लेख छ । 

    अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिव तथा लक्षित वर्गहरुलाई सामाजिक इकाईबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन् । तर यसरी सेवा दिने क्रममा कतिपय जनप्रतिनिधिले विपन्नको नाममा पहुँचको आधारमा सम्पन्न व्यक्तिकै सिफारिश गर्दा चुनौती देखिएको श्रेष्ठको भनाइ छ । अस्पतालले विपन्नहरुको उपचार मात्र होइन बेसहाराहरुको व्यवस्थापनका लागि समेत काम गर्दै आएको छ । बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी बेवारिसे अवस्थामा रहेका नागरिकलाई औषधी उपचारपछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ । उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक इकाईका प्रमुख आचार्य बताउँछन् । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यको भनाइ छ । 

    अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकलाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाइ पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । इकाई मार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगायतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम रहेको छ ।

    अस्पतालले लक्षित समूहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपे्रशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा इकाईले २४ घन्टा नै सेवा दिदै आएको छ । 
    यसैगरी अघिल्लो आर्थिक वर्षको अवधिमा २ करोड ४३ लाख ८५ हजार ३०८ रुपैयाँ बराबरको सेवा उपलब्ध गराइएको स्वास्थ्य सेवा ईकाइको तथ्याङ्कमा छ । जसमध्ये जाँचपड्ताल तथा अप्रेशन सेवाका लागि १ करोड २१ लाख ३५ हजार ३० रुपैयाँ, औषधी खर्चका लागि १ करोड २ लाख ८४ हजार ५५८ रुपैयाँ तथा आईसियू सेवातर्फ १९ लाख ६५ हजार ७१९ रुपैयाँ खर्च भएको छ । अस्पतालमा ७ हजार ९७ जना लक्षित समुदायका बिरामीलाई सो अवधिमा सामाजिक सेवा ईकाइबाट उपचार सेवा उपलब्ध गराइएको छ । 

    अस्पतालमा आर्थिक वर्ष २०७९÷८० मा ३ करोड १७ लाख ३६९ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । उक्त अवधिमा ७ हजार ६९७ जनाले सेवा लिएका छन् । यसैगरी आर्थिक वर्ष २०७८÷७९ मा ६ हजार ९८० जनाले सामाजिक सेवा इकाईबाट लाभान्बित भएका छन् । 

    यस्तै दम र ब्रोङकाइटिस रोगका लागि लुम्बिनी प्रदेश सकारले उपलब्ध गराउँदै आएको ५० हजार अनुदान कार्यक्रमबाट ९ जनालाई २ लाख २५ हजार ८८४ रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रममा समेत अस्पताल विकास समितिले खर्च व्यवस्थापन गर्नुपरेको छ । यसैगरी सिकलशेल एनिमियाका बिरामीहरुका लागि ४ लाख ८३ हजार ६१२ रुपैयाँ बराबरको औषधी उपचार खर्च उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । हाल अस्पतालमा ७४ जना सिकलसेलका बिरामीहरुले नियमित चेकजाँच तथा उपचार सेवा लिइरहेका छन् ।

    बिरामी कुरुवालाई खाना नास्ता 

    उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको छ । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालमा गरिव विरामीको कुरुवालाई खाना तथा खाजा खर्च बापत ५९ हजार ३ सय खर्च भएको छ । जसमा ५३ जनालाई खाना र ८ जनालाई खाजा उपलब्ध गराइएको थियो ।  

    बढ्दै प्रसुती सेवा लिनेको संख्या

    लुम्बिनी प्रदेश तथा छिमेकी प्रदेश समेत गरी विभिन्न १६ जिल्लाबाट स्वास्थ्य सेवाका लागि आउने यस अस्पतालमा प्रसुती सेवा लिनेको सङ्ख्या समेत हरेक वर्ष वृद्धि हुँदै गएको तथ्याङ्कले देखाउँछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार गतवर्ष १२ हजार ९५ जना महिलाले प्रसूति सेवा लिएका छन् । प्रसूति सेवा दिने पनि यो अस्पताल प्रदेशकै सबैभन्दा ठूलो अस्पताल हो ।

    गत आर्थिक वर्षमा ७ हजार ५४८ जनाको सामान्य प्रसूति हुँदा ४ हजार ५४७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको छ । त्यस्तै ९ हजार ७६५ जना विभिन्न समस्याका बिरामीको शल्यक्रियामार्फत उपचार गरिएको डा. ढकालले जानकारी दिए ।

    बन्दैछ अत्याधुनिक भवन 

    अस्पतालको भवन निर्माणको काम अहिले धमाधम भइरहेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत ६ अर्ब १८ करोड ७५ लाख रूपैयाँको लागतमा भवन निर्माण काम सुरू गरिएको हो । लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको आयोजना अन्तर्गत अगाडि बढाइरहेको भवनको शिलान्यास गत भदौ १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।

    जीर्ण भएको भवन भत्काएर अत्याधुनिक सेवासुविधा सहित नयाँ बनाउन लागिएको हो।यसअघि यहाँ संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैले पनि करोडौं लगानी गरी अरू भवन निर्माण गरिसकेका छन् । पछिल्लो पाँच वर्षयता मात्रै संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोड रूपैयाँ लागतमा भौतिक संरचना बनेका छन्। 

    लुम्बिनी प्रादेशिक अस्पताल 2.jpg

    त्यस्तै अस्पताल विकास समितिले इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पतालभित्रको सडक र पर्खाल निर्माण लगायतमा ३५ करोड रूपैयाँभन्दा बढी लगानी गरेको छ।निर्माण पूरा भएपछि यो प्रदेशकै अब्बल अस्पताल हुनेछ ।

    यसअघि लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलले २०७६ सालमा सरकारको ‘ड्रिम प्रोजेक्ट’को रूपमा अस्पताल भवन बनाउने प्रक्रिया अगाडि बढाएका थिए । प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग २०८० पुस २६ गते भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

    ठेक्का सम्झौता गरेको आठ महिनापछि भवन निर्माणको शिलान्यास गरिएको थियो । शिलान्यास गरिएको पाँच महिना अवधिमा १३ प्रतिशत काम पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका साइड इन्चार्ज शंकर सुवेदीले पुरानो भवन भत्काएर स्थान सम्याउन नै ठेक्का सम्झौतापछिको सातरआठ महिना लागे पनि अहिले भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए ।

    ‘पुरानो भवनमा अस्पताल सञ्चालन भइरहेकाले त्यहाँका बेड र उपकरणहरू अन्यत्र स्थानान्तरण गरेर भवन भत्काउन केही समय लाग्यो । अहिले कामको प्रगति कार्यतालिका अनुसार नै भइरहेको छ ।’ सुवेदीले भने।

    १२ तले बन्ने यो भवन २०८५ पुस मसान्तसम्म बनिसक्नुपर्ने सम्झौता छ । काम पूरा गर्न चिसो मौसममा समेत बिहान सात बजेदेखि राती १० बजेसम्म काम गरिरहेको सुवेदीले बताए। चिसो घटेपछि चौबीसै घण्टा काम गर्ने योजना रहेको उनको भनाइ छ ।

    अहिले दैनिक २१० जना कामदार काममा खटिएका छन् । निर्माणाधीन भवनको प्राविधिक जिम्मेवारी लिएको काठमाडौं युनिभर्सिटी अन्तर्गतको युनिकन्सर्न कन्सल्टेन्सीमार्फत २० जना प्राविधिकले कामको अनुगमन गरिरहेका छन् ।

    अहिलेलाई यो भवन पाँच हजार आठ सय वर्गमिटर हाराहारी क्षेत्रफलमा बन्नेछ । हाल जमिनमुनि ७८५ वटा पाइलिङ (जमिनमा मेसिनले प्वाल पारेर पिलर गाड्ने काम) सकेर बेस को काम भइरहेको छ । मुख्य भवनमा डबल बेसमेन्ट (जमिनको सतहभन्दा दुई तलामुनि) हुनेछ । दुवैमा गाडी पार्किङ क्षेत्र हुनेछ ।

    लुम्बिनी प्रादेशिक अस्पताल .jpg

    अहिले काम भइरहेको भाग सबभन्दा तल्लो बेसमेन्ट हो । यसका लागि छड बुन्ने, बिच्छ्याउने, पिलर उठाउने र भुइँ ढलान गर्ने काममा भैरहेको छ ।

    यो भवनको सबभन्दा माथि हेलिप्याड हुनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सी आउजाउ गर्न मिल्ने लिफ्ट बन्नेछ। बेसमेन्टको कामसँगै लिफ्टका लागि पिलर उठाउने काम पनि भइरहेको छ ।

    नयाँ भवन बनेपछि ओपिडी, इमर्जेन्सी सेवा यहीँबाट प्रदान हुनेछ । त्यस्तै ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने अस्पतालले जनाएको छ ।

    हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा भवनका सेवा नयाँ भवनमा सारिनेछ । पुराना भवन डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ ।

    त्यस्तै अहिले बनिरहेको भवनको दक्षिणतर्फ क्यान्सर उपचारका लागि छुट्टै भवन निर्माण हुनेछ । त्यसको पनि जग खन्ने काम भइरहेको साइड इन्चार्ज सुवेदीले जानकारी दिए । यो भवन पाँचतले र सिंगल बेसमेन्टको हुनेछ ।

    भवन निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ८० करोड रूपैयाँ बजेट बिनियोजन गरेको थियो । यसमध्ये निर्माण कम्पनीलाई पेस्कीसहित डेढ अर्ब रूपैयाँ जति भुक्तानी भइसकेको छ । भौतिक प्रगति १३ प्रतिशत भइसक्दा रकम भुक्तानी ६ प्रतिशत हाराहारी भएको सुवेदीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।