काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताएका छन् । शनिवार नेकपा( एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाए ।
राजावादीहरुले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरिएको छ । आक्रमणकारीहरुले शुक्रवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए । सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग टाढाटाढाको पनि साइनो नरहेको जिकिर गरे ।
शुक्रवारको आन्दोलन प्रदर्शन भन्दा बढी अपराधिक घटना भएको गृहमन्त्री खरेलले बताए । आततायी र अमानवीय ढंगले घटना गराइएको भन्दै उनले आन्दोलनकारीले मानिसहरु घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको र नागरिकको सुरक्षार्थ प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको निधन भएको बताए । निधन हुनेहरुप्रति दुःख व्यक्त गर्दै उनले घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
गृहमन्त्री लेखकले शुक्रवार राजावादीहरुले सञ्चारगृह, छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी तथा सरकारी सम्पत्ति ध्वस्त गर्ने, सपिङ कम्प्लेक्सहरुमा आक्रमण गरेको बताए । उनीहरुमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने गृहमन्त्रीको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology