काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा नरहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो भन्ने भ्रममा आफू नरहेको बताए। 'कम्तीमा म अर्थमन्त्री रहुञ्जेल यस्तो भ्रम पालिने छैन' उनले भने ।
उनले विधेयकले योजना आयोग र महालेखा परीक्षकको कार्यालयको अधिकार कटौती गर्न खोजेको भन्ने आरोप अस्वीकार गर्दै भने, "न महालेखाको अधिकार संकुचित गरिएको छ, नत योजना आयोगको अधिकार। बजेट निर्माणको नेतृत्व स्वाभाविक रूपमा अर्थ मन्त्रालयले लिन्छ।"
उनका अनुसार अर्थ मन्त्रालय स्रोत व्यवस्थापनदेखि बजेट कार्यान्वयनसम्म जोडिएको छ। "अर्थ मन्त्रालयको मुख्य जिम्मेवारी अन्तरमन्त्रालय समन्वय गर्नु हो। यही जिम्मेवारीअनुसार मन्त्रालय अगाडि बढ्छ," उनले भने।
योजना आयोगको भूमिका कटौती नभई थप स्पष्ट पारिएको उनको दाबी छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology