बुटवल । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको हो । जितको लागि २ सय ५० रनको लक्ष्य पच्छाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो ।
एक समय १६ रन बनाउँदा २ विकेट गुमाएको लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन, ओपनर मृनालले ३० रन तथा कप्तान देव खनालले ११ रन बनाएपनि अन्य सात खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङमा सागर ढकालको प्रदर्शन सानदार रहयो। १० ओभर बलिङ गर्दै २ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट झारे ।
यसअघि एक्स्ट्रा टेक ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । ओपनर अर्जुन साउद ९ रनमा आउट भए । यसपछि कुशल भुर्तेल र अमित श्रेष्ठले तेस्रो विकेटको लागि ८२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । अमित २२ रनमा आउट भए । कुशलले अर्धशतक प्रहार गरे । ७५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा उनले ५९ रन बनाए ।
यसपछि कप्तान दीपेन्द्र सिंह ऐरी मात्र ६ रनमा आउट भए । यतिखेर पुलिसले ४ विकेट गुमाउँदा १ सय २० रन बनाएको थियो । त्यस लगत्तै आरिफ शेख र दीलिप नाथले ७८ रनको साझेदारी गरे । दीलिप ३४ रनमा आउट भए । आरिफले ५६ रन बनाउँदा गुल्सन झा अविजित ३६ रनमा रहे । बलिङमा लुम्बिनीका अजय चौहानले १० ओभरमा १ मेडन सहित ३८ रन मात्र खर्चेर ३ विकेट लिए । कृष्ण कार्कीले पनि ३ विकेट नै झारेपनि त्यो जितको लागि प्रयाप्त बनेन ।
पहिलो खेलमा जित सहित पुलिसले २ अंक बनाएको छ । दोस्रो खेल खेलेको लुम्बिनीको यो पहिलो हार हो । लुम्बीनीले आइतवार पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology