काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् । शुक्रवार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै लेखकले संविधानले दिएको स्वतन्त्राको हकभित्र रहेर शान्तिपूर्वक गतिविधि गर्न पाइने छुट सबैलाई रहेको बताए ।
गृहमन्त्री लेखकले सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनमार्फत हराउन सकिने बताए । उनले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गनिविधि गर्नुपर्नेमा सचेत गराए । जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने उनको भनाई छ । विध्वंसात्मक गतिविधिहरुलाई नियन्त्रण गर्नु र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सरकार तथा सबैको जिम्मेवारी भएको गृहमन्त्री लेखकले बताए ।
‘सरकार बदल्न पाइन्छ । पाँच पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइन्छ र हराउन पाइन्छ । लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइदैन भत्काउन पाइँदैन फाल्न पाइँदैन ।’ उनले भने, ‘शान्तिपूर्वक भेला हुने, प्रदर्शन गर्ने, ध्यानाकर्षण गराउने, विरोध गर्ने, आलोचना गर्ने सबैकुरा लोकतन्त्रमा हुन्छ । तर विध्वंसात्मक कार्य गर्ने हत्याहिंसालाई प्रश्रय दिने, जोरजबरजस्ती गर्ने र त्यसकामार्फत संविधान फाल्छु र देशलाई अस्थिरतातफै लैजान्छु भन्न पाइँदैन ।’
गृहमन्त्री लेखकले सेवाग्राहीलाई सम्बन्धित निकायले सेवा दिँदा समस्या खडा गर्न नहुनेतर्फ सचेत गराए । उनले सेवाग्राहीको आवश्यक कागजात भएको नभएको शुरुमै जाँच प्रक्रिया गरेर सेवा दिनुपर्ने उल्लेख गरे । कर्मचारीले सेवा प्रदान गर्दा झन्झट नमानी असल व्यवहार गर्दा सेवाग्राहीको आधा समस्या समाधान हुने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology